मैले भोगेको महाभूकम्प

Chamina-Bhattaraiगत शनिबार बिहानको खान खाएर हास्यकलाकार वसुन्धरा भूषालको अन्तर्वार्ता लिन उनको निवासमा गएकी थिएँ । बिहान फोनमा म आउँछु भन्दा उनले भनिन्, ‘होइन नानी तपाईंको अफिस पनि यतै रहेछ दिउँसो खाजा खानेगरी आउनु न ।’) मैले म साढे एघार बजेसम्म आउँछु भनेकी थिएँ । तर, पुगेँ एघार बजे नै । उनको आग्रह नमानेर पहिला कुरा गरौँ अनि खाउँला चिया भन्दै अन्तर्वार्ता सुरु गरँ । करिब ३५ मिनटको उनको आवाज रेकर्डपछि अनौपचारिक गफ गर्दै चिया खान थाल्यौँ । नेपालको पत्रकारिता र कलाकारले भागेका पीडा अनि आफ्नो अनुभव सुनाइन उनले । दुवै जना एउटै सोफामा बसेर हामी आ–आफ्ना भोगाइ र अनुभव सुनाउँदै थियौँ ।
मेरा अगाडि चियाको कप आयो दुई सुर्पो चिया खाएर कप टेबलमा राखेकी मात्र थिएँ, बसेको सोफा बिस्तारै हल्लियो । उनलार्ई लागेछ मैले सुट्टा हल्लाएँ, मलार्ई लाग्यो उनले खुट्टा हल्लाईन् । घर हल्लने क्रम बढेपछि मैले भनेँ, ‘दिदी भूकम्प आयो, एक्कासि उनी कराइन्– लौन बहिनी मरिने भइयो । यत्ति भन्न नभ्याउँदै हामी दुवै उनको बैठक कोठाको ढोकामा पुगिसकेको थियौँ । घर मच्चिने क्रम बढ्दै थियो, हामी एकले अर्कोलार्ई जोडले अँगालोमा कसेका थियौँ । बेलाबेला वसुन्धरा दिदी कराउँदै थिइन्– लौन बूढा कता गएहोलान्, हे भगवान् ! कहिले रोकिन्छ । फेरि घरको सहयोगीलार्ई आफूतिर बोलाउँदै थिइन् । बैठक कोठाका सामान सबै भुइँमा छरफस्ट भएका थिए । गमलाहरू माथिबाट गुड्किदै थियो । म कहिले भित्ता त कहिले माथि हेर्दै थिएँ ।
बाहिरको कोलाहाल सुन्दा मैले बाँच्ने आस मारी सकेकी थिएँ । मुखबाट एक शब्द निस्केको थिएन । आफन्त र साथीलार्ई सम्झँदै थिएँ । त्यो करिब एक मिनटको समय धेरै लामो लाग्यो– लौ मैले कसैको अन्तर्वार्ता लिनु यही अन्तिम रहेछ, यी दिदीसँगै मर्ने भएँ । धेरै कुरा सोच्न लामो समय लाग्दो रहेनछ भन्ने त्यति बेला लाग्यो मलार्ई । म बाहिर कसरी निस्कन सकिन्छ भन्ने मौकाको प्रतीक्षामा थिएँ । भूकम्प केही मत्थर भयो भन्ने लाग्नेबित्तिकै छेउमै रहेको मोबाइल, झोला र जुत्ता टिपेर भागौँ दिदी भन्दै तल झरेँ । केको गेट खोल्नु उनको भत्किएको पर्खाल नाघ्दै रोडमा आएँ । भूकम्पको कम्पन पूर्णरूपमा अन्त्य भएको थिएन दौडदै नागपोखरी पुगेँ । जहाँ हजारौँ मान्छेको भिड जम्मा भइसकेको थियो । कसैको टाउकोभरि साबुनको फिँज, अधिकांश खाली खुट्टा थिए । सबैले आफन्तको खोजीमा मोबाइल चलाउने प्रयत्न गर्दै थिए । तर, नेटवर्कका कारण कसैको फोन चलेको थिएन । बल्लबल्ल म्यासेजमार्फत घरमा रहेका आफन्तसँग सम्पर्क भयो ।
