उद्देश्य के लिनु ? बनिछाड्नु कम उमेरको “सेभन समिटियर”

manoj-1मेरा धेरै साथीको सपना युरोप, अमेरिका, जापान, बेलायत अस्ट्रेलियासम्म पुग्ने हुन्थ्यो । तर, प्यूठानको घरदेखि माथिको लम्क्षाङ डाँडाबाट देखिने सुन्दर धौलागिरि र मनास्लु हिमाललाई नजिकबाट छुन चाहन्थेँ । आँखाअगाडि त्यसरी हेर्दा टल्किने सेता चुचुरा देख्दा अहिले दौडिएर पुगौँ जस्तो लाग्थ्यो मलाई । यद्यपि यो काम सजिलो थिएन । हेर्दा मात्र देखिने ती हिमालमा पुग्न निकै समय लाग्थ्यो । यसका लागि कि चरा जस्तै उडेर पुग्नुपथ्र्यो कि केही विकल्प हुनुपर्‍यो । त्यो काम सम्भव थिएन । ती हिमालमा जीवन समर्पित गर्न चाहन्थेँ ।

हिमाल चढ्दा पैसा धेरै खर्च हुन्छ । परिवार र साथीभाइसँग लामो समय छुट्टिएर बस्नुपर्छ, शरीरलाई निकै कष्ट हुन्छ, मर्ने र बाँच्ने निश्चित हँुदैन तर पनि म सबैभन्दा कम उमेरमा सातै महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने अल्ट्रा म्याराथुन धावकको विश्व कीर्तिमान राख्ने योजनामा छु । मेरो जन्म वि.सं. २०४५ सालमा प्यूठानको सामान्य परिवारमा भएको हो । मैले विश्वको सर्वोच्च शिखर तथा एसियाको उच्च सगरमाथा, अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर माउन्ट यलब्रुस, अस्ट्रेलियाको सर्वोच्च शिखर माउन्ट कोजियस्को र दक्षिण अमेरिकाको सर्वोच्च शिखर माउन्ट एकान्कागुवा आरोहण गरिसको छु । अब म उत्तर अमेरिकाको डेनाली र अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहणको तयारीमा छु ।
दौडिएपछि कि स्वस्थ कि असल खेलाडी भइन्छ भन्ने बुबाको प्रेरणाका कारण सानो उमेरदेखि दौडमा लागेको हुँ । अनि विश्वप्रसिद्ध आरोही दोय आप्पा शेर्पा तथा मिङ्मा शेर्पाको हिमाल आरोहण डकुमेन्ट्री हेरेर आरोहणतर्फ आकर्षित भएँ ।
पहिलोपटक २०१२ मा सगरमाथाको ८,६८५ मि. सम्म मात्र आरोहण गर्न सकेँ भने दोस्रो प्रयासमा १९ मे २०१३ मा बिहान ९ बजेर ५६ मिनेटमा सगरमाथा आरोहण गर्न सफल भएँ । त्यसपछि सातै महादेशका सातै उच्चहिमाल चढेर विश्व आरोही बन्ने मेरो संकल्प सुरु भयो । सन् २०१४ जुलाई २० मा रसियास्थित युरोपको सर्वोच्च शिखर यलब्रुस आरोहण गरेँ । मैले उक्त हिमालको टाकुरामा अत्यन्त प्रतिकुल मौसमबीच ६ मिनेट ०३ सेकेन्ड अर्धनग्न अन्तर्राष्ट्रिय कीर्तिमान पनि बनाएँ । यसैगरी अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जरोमा दक्षिण एसियाकै तीव्र गतिको आरोहीको रूपमा ६ घन्टा १३ मिनेटमा आरोहण गरी कीर्तिमान बनाएँ । अस्ट्रेलियाको सर्वोच्च शिखर माउन्ट कोजियस्कोमा आधार शिविर थेड्बोदेखि शिखरसम्म उल्टो हिँडेर नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल र भादगाउँले टोपीमा सफल आरोहण गर्दै अर्को कीर्तिमान कायम