कति थिए प्रदर्शनकारी ? छ माओवादीको प्रदर्शनमा

Maobadi-6-otaकाठमाडौं, २३ चैत । प्रमुख विपक्षी दल एकीकृत माओवादीसहित छ माओवादी पार्टीले काठमाडौंमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौंको बबरमहलबाट सोमबार दिउँसो सुरू भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । बबरमहलदेखि रत्नपार्कसम्म एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यलगायतका शीर्ष नेताहरूले विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

माओवादीका शीर्ष नेताहरूले नेतृत्व गरेको विरोध प्रदर्शनमा हज्जारौं कार्यकर्ता उपस्थित हुनपर्नेमा अत्यन्तै न्यून उपस्थिति रहेको भन्दै एक प्रदर्शनकारीले असन्तुष्टि जनाए ।

‘छ वटा माओवादीले गरेको प्रदर्शनमा यति थोरै सहभागी हुन्छन् भनेर मैले सोँचेको थिइन’, उनले भने, ‘कार्यकर्ताको उपस्थिति लाजै लाग्ने भयो । छ सय पनि छैनन् ।’

नाम उल्लेख नगर्ने सर्तमा एकीकृत माओवादीका एक जना पदाधिकारीले भने, ‘छ वटा माओवादीको विरोध प्रदर्शनमा छ सयको उपस्थिति पनि देखिएन ।’

उनले विरोध प्रदर्शनमा आएका सबै एकीकृत माओवादीका समर्थक मात्रै रहेको दावी गरे । ‘प्रदर्शनमा सहभागी भएका एकीकृत माओवादीका कार्यकर्ता मात्रै हुन्’, उनले भने, ‘अरु माओवादीले त पचास जना कार्यकर्ता पनि ल्याउन सकेनन् ।’

छ वटा माओवादीको प्रदर्शनमा हज्जारौँ कार्यकर्ता हुन्छन् भन्ने अनुमान धेरैको थियो । तर अनुमान गलत सावित भयो, जव विरोध प्रदर्शन सुरू भयो ।

एमाओवादीकै अध्यक्ष दाहालले नेतृत्व गरेको विरोध प्रदर्शनको हविगतले शुभेच्छुकहरू चिन्तित देखिएको एक सहभागीले बताए ।

बिरोध प्रदर्शन एकीकृत माओवादी, नेकपा–माओवादी, नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा माओवादी र नेकपा (एकीकृत)ले संयुक्त रुपमा सर्वोच्च अदालतको फैसाविरुद्ध गरेका थिए ।

6-Maobadi-nepali

प्रतिक्रिया