भिडियोमा संसारका नेपाली

Siwakotiकाठमाडौं । श्रमबजारमा सीप बेच्न संसारभर पुगेका नेपालीलाई समेटेर बार्सिलोनाका तुलसी शिवाकोटीले गीत तयार पारेका छन् । उनको गीतमा संसारभर रहेका नेपालीहरू मात्र समेटिएका छैनन्, संसारभर रहेका नेपालीले नेपाललाई सम्झने मन पनि एउटै देखाउने प्रयन्त गरेका छन् ।

झापा, सुरुङ्गाका शिवाकोटीले एल्बम निकाल्नका लागि ६० वटा गीत संकलन भए पनि एल्बम निकाल्न असम्भव भएपछि एल्बम ननिकालिएको बताए । ‘केही नयाँ गरौँ भन्ने आयो,’ उनले सुनाए, ‘म्युजिक भिडियोका निर्देशक सञ्जयविक्रम शाहले एल्बमभन्दा एउटै यस्तो गीत बनाउँ संसारका नेपालीलाई हुनेगरी भन्ने योजना सुनाएपछि हामीले त्यही काम गर्‍यौँ ।’
स्पेनमा रहेको इनास म्युजिक ब्यान्डमा आवद्ध नेपाली युवाले यो म्युजिक भिडियो गत मार्चमा युट्युबमार्फत सार्वजनिक गरेका थिए । अध्ययन र रोजागारीका सिलसिलामा स्पेन पुगेका नेपाली युवाको यो गीतले युट्युबमा पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । गीतमा आफ्नो देश, गाउँ, पानीपँधेंरो अनि परिवार, समुदाय र प्यारी कस्ती होलिन् भनेर विदेशमा जानेले कल्पेका शब्दलाई सुमन वैरागीले लेखेका हुन् भने संगीत निरज श्रेष्ठको छ । भिडियोका छायाकार वंशल अधिकारी हुन् ।
गायक शिवाकोटीले विदेशमा रहेर पनि नेपाली संगीतमा लागिरहने क्रममा परदेशीले पनि मातृभूमि सम्झेर संसारका नेपालीको भावना समेटेर गीत गाउन पाउँदा खुुसी लागेको बताए । २४ देशका म्युजिक भिडियोलाई फ्युजन गर्दा एक वर्ष लागे पनि उनले गीतको म्युजिक भिडियो बनाउन खासै खर्च नभएको बताए । (सौस)

प्रतिक्रिया