गर्न सफल भएँ । त्यसैगरी २०१५ मार्चमा दक्षिण अमेरिकाको उच्चशिखर एकान्कागुवामा आरोहण गर्दै त्यहाँ पनि नेपाली पोशाक दौरा, सुरुवाल र भादगाउँले टोपी प्रदर्शन गरिसकेको छु । किलर माउन्टेन मनास्लु, आइल्यान्ड पिक, रसियाको चर्चित पर्वत माउन्ट चिगार्ड, तान्जानियाको दोस्रो ठूलो पर्वत माउन्ट मेरु, छुकुंग्री पिक, नागार्जुन हिमालको सफल आरोहण गरिसकेको छु । यही क्रममा राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०१४ बाट सम्मानित भइसकेको छु ।
दौडको रोमाञ्चक किस्सा
पहिलो काठमाडौं अन्तर्राष्ट्रिय म्याराथुन ४२ किमिबाट आफ्नो दौडको करियर सुरु गरेँ । सायद म नै त्यस्तो म्याराथुन धावक हुँ जसले आफ्नो करियर ४२ किमि धावक भएर सुरु गरँे । सामान्यतया धावकहरूले १०० मि., १५०० मि., ५ कि.मि., १० कि.मि., २१ कि.मि हुँदै दौडको अन्तिम समयमा म्याराथुन खेलाडी हुने गर्दछन् । एक दिन दशरथ रंगशालामा वैकुण्ठ मानन्धरलाई भेट गर्ने अवसर पाएँ । त्यसबेला लामो दुरीको दौड दौडने निकै चलन थियो र त्यस्तै प्रसंगमा वैकुण्ठ मानन्धरले भन्नुभयो, ‘म २०४५ सालमा काठमाडौंवाट खासा दौडिएको थिएँ । अहिलेसम्म कुनै माइका लालले त्यो दुरी दौडन सकेको छैन ।’ त्यसपछि मैले दृढ संकल्प गरेँ काठमाडौंबाट खासा दौडने । बैकुण्ठको त्यही शब्दले मलाई लामो दुरीको धावकको रूपमा स्थापित हुन निकै प्रेरित ग¥यो । त्यसपछि रात दिन मिहिनेत गर्न थालेँ । ४२ किमि दौडिसकेको मेरो अनुभव थियो । उनै बैकुण्ठ मानन्धरलाई काठमाडौं खासा दौडको संयोजक बनाएर २०६५ साल माघ १० गते १५ जनाको टोलीसहित कान्तिपुर भ्याली कलेजदेखि खासाको दौड दौडने निर्णय गरेँ । मैले एक सय २७ किमिको त्यो दुरी ११ घन्टा २० मिनेटमा पार गरेँ । जुन बैकुण्ठ गुरुले १४ घन्टा लगाउनुभएको थियो रे । त्यसपछि उहाँले भन्नुभयो, तिमीले म्याराथुनमा धेरै राम्रो गर्न सक्छौ मिहिनेत गर ।’
त्यसपछि २००९ देखि ११ सम्म करिब २२१० किमि दुरी दौड दौडिसकेको थिएँ । स्वर्गद्वारी–काठमाडौं, काठमाडौं–गोरखा जस्ता धेरै दौड दौडिसकेको थिएँ । नेपालका थुप्रै जिल्लामा जलवायु परिवर्तनले पारेको प्रत्यक्ष प्रभाव र शान्तिको चेतना फैलाउन दौडिसकेको छु । मैले नेपाली खेलकुदमा लागेका कैयौँ हस्तीको अत्यन्त दयनीय स्थिति देखिसकेको थिएँ । मैले त्यसपछि आफूलाई सगरमाथा चढ्ने घोषणा गरेँ, यदि मैले आफ्नो ट्याक चेन्ज गरिनँ भने भविष्यमा ती खेलाडी जस्तै मेरो पनि हविगत उही हुने देखी अहिलेसम्म कुनै पनि म्याराथुन धावक सगरमाथा चढेको रेकर्ड नभएको थाह पाएँ । त्यसपछि मेरो जिल्ला प्यूठानमा गई सगरमाथा चढी प्यूठानको पहिलो र नेपाली म्याराथुन धावकको पहिलो आरोही हुने दृढ संकल्प राखेँ । २०१३ मा सर्वोच्च शिखर चुमिछाडेँ । मैले मनास्लु अल्ट्राट्याल म्याराथुन २१३ किमि जहाँ १४ राष्ट्रका ३७ प्रतिष्ठित खेलाडीको सहभागिता थियो ।
