एथेन्स । ग्रिसको सबैभन्दा ठूला बैंकमध्ये एकले संकटग्रस्त आफ्ना ग्राहकमा परेको आर्थिक भार कम गर्न २० हजार युरो अर्थात २१ हजार ६ सय अमेरिकी डलरभन्दा कम रकम ऋण तिर्न बाँकी ऋणीको ऋण एक पटकका लागि माफी दिने भएको छ ।
बैंक अफ पिरसले आफ्ना सबैभन्दा गरिब ग्राहकले भोगेको मानवीय संकटप्रति समवेदना देखाउँदै ऋण पुनःसंरचना गर्ने निर्णय गरेको जानकारी एक विज्ञप्तिमा दिएको छ ।
क्रेडिट कार्ड तथा उपभोक्ता ऋणमार्पत लिइएको २० हजार युरोसम्मको ऋण यस बैंकले पूर्णतया माफी गर्ने बताइएको छ । सोही बमोजिम धितो राखी लिइएको ऋण उठाउने काम बन्द गरिने छ भने उक्त ऋणका लागि लिइने ब्याज माफ गरिनेछ ।
ग्रिसमा कट्टरपन्थी सिरिजा सरकार जनवरी महिनामा शासनमा आएपछि अनेकौँ बैंकका प्रमुखले राजीनामा दिएका छन् भने यसका लागि पिरस बैंक अपवाद बनेको छ ।
बैंकले यस प्रकारको सुविधा प्राप्त गर्न ग्राहकले नयाँ सरकारले उपलब्ध गराएको फाइदा पाउने समूहमा आपूmलाई दर्ता गरेको हुनुपर्ने उल्लेख गरेको छ ।
सिरिजा सरकारले नयाँ सामाजिक सुरक्षा सञ्जाल कानुन गत साता संसदमा अगाडि बढाएको छ । यसै आधारमा यो दल शासनमा पुगेको हो । युरोपेली युनियनले भने यो कानुन पारित नगर्न दबाब दिएको छ । यस कानुनमा आवास सुविधा तथा खाद्य सामग्री खरिदमा अनुदानको व्यवस्था गरिएको छ ।
युरोपेली युनियन तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले लागू गरेको मितव्ययीपनाको उपायबाट गरिबीमा परेका व्यक्तिलाई यो सुविधा दिइने बताइएको छ । ग्रिसका बैंकहरू हाल तरलताको खोजीमा छन् । यहाँका खातावालाहरूले डिसेम्बरदेखि फेब्रुअरीसम्म २५ अर्ब युरो निकालेका छन् । उनीहरूले प्रधानमन्त्री अलेक्सिज सिप्रासको शासनमा ग्रिसको आर्थिक अवस्था कमजोर हुने आशंका गरेका छन् ।
ग्रिसका बैंकहरू वित्तका लागि युरोपेली केन्द्रीय बैंकमा भर पर्छन् । यसो भए पनि यस बैंकले ग्रिस सरकारले जारी गरेको सार्वभौम जमानतपत्रलाई धितोको रूपमा स्वीकार गरेको छैन ।
दुई सय ४० अर्ब युरो बराबर दुईपटक ऋण प्राप्त गरे पनि ६ वर्षसम्म मन्दीमा पर्दा ग्रिसको अर्थतन्त्रको २० प्रतिशत भाग गुमेको छ । धेरै जनताले नोकरी गुमाएका छन् भने धेरैले आफ्नो तलब घटेको देखेका छन् ।
ग्रिस सरकार हाल युरोपेली युनियन तथा आइएफएफसँग उसले अगाडि बढाउनुपर्ने सुधारका लागि तनावपूर्ण वार्तामा रहेको छ । उनीहरूले ग्रिसले आफ्नो सर्त मानेमा बाँकी रहेको ७ दशमलव २ अर्ब युरो बराबरको ऋण फुकुवा गर्ने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया