यो अलमल गर्ने बेला होइन : राष्ट्रपति

Ram-Baran-Yadav-

वीरगन्ज, १९ चैत । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरूबीचको सहमतिमा देशमा चाँडै नयाँ संविधान जारी होस् भन्ने कामना गरेका छन् ।

भगवान् महावीरको २६१४औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले भने, ‘दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र शान्ति, प्रगति र समृद्धिको मार्गमा अग्रसर होस् भन्ने नेपाली जनताका तर्फबाट कामना गर्न चाहन्छु ।’

उनले नेपाली जनताको चाहना मुलुकमा शान्ति, स्थायित्व र विकास भएको उल्लेख गर्दै परिवर्तनका संवाहकका रूपमा रहेका दलहरुले यसलाई उच्च सम्मान गरी अघि बढ्नुपर्ने बताए । ‘ अहिले अलमल गर्ने बेला होइन,  नेपालीको त्यो चाहनालाई पूरा गर्न दलहरुले न्यूनतम साझा बिन्दु खोजेर एकता र सहमतिका आधारमा मुलुकमा छिटोभन्दा छिटो संविधान बनाऊन्,’ उनले भने, ‘हामी कोही मधेसी छैनौं, पहाडी र हिमाली पनि छैनौं, पहिला हामी सबै नेपाली हौं, यो सन्देशलाई हामी सबैले बुझ्नुपर्छ ।’ उनले जाति, क्षेत्र र पार्टीभन्दा माथि उठेर राष्ट्र र नेपाली जनताको विकास र समृद्धिको बाटामा लाग्न सबैमा आग्रह गरे ।

प्रतिक्रिया