सगरमाथामा पहिलो पाइला
सगरमाथा आरोहणको पहिलो प्रयासमा म सफल हुन सकिनँ । सन् २०१२ मा ८,६८५ मिटरबाट फर्कनुपरेको पीडाले मलाई सधैँ सताइरहन्थ्यो । सगरमाथा आरोहणमा असफल भएपछि मैले किलर माउन्टेनका रूपमा चिनिएको मनास्लु (८,१६३ मि) अग्लो हिमालको सफल आरोहण गरेपछि मलाई फेरि सगरमाथा आरोहण गर्ने जाँगर चल्यो । अनि मैले प्रतिज्ञा गरेँ, सर्वोच्च शिखर चुम्ने । ८,८४८ मिटर सर्वोच्च शिखर चढ्ने योजना स्वरूप सेभम समिट ट्रेकसँगै काठमाडौंबाट गन्तव्यतर्फ हिँडियो । करिब १० दिनको हिँडाइपछि लेक्ला नाम्चे पाङबाचे फेरिचे हुँदै सगरमाथा आधार शिविरमा पुगियो । त्यसपछि आधार शिविरमा नियमित अभ्यास सुरु भयो । कुनै पनि आरोहीलाई हिमालको चुचुरोसम्मका लागि त्यहाँको वातावरणसँग घुलमिल हुन अनिवार्य छ । यदि वातावरणसँग भिज्न सकिएन भने आरोहण गर्ने क्रममा निकै अप्ठ्यारो सामना गनुपर्ने हुन्छ । म अनि मेरा पथप्रदर्शक लोक्साङ शेर्पा सगरमाथाको शिविर–३ सम्म पूर्ण रूपमा अभ्यस्त भइसकेका थियौँ । एक किसिमले भन्दा शिविर–३ सम्म सजिलै पुग्न वातावरण तयार भइसकेको थियो ।
मैले लोप्साङलाई पटक–पटक भन्ने गर्थेँ, ‘लोप्साङ तिम्रो छोराले सगरमाथा कहिल्यै चढ्दैन होला है । किनकि तिम्रो छोरा काठमाडौं पढ्छ । ठमेलको वातावरणमा हुर्किन्छ अनि न्यूरोडमा सपिङ गर्न जान्छ र उमेर पुग्यो भने सिधै अमेरिका हानिन्छ ।’ मैले यसो भन्दा समर्थन जनाउने लोप्साङका लागि मे ४ को दिन कालो दिन भएर आयो । लोप्साङको शिविर ४ फिक्सिङ गरेर फर्कँदा मृत्यु भयो भन्ने जब मैले रेडियो सेटमा सुनेँ, मलाई आकाश भासिए जस्तो भयो ।
लोप्साङको निधनले मलाई पनि डर लागिरहेको थियो । सायद संसारमै सबैभन्दा कठीन एवं खतरनाक बाटो मानिन्छ, सगरमाथाको आधारशिविर १ सम्म । शिविर २ देखि ३ सम्म एकदम निलो आइसमा हिँडियो । सिसा जस्तो देखिने कुनै–कुनै भाग ठाडै केवल डोरीको भरमा हिँड्दै पार गरियो । करिब ६ घन्टा निरन्तर हिँडेर शिविर ४ मा पुगियो । ४÷५ घन्टाको आरामपछि म र मेरो गाइडले ७ बजेर १५ मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथातर्फ आफ्नो पाइला चाल्यौँ । मेरो हिँडाइको गति अरूभन्दा अलि छिटो भएकाले म अत्यन्त छिटो बालकुनी ८५०० मि. मा पुगेँ । मेरो गाइडले बालकुनीमा पुगेर अक्सिजन फेर्ने सल्लाह दिएका थिए । म निकै अगाडि बढेको थिएँ । तर, मेरो गाइड मभन्दा पछाडि भएकाले दुई घन्टापछि उसँग भेट्ने मौका पाएँ । दुई घन्टा त्यो डाँडोमा एक्लै बस्दा मलाई हिम हावा, हिम वर्षा तथा ढुंगाले केही हदसम्म असर पु¥याइरहेको थियो । अनकन्टार रातमा बालकुनीबाट माथि उक्लने क्रममा मेरो मनमा हतास डर छाइरहेको थियो, कतै मेरो यात्रा अपूरो त हुने होइन भनेर । तर, मेरो उद्देश्य जसरी भए पनि चुचुरो चुम्नु थियो ।
