संस्थानका महाप्रबन्धकको राजीनामा माग

Saskritik-Sasthanकाठमाडौं, २५ चैत । विगत १० महिनादेखि आफ्ना माग सुनुवाइ नभएको भन्दै सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का कर्मचारी कामकाज नै ठप्प पारेर यही चैत २२ गतेदेखि आन्दोलनमा छन् ।

हाल २७ दरबन्दी रहे पनि २०६३ सालदेखि पदपूर्ति समितिले स्थायीका लागि काम नगरेको, सार्क शिखर सम्मेलनको खर्च विवरण सार्वजनिक नगरेको, कर्मचारीको नक्कली प्रमाणपत्रको छानबिन समितिमा नै विवादास्पद कर्मचारीलाई संयोजकका रूपमा राखिएको जस्ता कारणले कर्मचारी आन्दोलित भएका हुन् ।

आन्दोलित कर्मचारी विपिन घिमिरेले भने, ‘हाम्रो माग पूरा नभएकाले अब संस्थानका महाप्रबन्धक शालिकराम तिमिल्सिनाको राजीनामाको माग उठाएका छौँ ।’

नाचघरमा सञ्चालित सपिङ कम्प्लेक्सबाट वार्षिक रूपमा उठाइने भाडासमेत व्यवस्थापनले उठाउन नसकेको भन्दै उनले पदोन्नति मिचेर नियुक्ति दिनेजस्ता प्रवृत्तिका कारण आफूहरू आन्दोलित हुनु परेको बताए ।

‘हामीले सम्बन्धित निकाय, मन्त्रालयमा समेत आफ्ना माग राखी ध्यानाकर्षण गराइसकेको भए पनि मन्त्रालयले कुनै ठोस कदम नचालेकाले कामकाज बन्द गरेका हौँ’, उनले भने ।

महाप्रबन्धक तिमिल्सिनाले कर्मचारीको मागप्रति आफू सकारात्मक रहेको र माग पूरा गर्न व्यवस्थापन समिति प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

सपिङ कम्प्लेक्सबाट वार्षिक एक करोड आठ लाख भाडाका रूपमा उठाइनुपर्ने भए पनि सो रकम उठ्न सकेको छैन । संस्थानमा हाल ७० कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया