दमक, १ चैत । झापाको दमकमा राष्ट्रिय विभूति फाल्गुनन्द स्मृति सिटी हल निर्माण हुने भएको छ ।
दमक नगरपालिका र किरात चोत्लुङ अङ्सी माङ्गेना सेवा समितिको संयुक्त पहलमा सिटी हल निर्माण हुने भएको हो । दमक–१५ स्थित शान्ति बाल उद्यानको करिब दुई बिगाहा जग्गामा सिटी हल बनाउने सहमति भएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए ।
आगामी चैत ९ गते किरात धर्मगुरु आत्मनन्द लिङ्देनले हलको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ । करिब रु १५ करोडको लागतमा निर्माण हुने हलका लागि हुने आर्थिक लगानी भक्तजन र सरकारको सहयोगबाट जुटाइने सेवा समितिका अध्यक्ष केहेरसिंह योङ्हाङले जानकारी दिए ।
१ हजार ५०० जनाको क्षमता रहेको अत्याधुनिक प्रकारको हल दुई वर्षभित्र निर्माण भइसक्ने नगरपालिका कार्यालयले जनाएको छ ।
प्रतिक्रिया