‘प्रधानमन्त्री हिच्किचाउनुभयो, आन्दोलन रोकिन्न’

PM-dahal meeting

काठमाडौं, १ चैत । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षसँगको वार्ता सकारात्मक भए पनि शान्ति सम्झौताका सहयात्री र आन्दोलनरत दलहरूबीचको सहमतिबाट मात्र संविधान बनाउने सुनिश्चत नभएकाले आन्दोलन पनि अघि बढ्ने बताएका छन् ।

विपक्षी ३० दलीय मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहालले आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री सुशील कोइरालासँगको वार्तापछि यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भयो, म यो कुरा ३० दलीय मोर्चाको बैठकमा राख्छु,’ दाहालले भने, ‘तर, शान्ति सम्झौताका सहयात्री दलहरूबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने आश्वस्त गर्न प्रधानमन्त्री हिच्किचाउनुभएपछि मोर्चाले आन्दोलन रोकेर बस्न मिल्दैन ।’

मोर्चाले फागुन २६ गतेसम्म सहमतिका लागि केही पहल हुन्छ भन्ने आशा गरे पनि केही उपलब्धि नभएपछि ३० गतेसम्म पर्खेको उल्लेख गदै उनले शनिबारको वार्तामा पनि सत्तापक्षले सहमतिका लागि आफ्नो आधार कात्तिक १७ गतेको ९ बुँदे धारणा नै अघि सारेपछि बैठकमा तीतो वातावरण बनेको जानकारी दिए । कात्तिक १७ गते कांग्रेस र एमालेलगायत सत्तापक्षीय दलले संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा ७ प्रदेशको प्रस्तावसहित संविधानका विवादित विषयमा ९ बुँदे साझा अवधारणा प्रस्तुत गरेका थिए ।

उनले आन्दोलनका कार्यक्रम घोषणा भए पनि वार्ताबाटै सहमति खोज्ने र छिटो संविधान बनाउने प्रतिबद्धता भने कायम रहेको स्पष्ट पारे । संविधान निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले अभिव्यक्त गरेको भावना सहमति नै रहेकाले वार्ताको प्रक्रिया भने नरोकिने उनको भनाइ थियो ।

वार्तापछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री र एमाओवादी अध्यक्षबीच संविधानका विवादित विषयमा गम्भीर छलफल भएको जानकारी दिँदै वार्तालाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । ‘वार्तामा दुवै नेताले वार्ताबाटै संविधान निर्माणका विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने आधार र विश्वास बलियो बन्दै गएको विचार व्यक्त गर्नुभयो,’ प्रवक्ता बडूले भने ।

शुक्रबार र शनिबारका वार्तामा जे–जस्तो उतारचढाव आएको भए पनि प्रधानमन्त्रीले संवादबाटै सहमति कायम गर्न सकिने विश्वास व्यक्त गरेको उनले जानकारी दिए । प्रधानमन्त्रीले आपसी संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट सहमति कायम गर्न सकिने विश्वास व्यक्त गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जनाएका छन् । दाहाललाई वार्ताका क्रममा हुने उतारचढावबाट विचलित नभई संवादको प्रक्रियालाई निरन्तरता दिएर संविधान निर्माणलाई टुंगोमा पु¥याउन आग्रह गरेका विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया