एमाओवादी नेतृत्व ओली निवासमा (अपडेट)

UMoist leaders in Oli house

काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेतृत्व शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे । दुई दलका शीर्ष नेता सम्मिलित बालकोट बैठकमा प्रदेशको संख्या र नामकरणमा मतभेद कायमै देखिएको छ ।

एमालेले ६ प्रदेश र एमाओवादीले ९ प्रदेशको प्रस्ताव गरी त्यसको औचित्यबारे धारणा राख्ने काम भएको एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले जानकारी दिएका छन् ।

सत्तापक्ष र प्र्रतिपक्ष संविधान निर्माण प्रक्रियामा दुई धु्रवमा विभाजित भएपछि एमाओवादी कांग्रेसभन्दा एमाले नेतृत्वप्र्रति आक्रामक देखिएको थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालासँग पटक–पटक भेटवार्तामा बसे पनि एमाओवादी एमाले नेतृत्वसँग टाढै थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै माधवकुमार नेपाल पनि पार्टी नेतृत्वमा सहमति जुटाउन समस्या भएको बताउँदै आएका थिए ।

प्रधानमन्त्री कोइरालासहित कांग्रेस नेताहरूसँग बिहीबार साँझ भेटवार्ता एमाओवादी नेतृत्व शुक्रबार बालकोट पुगेको हो । वार्तामा एमाओवादीबाट अध्यक्ष दाहालका साथै नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ अनि एमालेबाट अध्यक्ष ओलीसहित उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारीलगायत सहभागी थिए । बैठकपछि एमाओवादी महासचिव कृष्णबहादुर महराले सहमतिमा चाँडो संविधान ल्याउनुपर्छ भन्नेमा सैद्धान्तिक छलफल भएको जानकारी दिए । भने, ‘सैद्धान्तिक कुराकानी भयो, विषयवस्तुमा केन्द्रित रहेर पुनः छलफल हुनेछ ।’

कांग्रेस–एमाले दुई दलको बैठकले बिहीबार मात्रै विपक्षी ३० दलीय मोर्चासँग वार्ताका लागि साझा अवधारणा तय गरी निर्णायक वार्ता गर्ने निर्णय गरेका थिए । विपक्षी मोर्चाले पनि यसअघि नै सहमतिका लागि फागुन ३० गतेसम्म मात्र पर्खने निर्णय गरिसकेको छ । प्रमुख दलहरूबीच शनिबारदेखि सघन वार्ता हुँदै छ ।

प्रतिक्रिया