एन्फोलाई विश्व पानी पुरष्कार

enpho.jpgलन्डन । दक्षिण कोरियामा शुक्रबार सम्पन्न विश्व पानी मञ्चमा खानेपानी तथा सरसफाइको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नेपाली गैरसरकारी संस्था वातावरण तथा जनस्वास्थ्य संगठन एन्फो (ENPHO) लाई क्योटो वर्ल्ड वाटर ग्राण्ड प्राइज (Kyoto World Water Grand Prize) दिइएको छ।

जापान वाटर फोरम र विश्व पानी परिषदद्वारा दिइने सो पुरस्कारको राशी करीब २० हजार अमेरिकी डलरको रहेको छ।

मध्यपश्चिमको सुर्खेतका छात्र तथा छात्राहरुको लागि सौचालय र सरसफाइ सुविधाहरु निर्माण गर्ने एन्फोको प्रयासको प्रसंसा गर्दै पुरस्कृत गरिएको जापान वाटर फोरम र विश्व पानी परिषदले जनाएका छन्।

दक्षिण कोरियाको देगुमा आयोजित विश्व पानी मञ्चका क्रममा उक्त पुरस्कार प्रदान गरिएको थियो।
३७ देशका एकसय भन्दा बढी संस्थाहरुलाई उछिन्दै एन्फोले उक्त पुरष्कार हात पारेको थियो।

एन्फोका कार्यकारी निर्देशक डाक्टर सुमनकुमार शाक्यले सो पुरस्कारबाट आफुहरु निकै उत्साहित भएको बताए।

उनले पहिले विद्यालयमा खानेपानी तथा सरसफाइको सुविधा सुधार गर्ने, बालबालिकालाई खाना खानु अघि र दिशापिसाब गरीसकेपछि हात धुन अभ्यस्त पार्ने र बालबालिकामार्फत तिनका बाबुआमा एवम् अभिभावकलाई पनि सरसफाइतर्फ उत्प्रेरित गर्ने काम आफुहरुले गरिरहेको बताए ।

वाश नाम दिइएको सो परियोजनाबाट सुर्खेतको नौवटा विद्यालयका दशहजार बढी छात्रछात्राहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

यसबाहेक सो परियोजनाले समुदायमा फोहरमैला व्यवस्थापन, खेर गएको पानीको व्यवस्थापन आदिदुवारा वातावरण संरक्षणबारेको चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको पनि शाक्यले बताए।

पुरष्कार संस्थापक जापान वाटर फोरमले एन्फोले गरिरहेको कामबाट अन्य मुलुकहरुले पनि सिक्नसक्ने अपेक्षा व्यक्त गरेको छ।

पच्चीस वर्ष अघि स्थापित एन्फोले वातावरण तथा जनस्वास्थ्यका क्षेत्रमा अनुसन्धान एवम् कार्यक्रम कार्यान्वयन पनि गर्दै आएको छ।

प्रतिक्रिया