साउथ समिटमा बिहान साढे ५ बजे हाम्रो टोली पुगेको थियो । झिसमिसे बिहानमा हिमाली क्षेत्रमा छाएको लाली अनि टाढाको क्यानभासमा देखिने रोमाञ्चक दृश्य निकै मनमोहक देखिएको थियो । साउथ कोलबाट देखिने साउथ समिट नै संसारको अग्लो स्थान हो भन्ने सोचेको थिएँ तर त्यो भन्दा अलि परबाट सन्सारकै टुप्पो मानिएको वास्तविक स्थानले चिहाइरहेको रहेछ । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेपछि आफू सबैभन्दा माथि पुगेको अनुभूति हुनेरहेछ । माथि पुगिसकेपछि सबै चिज तल देखिने सायद अरू आरोहीले पनि यही अनुभव सँगाल्छन् होला । शिखर चुमेपछिको अनुभव व्यक्त गर्न मसँग अहिले कुनै शब्दै छैन । मे १९, २०१३ का दिन सगरमाथाको चुचुरोमा आफ्ना पाइला राख्न सफल भएँ ।
अफ्रिकामा तीव्र गतिको आरोहीको कीर्तिमान
किलर माउन्टेन मनास्लु तथा सगरमाथापछिको सफल आरोहणले मलाई केही ऐतिहासिक काम गरौँ–गराँै भइरहन्थ्यो । ८००० मि. माथिका हिमाल आरोहण गरिसकेपछि मैले हिमाललाई राम्रोसँग बुझेको थिएँ । मनास्लुमा १४ पर्वतारोहीको मृत्यु र सगरमाथामा आफ्नै गाइडको मृत्युले त्रस्त भए पनि नयाँ योजना बुनिसकेको थिएँ । सात महादेशका सात उच्चशिखर आरोहण गर्ने अनेक दुःख र सुखका बीच मैले अफ्रिकाको उच्च शिखर किलिमन्जरो आरोहण गर्ने निर्णय लिएँ । अफ्रिका महादेशको तान्जानियामा स्थित यो पर्वतको नाम मात्र सुनेको थिएँ । तर, यो पर्वतले विश्वमै आफ्नो इतिहास बोकेको कथा भने प्रत्यक्ष आरोहणको सिलसिलामा मात्र बुझ्न सफल भएँ । ३० मार्चमा किलिमन्जरो यात्रामा निस्कने योजना थियो । केही समयको विश्रामपछि हामी पहिलो शिविरको मन्डरातर्फ लाग्यौँ । यहाँको किलिमन्जरो नेसनल पार्कले पर्यटकका लागि अत्यान्त सुविधा गरिदिएको रहेछ । पर्यटक र भरियाका लागि छुट्टै मार्ग किलिमन्जरो गेटदेखि मन्डरासम्मको यात्रा निकै कष्टकर भयो । मन्डरा हेरम्बो हुँदै किबोदेखि किलिमन्जरोको उच्चशिखरमा सामान्य आरोही तीन दिनमा पुग्ने गर्छन् । किनकि वातावरणसँग घुलमिल हुँदै जानुपर्छ । किबोमा १ दिनको आरामपछि मात्रै आरोहीले रातको १२ वा १ बजे शिखरका लागि यात्रा तय गर्दा रहेछन् । मैले मन्डरादेखि किबो (अन्तिम शिविर) सम्मको यात्रा गर्न केवल तीन घन्टा १५ मिनेट तय गरेँ । मन्डरादेखि अन्तिम शिविर किबोमा जम्मा ३ घन्टा १५ मिनेटमा पुगियो । हामीले भने २ घन्टा २५ मिनेटमा किलिमन्जरो जाने यात्रा तय ग¥यौँ ।
करिब डेढ घन्टाको हिँडाइपछि हामी गिल्मन्स प्वाइन्ट (५,६५८ मि) आइपुग्यौँ । त्यहाँबाट देखिने अन्तिम बिन्दु नै अफ्रिकाको सर्वोच्च शिखर हुरुर
