स्वलिनतापीडित बालिकाकी आमाले बनाइन् अद्भूत एप्लिकेसन

पेरिस, ८ वैशाख । फ्रान्समा स्वलिनता (अटिस्टिक) बाट पीडित एक बालिकाकी आमाले विभिन्न भाषा बोल्ने वा बोल्नै नजान्ने मानिसका लागि एकापसमा कुराकानी गर्न सघाउने र स्मार्टफोनमा उपयोग गर्न सकिने एप्लिकेसन पहिलोपटक तयार गरेको जानकारी फ्रान्सेली कम्पनी सोगेटीले सोमबार दिएको छ ।
म्यारी स्पिजले ‘टक डिफरेन्ट’ नाम गरेको एप्लिकेसन तयार गरेको र यसमा ७०० चित्र, रङ, चिह्न तथा आवाज उपयोग गरी उनले आफ्नी छोरी पाउलिनसँग अन्तरक्रिया गर्न प्रयोग गरेको वैकल्पिक सञ्चार प्रविधिका आधारमा सन्देश सिर्जना गरेको बताइएको छ । स्वलिनताका कारण पाउलिनलाई बोल्न निकै कठिनाइ हुने गरेको बताइएको छ ।
स्मार्टफोन वा प्याडमा ‘टड डिफरेन्ट’ का आधारमा पर्यटक वा बोल्न नसक्ने व्यक्तिले सन्देश सिर्जना गर्नसक्ने र त्यसलाई अरूले सजिलै बुझ्ने बताइएको छ । यस एप्लिकेसनलाई ‘गुगल प्ले’ वा ‘एपल स्टोर’मा नौ वटा अन्तर्राष्ट्रिय भाषामा डाउनलोड गर्न वा खरिद गर्न उपलब्ध गराइएको फ्रान्सेली क्म्प्युटिङ संस्था क्यापजेमिनीले जानकारी दिएको छ ।
स्पिजले ९९ सेन्ट पर्ने ‘टक डिफरेन्ट’ मा उपयोग भएका चित्रहरू सरल भएको यसलाई आफूले आफ्नी छोरीसँग वार्ता गर्न उपयोग गरेको बताइन् । सामान्यतया अशक्त व्यक्तिका लागि सञ्चार गर्न आवश्यक तालिम निकै महँगो हुने गरेको र उनीहरूलाई अन्त्यमा एक्लो बनाउने गरेको उनले बताइन् । उनले आफूले यस परियोजनामा तीन वर्षसम्म काम गरेको र यसलाई एक युरोभन्दा कम लागतमा कसैले पनि स्मार्टफोनमा डाउनलोड गर्नसक्ने बताइन् । उनले यो एप्लिकेसन प्रयोग गर्न निकै सजिलो भएको र यसका लागि तालिम पनि आवश्यक नपर्ने बताइन्
बोल्ने क्षमता नभएकी आफ्नी छोरीसँग एक दशकसम्म काम गरेपछि स्पिजले एमपीएसएलएस सफ्टवेयर कम्पनी स्थापना गरेको र आफ्नो एप्लिकेसनलाई चिकित्सा, शिक्षा, पर्यटन तथा सञ्चारको क्षेत्रमा प्रयोग गर्ने गरी विकास गरेको बताइएको छ ।
यस एप्लिकेसनमा प्रयोगकर्ताले विभिन्न परिस्थिति, विचार तथा अवधारणाको चित्र छनौट गर्नुपर्ने, त्यसलाई रङ, आवाज, लिपिसँग जोडेर सञ्चार सन्देश तयार हुने र त्यसलाई अर्को व्यक्तिले सजिलै बुझ्ने सन्देश वा प्रश्नको रूपमा सञ्चार गर्न सकिने बताइएको छ ।
सोगेटीका परियोजना निर्देशक प्याट्रिक मार्केटले ‘टक डिफरेन्ट’ ले सञ्चारलाई अभिप्रेरणात्मक तथा आनन्दको एप्लिकेसन बनाएको बताए । उनले एकै प्रकारका भाषा बोल्न नसक्ने र विभिन्न प्रकारका अशक्तपना भोगेका व्यक्तिका लागि म्यारी स्पिजले सञ्चारको नयाँ उपाय खोजेको बताइन् । ‘टक डिफरेन्ट’ अब सामान्य उपयोगका लागि उपलब्ध भएको र अब त्यसको स्वास्थ्यकर्मी तथा अशक्त व्यक्तिका लागि विशेष ‘भर्सन’ तयार भइरहेको स्पिजले बताए ।

प्रतिक्रिया