नेपाल बारको राष्ट्रिय सम्मेलन चितवनको टाँडीमा

Harikrishnaकाठमाडौं, ३० फागुन । नेपाल बार एसोसिएसनले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता स्वतन्त्र न्यायपालिका र आर्थिक विकासका लागि पेसागत दक्षता’ भन्ने मूल नाराका साथ तेह्रौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आगामी चैत ५ देखि ७ गतेसम्म चितवनको टाँडीमा हुने सम्मेलनमा संवैधानिक कानुन र संविधानका अन्तरवस्तु, न्यायपालिका/कानुन व्यवसाय र कानुनी सहायता, मानवअधिकार/शान्तिप्रक्रिया र महिला–बालबालिका तथा सीमान्तकृत समुदाय, फौजदारी\देवानी कानुन तथा प्रस्तावितसंहिताका विषय र सुशासन, आर्थिक विकास, वाणिज्य कानुन तथा वातावरण कानुनसहितका पाँच समूहमा विभाजित ९२ वटा कार्यपत्रमा छलफल गरी चितवन घोषणापत्र जारी गरिने छ ।

राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने सम्मेलनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसद्का प्रमुख विपक्षी दलका नेता, महान्यायाधिवक्ता, राजदूतका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहने र सम्मेलनको समापन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रीले गर्ने कार्यक्रम तय भएको महासचिव सुनिलकुमार पोखरेलले जानकारी दिए ।

सम्मेलनले संविधानसभा समक्ष लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संंविधान निर्माणका लागि ठोस अवधारणासमेत प्रस्तुत गर्ने हुँदा यसबाट विद्यमान राजनीतिक गतिरोध अन्त्य भइ नयाँ नेपाल निर्माणको सुनौलो ढोका खुलाउन कोशेढुङ्गा साबित हुने उनले बताए ।

 

प्रतिक्रिया