काठमाडौं, २७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बीउका लागि राखेको विषाक्त गहूँ पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ पीडाका सञ्जबहादुर तामाङको परिवारका बाँकी सदस्यहरूलाई राहत र बिरामी परेका व्यक्तिहरूको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयबाट आज प्रकाशित विज्ञप्तिका अनुसार उनले कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले यस घटनाका सन्दर्भमा आज दिएको ज्ञापनपत्र बुझ्दै सो वचन दिएका हुन् ।
ज्ञापनपत्रमा यस घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग र बिरामीको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्नेसहित विषादीका बारेमा आमजनतालाई सही जानकारी दिने व्यवस्था गर्न माग गरिएको छ ।
प्रधानमन्त्री कोइरालाले बडो दुःखद घटना भएको उल्लेख गर्दै भने, “कांग्रेस पार्टी सभापति र सरकार प्रमुखका रूपमा पीडितलाई सक्दो सहयोग गर्नेछु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।” उनले प्रश्न गर्दैैै भने, “यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ?”
बीउका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा धादिङ पिँडा गाविस चिउरीभञ्ज्याङका सञ्जबहादुर तामाङको परिवारका ६ सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदोको पीठोबाट बनाएको रोटी खाँदा थप ४१ बिरामी परेका छन् ।
प्रतिक्रिया