चितवनका थप चार जनामा स्वाइन फ्लु

चितवन, २७ फागुन । चितवनमा थप चार जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार पछिल्लो परीक्षण प्रतिवदेनमा थप चार जनालाई स्वाइन फ्लु अर्थात् इन्फ्लुएन्जा ‘ए एचवान एनवान’ संक्रमण पुष्टि भएको छ । यसअघि ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो ।

यहाँ उपचार गराएकामध्ये स्वाइन फ्लु लाग्नेको संख्या १० पुगेको छ । १० मध्ये दुई नवलपरासी र एक गोर्खाबाट चितवनमा उपचारका लागि आएका बिरामी भए पनि अरू सबै चितवनका नै हुन्, जसमा आठ महिला रहेको कीट नियन्त्रण निरीक्षक केसीले बताए । अहिलेसम्म जिल्लाका बिरामीमध्ये १२६ को परीक्षणमा १० मा फ्लु पुष्टि भएको र अझै केहीको रिपोर्ट भने आउन बाँकी छ ।

भरतपुर अस्पतालका चिकित्सक डा प्रकाश खतिवडाले जोखिम कम भए पनि उच्च सतर्कता भने अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले हात नमिलाउने, भीडभाडमा नजाने, हात जथाभावी मुखमा नलैजाने र मास्क लगाएर हिँड्ने गर्नाले यो रोगबाट बच्ने बताए।

रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्नेलगायत लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ । चितवन मेडिकल सिटीका रुपमा विकास भइरहेको र हरेक जिल्लाका मानिसको बसोबास रहेकाले तथा पर्यटकको समेत चहलपहल हुने जिल्ला भएकाले पनि संक्रमणको खतरा हुन्छ ।

प्रतिक्रिया