सिंगापुर, १५ चैत । आधुनिक सिंगापुरका निर्माता एवम् पूर्वप्रधानमन्त्री ली क्वान युको अन्त्येष्टि आइतबार हुँदै छ ।
उनको शवयात्रा आइतबार बिहानै सुरु भएको छ । दसौं हजार नागरिक शवयात्रामा सहभागी छन् । उनीहरुले प्यारा नेताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै लीको शवयात्रामा सहभागी भएका हुन् । बिहानैदेखि भारी वर्षा भइरहेको पनि दसौं हजार नागरिक शवयात्रामा सहभागी भइरहेका बताइएको छ ।
सिंगापुर सरकारले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने भएको छ । शवयात्राको प्रक्रियालाई अत्यन्तै आकर्षक र भब्य बनाइएको छ । उनको शवलाई यसअघि संसद भवन परिसरमा राखिएको थियो । श्रद्धाञ्जली दिन त्यहाँ लाखौँ व्यक्ति पुगेका थिए । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न संसदमा ४ लाख १५ हजार व्यक्ति पुगेको जानकारी अधिकारीहरूले दिएका छन् ।
एसियाका यी राजनेताको अन्त्येष्टि आइतबार गरिने जानकारी यसअघि नै सरकारले दिएको थियो । उनको गत सोमबार ९१ वर्षको उमेरमा देहावसान भएको थियो ।
उनलाई २१ तोपको सलामी दिने निर्णय सरकारले गरेको छ । सामान्यतः २१ तोपको सलामी पदमा रहेका अर्थात वर्तमान राष्ट्रपतिलाई मात्र दिने गरिएकोमा उनी सिंगापुरका संस्थापक एवम् राष्ट्रपिता रहेकाले अपवादका रुपमा य निर्णय गरिएको बताइएको छ ।
विशेष रुपमा सजाइएको पाल्कीमा उनको शव राखिएको छ भने हवाई गस्तीले पनि उनको शवयात्राप्रति सम्मानस्वरुप पुष्पवृष्टि गरिरहेको छ ।
अन्त्येष्टि समारोहमा विश्वका कतिपय नेताको सहभागिता हुने बताइएको छ । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हे, अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो समारोहमा पुगेको बताइएको छ । त्यसैगरी, इन्डोनेसियाली राष्ट्रपति जोको विदोदो, बु्रनाइका नरेश सुल्तान हसनल बोल्किया तथा मलेसियाली नरेश सुल्तान अब्दुल हलिम मुआदजान साह अन्त्येष्टिमा सम्मिलित हुने विदेशी उच्च पदस्थ अधिकारी छन् ।
शनिबार उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनका पुरानामित्र तथा अमेरिकाका पूर्वविदेशमन्त्री हेन्री किसिन्जर पुगेका थिए । उनीप्रति श्रद्धाञ्जलीका लागि विश्वका कयौँ नेता यसअघि नै आएका थिए ।
लीका छोरा प्रधानमन्त्री ली सिङ लुङले फेसबुकमा जनताले आफ्ना पिताप्रति देखाएको अत्यधिक सम्मान तथा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न देखाएको चाहनाले आफू हर्षित भएको उल्लेख गरेका छन् । नागरिकहरु श्रद्धाञ्जलीका लागि जाँदा सरकारलाई त्यसको व्यवस्थापन गर्न निकै नै हम्मे परेको थियो । जनतालाई लीलाई संसदमै गएर श्रद्धाञ्जली व्यक्त गर्नुभन्दा संसदबाहिरबाटै सम्मान व्यक्त गरिदिन सरकारले आग्रह गरेको थियो र यसलाई केही नागरिकले स्वीकार पनि गरेका थिए ।
ली सन् १९५९ देखि ३१ वर्षसम्म प्रधानमन्त्री भएका थिए । उक्त वर्ष बेलायतले सिंगापुरलाई स्वतन्त्रता दिएको थियो । यसपछि अर्को २० वर्षसम्म उनी मन्त्रिपरिषद्को सल्लाहकारका रूपमा रहेका थिए । लीले देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि कडा शासन सञ्चालन गरेका थिए । सिंगापुरका संस्थापक भएकाले उनलाई नागरिक राष्ट्रपिताका रुपमा सम्मान गर्ने गर्छन् । एजेन्सी
प्रतिक्रिया