गहनापोखरीमा मैले चिनेको तिनै कलाकार वसुन्धरा दिदी र उनका श्रीमान्बाहेक कोही थिएनन् । तर, पनि सबै आफन्त जस्तै लाग्दै थिए । जब भूकम्पको कम्पन बढ्थ्यो तब एकले अर्कोलाई समात्न पुग्थ्यौँ । को हो के थाहा ? सबै म जस्तै मानव थिए । सबै चिच्याउँथे, आफन्तको खोजी गर्थे, मलाई नामले सम्बोधन गरेर बोलाउने र नजिक राख्ने उनै वसुन्धरा दिदीबाहेक कोही थिएनन् । उनी काँपेको स्वरमा बेला–बेला श्रीमान्को हातमा झुन्डन्थिन् । केही कम भएको बेला भने– दिदी झन्डै मेरो जीवनको अन्तिम अन्तर्वार्ता तपाईं नभएको । उनले जवाफ फर्काइन्– मेरो पनि त झन्डै अन्तिम नभएको । बेलाबेला सोच्थँे, ‘नब्बे सालको भुइँचालोको अनुभूतिबारे धेरै पाकासँग कुराकानी गरेँ । आज म पनि त्यस्तै विपत्तिको सामना गर्दै छु । कोलाहलकै बीचमा एउटाले भन्छ– धरहरा ढल्यो रे ! अर्कोले भन्छ भगवतीबहालको एउटै घरमा पाँच जना मरे रे ! दुःखको समाचार सुनेर जमिनसँगै हल्लनुबोहेक केही उपाए थिएन । कतै जान कसरी जाने, सोच्न सकिरहेकी थिइन । मान्छेका हृदयविदारक घटनाबारे जसले जे भन्छ सुन्नुबाहेक केही थिएन । स्कुटर वसुन्धरा दिदीको घरमा थियो । जेसुकै होस जान्छु भनेर उनीसँग बिदा मागेँ र बाटो लागेँ ।
एकपटक गहनापोखरी नजिकै रहेको कार्यालय पुग्न मन लाग्यो र त्यतै लागेँ । कार्यालमा प्रबन्ध निर्देशक अनुप सरलगायत केही साथी थिए । भूकम्पले पनि छोडेको थिएन । जता गयो उतै पछिपछि लागेको जस्तो लाग्थ्यो । कार्यालयमा पनि बस्न मनले मानेन र घरतिर लागेँ । श्रीमान्सँग भेट्नेबित्तिकै केही राहत मिलेको अनुभूति भयो । अब मरे सिनोसँगै बाँचे पनिसँगै भन्ने सोँचे । वरपर बस्ने सबैसँग भेट भयो क्षतिको विवरण बिस्तारै आउन थाल्यो । मन भतभती पोलिरह्यो । समाचार सुन्दा पनि मन गरुंगो हुँदै गयो । साँच्चै पिपत्तिको सामाना गर्न साह्रै गाह्रो हुँदो रहेछ । आफूसँग बस्नेहरूले मानवीय क्षति गुमाउनु नपरे पनि नेपालीले भोगेको मानवीय पीडाले मन रोयो । दिनभरि सडकमा आफन्तबारे सोधखोज गर्दै बित्यो । समय ढल्कदै थियो, भूकम्प आउने क्रम रोकिएको थिएन । आकाशमा मडारिएको कालो वादलले खुला आकाशमा बस्न चुनौती दिँदै थियो । राति घरमा बस्ने अवस्था थिएन । कहाँ जाने के गर्ने भन्ने चिन्ताले सताउँदै थियो । त्यो रात एउटै घरमा बस्ने आठ जनाले नजिकै रहेको ग्यारेजमा गुटुमुटु भएर रात काट्यौँ ।
बिहान भयो । अगिल्लो दिन बिहान खाएको खानाले साथ छोडनु सामान्य थियो । अब कहाँ जाने के खाने भन्ने कुराले चिन्ता बढाउँदै थियो । कोठामा गयौँ । पूरै घर हल्लिएझँ लाग्थ्यो । सुख्खा चाउचाउ र बिस्कुटले केही राहत मिल्यो । फेरि साँँझा र भूकम्पको चिन्ता । एउटा सानो पालमा फेरि तिनै आठ जनाले टाउको लुकाउने प्रयास ग¥यौँ । तर, पानी फेरि अर्को समस्या बन्यो । घाम र सित थेग्ने हाम्रो पालले पानी के थेगोस ? छाता ओड्दै रात बित्यो । त्यो क्रम मंगलबारसम्म कायम रह्यो । थाहा छैन, कति दिन बित्छ यस्तै गरेर । यस्तो प्राकृतिक विपत्ति कसैलार्ई नपरोस् । शवमाथि बसेर देशले शोक मान्नुपर्ने अवस्था कहिल्यै पनि नआओस् ।

प्रतिक्रिया