चार गाविसको जग्गा राजाको नामको गुठीमा

Gyanendra-shahaगोरखाबजार, ११ चैत । गोरखा र धादिङका चारवटा गाविसको हजारौँ रोपनी जग्गा अहिलेसम्म पनि राजाको नामको गुठीमा रहेको पाइएको छ ।

तत्कालीन राजपरिवार र राजसंस्थाको नामको रहेको सम्पत्ति नेपाल ट्रष्टको नाममा नामसारी भइसकेको अवस्थामा पनि गोरखा, धादिङका विभिन्न गाउँको जग्गा राजाकै नाउँको गुठीमा रहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोरखाको थुमी–१ को सिम्ले र ८ को देउरालीको केही जग्गाबाहेक हजारौँ रोपनी जग्गा र आरुआर्बाङ गाविस–६ को आप्रिक, धादिङ जिल्लाको ज्याम्रुङ गाविसको सबै भू–भाग, कटुञ्जे गाविसको धेरैजसो भू–भाग श्री ५ को वायु गुठीनामक गुठीको नाममा रहेको स्थानीय बासिन्दा ईश्वरी लामिछानेले जानकारी दिए ।

गुठीको कर त्यहाँका स्थानीय बासिन्दाले अहिलेसम्म पनि गुठीलाई नै तिर्दै आएका छन् । श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरेकाले जग्गाको कर पनि राजगुठीलाई तिर्दै आएको लामिछानेको भनाइ छ ।

‘राजाको गुठीको जग्गा भएकाले हामीले थाहा पाएदेखि नै यहाँको कर धादिङको ज्याम्रुङमा गएर राजगुठीका प्रतिनिधिलाई नै तिर्ने गरेका छौँ’, लामिछानेले भने, ‘२०५१ सम्म ज्याम्रुङ दरबारका ठकुरीहरू घोंडा चढेर कर उठाउन आउँथे ।’

ज्याम्रुङ दरबारले कर उठाउन छाडेपछि सरकारले मालपोत कार्यालयमा गएर बुझाउने व्यवस्था गरेको थियो । तर सरकारलाई कर नतिर्नु भनेर माओवादीको उर्दी गरेपछि गाउँलेले २० वर्षदेखि कर तिर्न छाडेको उनको भनाइ छ ।

कर तिर्ने व्यवस्था बिथोलिएपछि गाउँमा घरजग्गा किनबेच गर्नसमेत समस्या भएको लामिछानेले बताए ।

सबैतिर नयाँ व्यवस्था भएकाले आफूहरूले पनि नयाँ व्यवस्था चाहेको गाउँलेको माग छ ।

प्रतिक्रिया