(५,८९५ मि) पिक रहेछ । हामी त्यो गन्तव्य चुम्न यति लालायित थियौँ, हामीलाई त्यो बिन्दुसम्म जान करिब एक घन्टा ३३ मिनेट मात्र लाग्यो । बेलुकाको ५ बजेर २१ मिनेट जाँदा अफ्रिकाको सर्वोच्च पिक हुरुर तथा किलिमन्जरो हिमशृंखला सफल आरोहण गरियो ।
नेपालका अहिलेसम्म १४ आरोहीले मात्र उक्त हिमाल आरोहण गरेका छन् । किलिमन्जरोको अर्थ त्यहाँको भाषामा स्वतन्त्र हुँदो रहेछ । किलिमन्जरो आफैँमा अफ्रिकाको सर्वोच्च शिखर रहेनछ । किलिमन्जरो जम्मा तीन पहाडबाट बनेको शृंखला रहेछ ।
युरोपमा नांगिएर कीर्तिमान
उचाइको हिसाबले सानो हिमाल भए पनि एलब्रुस निकै टेक्निकल हिमाल हो । नेपालमा सबै अग्ला हिमालमा डोरी लगाएर फिक्स गरिएको हुन्छ र त्यसैको भरमा हिमाल आरोहण गर्नुपर्ने हुन्छ । तर, युरोपको हिमालमा अल्पाइन अर्थात् आफैँ बाटो बनाउँदै एउटा आइस एक्स र पोल स्टिकको भरमा आरोहण निर्धारण गरिएको हुन्छ । दुई दिनको प्रतिकुल मौसमपछि म अनि मेरो गाइड अक्सानाले बाटोमा हिउँ अनि तीव्र गतिको हावासँगै संघर्ष गर्दै अगाडि हिँड्नुप¥यो । हामी ५५०० मि. को क्षेत्रमा जाँदै गर्दा एउटा हृदयविदारक दृश्य देख्यौँ, एलब्रुस चुमेर फर्केका आरोहीमध्ये एकजना बाटोबाट तल खसिन् तर हामीले जोसका साथ पाइला चुचुरोको अन्तिम बिन्दुमा राख्न आँटिरहेका थियौँ । एलब्रुसको चुचुरोले हामीलाई बोलाइराखेको जस्तो लाग्थ्यो । जब मैले शिखर चुमेँ त्यसपछि केहीबेर सुतेँ र मलाई जन्मदिने बुबाआमा अनि श्रीमतीलाई सम्झेँ । सबै प्यूठानी तथा शुभ चिन्तक जसले मेरो आरोहणका लागि प्रार्थना र सहयोग गरे उहाँहरूलाई टाकुराबाटै धन्यवाद दिएँ ।
अनि मलाई तल्काल केही कीर्तिमान राख्नुपर्छ भन्ने लाग्यो । मैले तत्काल कम्मरभन्दा माथिको सबै कपडा खोल्दै सबै नेपालीलाई सम्झेँ । पाँच मिनेटसम्म मेरो दृश्यलाई क्यामेरामा कैद गरिरहेकी गाइड अक्सनाले उस्कै रसियन भाषामा भन्न लागिन्, ‘तिमी पागल भयौ ?’ उनलाई अंग्रेजी भाषा पटक्कै आउँदैन थियो । मैले करिब तीन करोड नेपालीलाई प्रतिनिधित्व गर्दै नांगिएर कीर्तिमान गर्दैछु भन्ने उनलाई थाहा थिएन । ६ मिनेटपछि दृश्य कैद गरिरहेकी क्यामेरा मसामु फ्याकिदिइन् र ओरालो झर्न आग्रह गरिन् । मेरो उद्देश्य आधा घन्टा नांगिनु थियो तर भाषाको समस्याले गर्दा त्यो सपना पूरा हुन सकेन ।
अस्ट्रेलियामा उल्टो हिडेर कीर्तिमानी
मेरो पूर्वनिर्धारित कार्यक्रम थियो, अस्ट्रेलियाको उच्च शिखर माउन्ट कोजियस्कोमा उल्टो हिँडेर आरोहण गर्ने । म त्यहाँको धरातलीय अवस्थाका बारेमा पूर्ण रूपमा अनविज्ञ थिएँ । तर पनि गन्तव्यमा पुग्छु भन्ने पूर्ण विश्वास थियो । त्यसैस्वरूप मैले नेपाल सरकार तथा अस्ट्रेलियाको पेसिफक कलेजको पूर्ण सहयोगमा सञ्चारकर्मी हेमन्त काफ्लेको नेतृत्वमा १० जनाको टोली कीर्तिमानी आरोहणका लागि करिब ५ घन्टाको मोटर