बुद्धीचाल खेलको विवाद छताछुल्ल

Sujendra_Prasad_Shresthaकाठमाडौं, ८ चैत । नेपाल बुद्धीचाल संघको ६ महिनाअघि भएको साधारण सभामा संघ पदाधिकारीले खेल्न र प्रतियोगिता सञ्चालन गर्न नपाउने गरी गरिएको विधान संशोधन विवादमा परेको छ ।

१२ चैतदेखि सुरू हुने एसियन थ्री प्वाइन्ट टु जोनल चेस प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा वितरित खेलाडी नामावलीमा संघ उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठले असहमति जनाएपछि विवाद सार्वजनिक रुपमा छताछुल्ल भएको हो ।

उपाध्यक्ष श्रेष्ठले आफूले खेलाडीले तीर्नुपर्ने रकम नेपाल बुद्धीचाल संघको खातामा जम्मा गरिसकेका छन् ।

सुरुमा वितरित नामावलीमा समावेश नभएका सुजेन्द्रले पत्रकार सम्मेलनमै आफूले खेल्न पाउनुपर्ने जनाएपछि सचिव हेराकाजी मर्हजनले बेलुकासम्म अन्तिम नामावली तयार हुने बताए । तथापि संघ सचिव हेराकाजी महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा सुजेन्द्रको नाम छैन ।

संघको ६ महिनाअघि भएको साधारण सभाले संघका पदाधिकारी खेल्न र प्रतियोगिता सञ्चालन गर्न नपाउने गरी विधान संशोधन गरेको थियो ।

यसका विरुद्धमा उपाध्यक्ष सुजेन्द्र र सदस्य ज्ञानेन्द्र मर्हजनले संशोधन चेस खेलको मूल्य र मान्यता अनुरुप नभएको भन्दै संशोधनमा असहमति जनाएपछि परिषद्ले संशोधन स्वीकृत गरेको छैन ।

उपाध्यक्ष श्रेष्ठ नर्वेमा भएको चेस ओलम्पियाडको समयदेखि आफूमाथि नेतृत्व षडयन्त्रकारी भएको बताउँछन् । चेस खेलको प्राबिधिक ज्ञान नभएका महासचिव एकलाल श्रेष्ठ खुल्ला तथा कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ महिला टिम क्याप्टेन बनाइएका थिए ।

उरुग्वेसंगको खेल अगाडि भएको बैठकमा केशब श्रेष्ठले आराम गर्ने सहमति भए पनि नर्वे यात्राकै क्रममा बढ्दै गएको दूरीका कारण सुजेन्द्रलाई खेलाइएको थिइएन ।

नेपालले थप एफएम पाउन सक्ने सम्भावनालाई त्यसै निर्णयले कम गरेको सुजेन्द्र बताउछन् । ‘म माथिको पूर्वाग्रही निर्णयका कारण मलाईभन्दा बढी मेरा टोलीका अन्य साथीहरु प्रभावित भए । देशले पाउनुपर्ने एफएम उपाधि म माथिको पूर्वाग्रही निर्णयका कारण गुम्यो ।’

त्यसै ओलम्पियाडको महिला समूहमा मोनालिसा खुम्बुलाई नखेलाउन संघ नेतृत्वले अघोषित सर्कुलर जारी गरेको पनि उपाध्यक्ष श्रेष्ठले बताए ।

मोनालिसालाई कुनै हालतमा नखेलाउन भनि टिम क्याप्टेन कृष्णप्रसाद श्रेष्ठलाई भनिए पनि अन्त्यमा मोनालिसाले केही खेलमा सहभागिता जनाइन् ।

चेस निकट श्रोतका अनुसार श्रेष्ठ र अर्का उपाध्यक्ष अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुको सक्रियतालाई कम गर्न नियोजित ढंगमा यो संशोधनको नाटक सचिएको हो । उपाध्यक्ष श्रेष्ठ पनि यो कुरा स्वीकार गर्छन् ।

यसैवीच, नर्वे ओलम्पियाडमा खेलाडीवापत लिइएको धरौटी रकम ओलम्पियाडपछि लगत्तै फिर्ता गर्ने बताइए पनि ओलम्पियाड सकिएको ६ महिनापछि पनि फिर्ता गरिएको छैन ।

हरके खेलाडीसँग संघले तीस हजार रुपियाँ धरौटी लिएको थियो । ओलम्पियाड खेलाडी खुम्बु र विना जैसवाल अध्ययनरत गोल्डेन गेट इन्टरनेशनल कलेजका खेलकुद विभाग प्रमुख पुरेन्द्रविक्रम लाखेले धरौटीवापत लिएको रकम फिर्ता नहुनुलाई दुःख भएको टिप्पणी गरेका छन् ।

नर्वे ओलम्पिायडमा टोली नेताको रुपमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल गएका थिए ।

प्रतिक्रिया