काठमाडौं, ३० फागुन । एकीकृत माओवादीको तर्फबाट बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि उम्मेदवार रहेका प्रवक्ता दीनानाथ शर्माले अस्वस्थताका कारण आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “अचानक स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा मलाई अत्यन्त दुःख लागेको छ । निर्वाचनमा सहभागी हुन नसकेकोमा निर्वाचनका लागि प्रेरित गर्ने मेरो पार्टी, समर्थक, शुभचिन्तक, शुभेच्छुक, आफन्तजन र बागलुङ क्षेत्र नं १ का सम्पूर्ण मतदातासामु म दुःख व्यक्त गर्दछु ।”
आफू उम्मेदवार बन्न नसके पनि एमाओवादीका तर्फबाट उम्मेदवारलाई मतदान गरी विजयी बनाउन बागलुङ क्षेत्र नं १ का सबै मतदाता सामु शर्माले अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– “निर्वाचनका लागि सम्पूर्ण तयारी सहित निर्वाचन क्षेत्रमा प्रस्थान गर्दै गर्दा बाटोमा उच्च रक्तचाप र मुटुको समस्या बढेकोले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामी शारीरिक थकानयुक्त कार्यमा सहभागी हुन नहुने चिकित्सकको सल्लाह छ ।”
आगमी चैत्र २८ गते बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचन हुन गइरहेको छ ।
प्रतिक्रिया