ड्राइभबाट आधारशिविर थ्रेड्बो पुगियो । मैले थे्रड्बोमा नेपाली दौरा सुरुवाल र भादगाउँले टोपी लगाउँदै उल्टो आरोहण यात्रा सुरु गरेँ । मैले सोचेभन्दा अलि गाह्रो पाएँ । उल्टो हिँडेर गरिएको आरोहण जीवनको पहिलोपटक थियो । करिब ५ घन्टा ४५ मिनेटमा शिखर चुम्दै नेपालको राष्ट्रिय झन्डा फर्फराउँदा एउटा सिंगो इतिहास बोकेको अनुभव गर्दै प्रकृतिमाथि नै विजय प्राप्त गरेको आभास भयो ।
दक्षिण अमेरिकामा मरेर बाचे 
गत फेब्रुअरी २२ मा दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुआ आरोहणका लागि काठमाडौंबाट प्रस्थान गरेँ । ६ दिनको पैदल यात्रापछि आधार शिविर पुगियो । सगरमाथासहित आठ हजार मिटरका हिमाल चढिसकेको हुनाले मैले झन्डै सात हजार मिटर (६९६२ मि) को हिमाल चढ्नु खेलाँची सम्झेँ । म अत्यन्तै चिसो समयमा गएको थिएँ । यो वर्षको अन्तिम आरोहण थियो हाम्रो । सबै फर्किसकेका थिए । एकोन्कागुआमा नोभेम्बरबाट आरोहण सुरु हुन्छ र मार्च १५ मा बन्द हुन्छ । सरकारले नै त्यसपछि हिमाल चढ्न रोक लगाएको छ । हामी १० मार्चमा चुचुरोमा पुग्नुपर्ने थियो । आरोहण दलमा अर्जेन्टिना, ब्राजिल, जापानिज र म गरी १० जना थियौँ । जसमध्ये ६ जनाले क्याम्प–२ बाट अगाडि जाने साहस गर्न सकेनन् । उनीहरू फर्किए । म मेरो गाइड, जापानको जोनिया र उसको गाइड बाँकी थियौं । हामी चारजना ६ हजार मिटरको अन्तिम क्याम्पमा पुग्यौँ । मौसम एकदमै राम्रो थियो ।
सगरमाथामा जस्तो त्यहाँ डोरी टाँगिएको हुँदैन । हिउँकै बाटोमा हिँड्नुपर्छ । त्यसलाई अल्पाइन सिस्टम (आफैँ बाटो बनाएर जाने) भनिन्छ । अन्तिम दिन हामीलाई ९ सय मिटरको दूरी तय गर्नुपर्ने थियो । बिहान पाँच बजे यात्रा सुरु गरियो । बिहान नौ बजे यात्राको अन्तिम गन्तव्य ६ हजार ७ सय मिटरको केभ भन्ने ठाउँमा पुगियो । त्यहाँ नजिकै पुग्दा जोनिया डरायो । ऊ नसक्ने बताएर थकित मुद्रामा तल फर्कियो । म पनि जानै नसक्ने अवस्थामा थिएँ । तर, मैले सोचेँ, नेपालबाट मलाई सरकारदेखि सबैले हेरिरहेका छन्, ‘सञ्जयले अर्जेन्टिनाको हिमाल चढ्न सक्छ कि सक्दैन ?’ मेरो गाइड बाउटीले मलाई अन्तिमसम्म साथ दियो । ऊ मलाई आइज भन्थ्यो । पटक–पटक अगाडि गएर बोलाउँथ्यो । ऊ धुरु–धुरु रोइरहेको थियो किनभने आरोहीको केही कारणले निधन भयो भने गाइड जेल जानुपर्ने नियम त्यहाँ रहेछ । मलाई त्यो हिमालमा दुई सय मिटरको दूरी पार गर्न आठ घन्टा लाग्यो । म कसरी चुचुरोमा पुगेँ । आफैँलाई थाहा छैन । चुचुरोमा पुगेपछि आमाबुबा र मेरो अभियानमा सहयोग गर्ने रामशरण महत, बामदेव गौतम, टोपबहादुर रायमाझी, लीलामणि पोखरेल, केपी ओली, गोल्डेनगेट इन्टरनेशनल कलेज र कान्तिपुर इन्टरनेशनल कलेजलगायतको तस्वीर फहराएँ ।
