सुर्खेत, ११ वैशाख । पछिल्लो समय सुर्खेतमा मौरीपालनमा युवा तन्नेरीको मोह बढ्दै गएको छ । मौरी चराउन र दिगो रूपमा झन्झटिलो व्यवसाय नभएकाले युवाहरू पढ्दै स्वरोजगार बन्न व्यवसायिक रूपमा मौरीपालनमा आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले यहाँका विभिन्न गाविसका युवालाई लक्षित गर्दै मौरीपालन कृषकहरूका लागि अनुदान दिएकाले यसतर्फ लाग्न थप प्रेरित गराएको छ । चालु आर्थिक वर्षमा जिल्लाका ४० जना किसानलाई आठ सय मौरीका घार वितरण गर्ने लक्ष्य जिल्ला कृषिको छ । यसमा छनोट भएका १५ महिला र २५ जना पुरुष छन् । उनीहरूले मौरीपालन व्यवसायका लागि कृषिबाट एक लाख ८० हजार रुपैयाँ अनुदानसमेत पाउनेछन् । सुर्खेत मौरीपालनका लागि उपयुक्त हावापानी र पर्याप्त चरन रहेको कृषि कार्यालयको भनाइ छ ।
विशेषगरी सबै प्रजातिका फूल, चिउरी र पर्याप्त जंगल भएकाले मौरीपालनका लागि राम्रो मानिँदै आएको छ । कार्यालयको पछिल्लो तथ्यांकले १२ हजार चार सय ८५ कृषक मौरी पाल्दै आएको जनाएको छ । यसमध्य मुढेघारमा ९ हजार ४ सय ५१, खोपे घारमा एक हजार ९ सय ४६ र आधुनिक घारमा एक हजार २ सय ९३ कृषक छन् । मौरी पालनबाट राम्रो आम्दानी हुनु र झन्झटिलो व्यवसाय नभएकाले युवाहरू यसतर्फ बढ्दै गएका छन् । वर्षाको समयमा केही दुःख भए पनि अन्य समयमा राम्रो प्रतिफल पाइने वीरेन्द्रनगर–११ का कृषक धर्मराज लामिछानेले बताए । बिबिएस तहमा पढ्दै गरेका युवा कृषक लामिछानेले कृषिको अनुदान र आफ्नै लगानीबाट २१ वटा मौरीघार राखेका छन् । ‘दिउँसो क्याम्पस जान्छु,’ कृषक लामिछानेले भने, ‘बाँकी बचेको समयमा मौरीको रेखदेखमा व्यस्त हुन्छु ।’ मौरीपालनबाट दोहोरो फाइदा दिने बताउँदै कृषक लामिछानेले तोरी र अन्य फलफूल उत्पादनमा समेत मौरीको अहम् भूमिका रहने जनाए ।
सुर्खेतमा वार्षिक ७८ मेट्रिकटन मह उत्पादन हुँदै आएको छ भने करिब १५ मेट्रिकटन मह बाहिर निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जनाए । उनले मौरीपालनमा २१ देखि ३५ वर्ष समूहका युवायुवती बढी रहेको जानकारी दिए । स्वदेशमा आय आर्जनका थुप्रै सम्भावना छन् भन्ने उद्देश्यले कार्यालयबाट युवा लक्षित व्यवसायी मौरीपालन कार्यक्रम सञ्चालन गरेर विदेश पलायन हुने युवालाई रोक्नेगरी आफूहरू जुटेको कृषि विकास अधिकृत गिरीको तर्क छ ।
कार्यालयले नेपाल मौरीपालक कृषक महासंघसँग समन्वय गरेर जिल्लाका मुढे र खोपेघार मौरीपालक कृषकहरूलाई आधुनिक घारमा स्थानान्तरण गरिरहेको छ । मह संकलनका लागि जिल्लामा एउटा मात्र स्रोतकेन्द्र भएको भन्दै अधिकृत गिरीले तीन क्षेत्रमा केन्द्र स्थापना गर्ने र मह प्रशोधन तथा बजारीकरणका लागिसमेत कार्यालय लागेको जनाए । जिल्लाका सबै गाविसमा मौरीपालन राम्रो मानिँदै आए पनि मुख्यगरी मालारानी, लेखफर्सा, लेखगाउँ, धारापानी, साटाखानी, गुमी, नेटा, कल्याण, लेखपराजुललगायतका गाविस मौरीका लागि पकेट क्षेत्र रहेका छन् ।
प्रतिक्रिया