हिमपहिरोमा हराएका भण्डारी अझै भेटिएनन्

jumlaजुम्ला, १ चैत । यही फागुन १८ राति परेको हिमपहिरोमा हराएका देपालगाउँ–९ का लक्ष्मी भण्डारी अहिलेसम्म पनि भेटिएका छैनन् ।

हराएका भण्डारीलगायत १३ जनाको टोली लेकमा राखिएका भेडालाई अन्नदाना दिन भनेर गएका थिए । उनीसँगै गएका अन्य चारजनामा दुईजना सामान्य उपचारपश्चात् घर फर्केका थिए भने दुईजना गम्भीर घाइते अवस्थामा फेला पारिएका थिए ।

हराएका भण्डारीको खोजी कार्यका लागि आपतकालीन प्रतिकार्यका समानसहित जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, सिद्धिबक्स गण, २४ नं. कर्णाली बाहिनी र जनपथ प्रहरी तथा स्थानीय जनताले आजसम्म लगातार खोजी गरिरहे पनि उनको अवस्थाबारे जानकारी पाउन नसकिएकोे निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले बताए ।

अहिले पनि छ फिटभन्दा पनि बढी हिउँ भएको र बेलाबेलामा मौसम प्रतिकूल हुने कारणले खोजी कार्यमा प्रभाव परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक बलराम राईले जानकारी दिए ।

प्रतिक्रिया