गच्छदार हाबी भएपछि अरू हेरेको–हेर्‍यै

Vijaya-Gachhedar
काठमाडौं, २५ चैत । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार हाबी देखिएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आमहडताल फिर्ता लिन गरेको प्रस्तावमा गच्छदारले सहमति जनाएपछि मोर्चाका अरू घटक हेरेको–हेर्यै भए । मंगलबार साँझ बसेको मोर्चाको बैठकले यी २ दलबाहेकको असन्तुष्टिका बीच पनि आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिने निर्णय गरेको थियो ।

बैठकमा सहभागी एक नेताले आमहडताल फिर्ताको निर्णयमा एमाओवादी र फोरम लोकतान्त्रिकबाहेकका दलले असन्तुष्टि जनाएको बताए । ‘प्रचण्डजीले आमहडताल फिर्ताको प्रस्ताव गर्नुभो, गच्छदारजीले समर्थन गर्नुभो,’ ती नेताले भने, ‘हामीले विरोध जनायौं ।’

एकाएक आमहडताल फिर्ता लिनुमा के छ रहस्य भन्ने प्रश्नमा उनले भने, ‘त्यो उनीहरू नै जानून् ।’ मोर्चाले चैत २४ गतेदेखि ३ दिने आमहडताल आह्वान गरेकोमा पहिलो दिनमै पछि हटेर फिर्ताको निर्णय गरेको थियो । फिर्ताको प्रस्तावमा गच्छदारले असहमति जनाइदिएको भए दाहाल पनि निरीह बन्नुपर्ने अवस्था हुन्थ्यो ।

‘परिस्थितिले गर्दा गच्छदारजीलाई हाबी भएजस्तो गराइदिएको हो,’ खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सभासद् रामकुमार राई (आरके खम्बू)ले भने, ‘आमहडताल फिर्ताको निर्णय विरोधाभाषपूर्ण रूपमै भयो । यसलाई स्वीकार गरिसकिएको छ । हाम्रो लाइन आमहडताल फिर्ता लिनुहुन्न भन्ने थियो बरु ३० गतेसम्म नै लम्ब्याउनुपर्छ भन्ने थियो ।’

दाहाल र गच्छदारले संविधानसभा बैठक चैत ३० गते बोलाइएकाले त्यस अवधिसम्मका लागि पर्खिने गरी आमहडताल फिर्ता लिर्नुपर्ने बताएका थिए । सत्तापक्ष संविधानसभा कसरी प्रस्तुत हुन्छ त्यसमा मोर्चाको आन्दोलनको स्वरूप निर्धारण भर पर्ने सभासद् राईले बताए । ‘सत्तापक्ष संविधान निर्माणका लागि बहुमतीय प्रक्रियामा गइनसकेको हुनाले ३० गतेसम्म हेर्छौं,’ उनले भने, ‘त्यसअनुसार हामी अघि बढ्छौं ।’

अब मोर्चाको बैठक २७ गते बस्दै छ ।

आमहडताल फिर्ताको निर्णय ‘आश्चर्यजनक’
मोर्चामा आबद्ध संघीय लिम्बुवान पार्टी नेपालले आमहडताल फिर्ताको निर्णयलाई आश्चर्यजनक भन्दै ‘प्राविधिक असामञ्जस्यता’ नआओस् भनी लिम्बुवान क्षेत्रमा बन्द स्थगित गरेको जनाएको छ । ‘३० दलीय गठबन्धनले फागुन १६ गते खुला मञ्चमा लाखौं जनताको उपस्थितिमा सम्पन्न गरेको ऐतिहासिक आमसभाको हप्ता दिनभित्र सडक आन्दोलन घोषणा गरिनुपर्दथ्यो तर वार्ता र यस्तै–उस्तै कारण देखाएर उक्त आमसभाको १ महिना ७ दिनपछि चैत २३ रु गतेदेखि ३ दिने आमहडताल आब्हान गरियो,’ अध्यक्ष कुमार लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनका संयोजकको विशेष पहलमा अप्रत्याशित रुपमा बन्द फिर्ता गरिएको उनले उल्लेख गरेका छन् । ‘पहिचान र अधिकारका लागि भनेर निर्णायक रूपमा उठेको आन्दोलनलाइ अकस्मात फिर्ता लिइनुले विभिन्न प्रश्न जन्माएको छ ्र’ विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तनकारी शक्ति भनेर चिनिएको पक्ष पनि कांगेस–एमालेसँगै पहिचानविरोधी धारमा उभिने रिहर्सल हो कि वा जसरीअहिलेको संघीय जनआन्दोलनले यहाँका आदिवासी मधेसी दलित, महिला उत्पीडित समुदायलार्इ संवैधानिक रुपमा सशक्तिकरण गर्न खोजिरहेको छ त्यो अवस्थाचाहिँ यहाँका यथाथिस्तिवादी क्रान्तिकारी कसैलाई पनि सही नसक्नु हुने हो कि भन्ने जिज्ञासा उठेको छ ।’

प्रतिक्रिया