अर्जेन्टिनाको टाकुरामा नेपालको राष्ट्रिय झन्डा र नेपाली राष्ट्रिय पोशाक फर्फराएँ । त्यतिबेला मैले तीन करोड नेपालीलाई एकैसाथ सम्झिएँ ।
जब म झर्न सुरु गरेँ । थकित थिएँ । ६ हजार मिटरको रेञ्जमा आइपुगेपछि हिँड्नै नसक्ने अवस्थामा पुगेँ । गाइड चिन्तित थियो । उसले पटक–पटक टेलिफोन गरेर रेक्स्यु टिम बोलाइरहेको थियो । गाइडले मलाई उतानो परेर सुत्न भन्यो । मैले सोचेँ कि उसले मलाई मार्न खोज्यो । आवेगमा आएर भनेँ, ‘यु वान्ट टु किल मी ?’ उसले जहाँ ठूलो ढुंगा आउँछ त्यतिबेला सुत्न भन्थ्यो । मलाई लाग्यो कि उसले माथिबाट ढुंगाले किचेर मार्न खोजिरहेको छ । मैले मार्न खोजेको आशंका गरेपछि हाम्रो झगडा भयो । माथि चढ्ने बेलामा औषधि सेवन नगर्ने तर फर्कँदा ‘डाइमोक्स’ नामको औषधि सेवन गर्न दिँदो रहेछ । इन्जेक्सनबाट । सायद उसले इन्जेक्सन लगाउन खोजेको थियो । त्यसरी इन्जेक्सन लगाएपछि तीन घन्टाजति फूर्तिका साथ हिँड्न सकिने रहेछ । तर, मैले हान्नै दिइनँ ।
मैले तल आएपछि मलाई रेस्क्यु गर्न आएको पुलिस देखेँ, त्यसपछि बाँच्छु कि भन्ने आशा गरेँ । उद्दार गर्न आएको प्रहरी केभ (६,७०० मि) मा थियो । त्यहीँबाट जोनियाँ फर्केको थियो । उद्धारमा गएका प्रहरीले मलाई इन्जेक्सन दियो । त्यसपछि हिँड्न सक्ने भएँ । मैले नेपालीमा अर्जेन्टिनीहरूलाई धेरै गाली गरेँ ।
रातको ११ बजे तेस्रो क्याम्प (६ हजार मिटर) मा आइपुगेँ र सुतेँ । त्यसपछि मैले के–के भनेछु । ठूलो आवाजमा तिमीहरूले मलाई मा¥यौ भनेँ । पानी पनि खान मन लागेको थिएन । मेरो शरीरमा अक्सिजनको मात्रा २३ प्रतिशत बाँकी रहेछ । मानिसलाई बाँच्नका लागि ८०÷९० प्रतिशत अक्सिजन चाहिन्छ । तर, मेरो शरीरमा भएको अक्सिजन धेरै कम हो । चिकित्सकले तत्काल क्याम्प–२ मा झारेनौँ भने सञ्जयले भोलि सूर्य देख्न पाउँदैन भनेछन् ।
गाइडले मलाई भन्यो, ‘तेरो शरीरमा २३ प्रतिशत अक्सिजन छ, यहीँ बसिस् भने भोलिसम्ममा मर्छस् ।’ उसले सम्झायो, नेपालमा तिम्रो बाबुआमा र श्रीमती छन् । तैंलै जानुपर्छ । मैले तल आउन मानिनँ । केही खाएको थिइनँ । शरीर लखतरान भएको थियो । सक्ने अवस्थै थिएन । गाइडले मेरो स्लिपिङ ब्याग घिसारेर टेन्टबाहिर ल्यायो । व्यापक जाडो भयो । घरमा बाबुआमा, श्रीमती सम्झेँ । भोलि बिहानको मृत्युलाई सम्झेंँ र तल झर्ने निर्णय गरेँ । राति साढे १२ बजे ‘ड्राइ’ हिमालको अन्तिम काखबाट तल झरेँ । बेस क्याम्पमा आएपछि हिरो बनेँ । किनकि १० जनाको टोलीमा मैले मात्र सफल आरोहण गरेको थिएँ । ९ मार्च मेरो जन्मदिन थियो । त्यहीँ जन्मदिन मनाएर नेपाल फर्किएँ ।
अब उत्तर अमेरिकाको डेनाली र अन्टार्कटिका महादेशको भिन्सन आरोहण गरी सेभेन समिटरको उपाधि पाउनु अबको लक्ष्य हो ।
(कीर्तिमानी विश्वआरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया