चितवन, १२ वैशाख । राजधानी र जाजरकोटमा स्वाइन फ्लुका कारण बिरामीको मृत्यु भए पनि चितवनमा भने हालसम्म कसैको ज्यान गएकोे छैन ।
गत माघ दोस्रो सातादेखि फैलिन थालेको यो संक्रमण फागुन अन्तिमसम्म पुग्दा भयावह रूप लिएको थियो । तर, हाल क्रमशः बिरामीको संख्यामा कमी आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले स्वास्थ्य परीक्षणका लागि आउने बिरामी दैनिक २५÷३० जनाबाट घटेर हाल तीन÷चार जनामा झरेको बताएका छन् । पहिलेका नमुनाका कारण संख्या थपिँदै गए पनि संख्यामा निकै कमी आएको छ । जिल्लामा उपचारका लागि आएकामध्येबाट नमुना परीक्षणका लागि पठाइएकाबाट एक सय ८५ जनामा स्वाइन फ्लु प्रमाणित भएको छ । अठार जनाको नतिजा आउन बाँकी छ । तीमध्ये एक सय ५६ संक्रमित चितवनकै रहेको केसीले बताए । भरतपुर अस्पतालका डा. भोजराज अधिकारी जिल्लामा मृत्यु नभएको, थप उपचारका लागि पठाउनुनपरेको र पुनः परीक्षणका लागि आउँदा बिरामी निको भएको उनको भनाइ छ ।
जिल्लामा आउने स्वाइन फ्लुका सम्भावित बिरामीको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा मात्र हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजय पौडेल सरुवा रोग नियन्त्रण र व्यवस्थापनमा भरतपुर अस्पताल सक्षम भएकै कारण बिरामीको मृत्यु हुन नपाएको बताउँछन् ।
जिल्लामा समुदायको चेतनास्तर बढी भएको र सरुवा रोगसँग लड्न सक्ने प्रतिरक्षा शक्ति चितवनका बासिन्दामा बढी भएकाले पनि उपचार सहज भएको उनको धारणा छ । यसअघि डेंगो, निमोनियाजस्ता रोग नियन्त्रणमा पनि चितवन सफल भएको थियो । अस्पतालमा मेडिकल विभागमा मात्र १३ र बालविभागमा चार अनुभवी विशेषज्ञ चिकित्सक हुनु, चिकित्सक र स्वास्थ्यकर्मीलाई एक हप्तासम्म स्वाइन फ्लु रोगका विषयमा प्रशिक्षण दिइनु, अस्पतालमा सघन उपचार कक्ष हुनु, विशेषज्ञ चिकित्सकमा सरुवारोग नियन्त्रणसम्बन्धी अनुभव हुनु, बिरामी रोगका बारेमा बुझाउन सक्नुलगायत कारण मानवीय क्षति नभई रोग नियन्त्रणका क्रममा ल्याउन सकेको मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलले बताए ।
कुनै पनि सरुवा रोग सुरुमा चितवनमा देखिने गरेको र सरकारी अस्पताललाई सक्षम बनाउन सक्दा जनताले लाभ लिन सक्ने उनले बताए । छिमेकी देशबाट चितवन हुँदै आवतजावत बढी हुने र चितवनसहित सीमाक्षेत्रमा रहेका जिल्लाबाट बिरामी सुरुमा भरतपुर अस्पताल आउने क्रम पनि बढी छ ।
प्रतिक्रिया