‘तेल चोर’ पक्राउ

काठमाडौ, २९ बैशाख । डिजल चोरीमा संलग्न रहेको अभियोग फरार रहेका बुटबलका एक व्यवसायी काठमाडांैबाट पक्राउ परेका छन् । बुटवल प्रहरीको खोजीमा रहेका हरिबहादुर कुवँर काठमाडौं बनस्थलीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई सोमबारै बुटवल लगिएको छ ।
उनीसहित १६ व्यवसायीलाई तेल चोरीमा संलग्न रहेको अभियोग लगाइ बुटवल प्रहरीले डेढ साताअघि नै पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएलगत्तै कुँवरसहितका केही व्यक्ति फरार थिए । प्रहरीले उनीहरुको ब्यापक खोजी गरिरहेको थियो । तेल चोरीको अभियोगमा रुपन्देही प्रहरीले पुर्जी जारी गरेपछि त्यसबाट जोगिन उनीहरुले राजनैतिक रुपमा विभिन्न हतकण्डा प्रयोग गरेको समेत प्रहरीको दाबी छ ।
तेल चोरीको अभियोगमा नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ समेतलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी पनि हालसम्म फरार रहेको प्रहरीको दाबी छ । रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले रुपन्देहीका तेल बोक्ने ट्यांकरको अनुगमन गर्दा तेल चोर्दै गरेको अवस्थामा १९ ट्यांकर पक्राउ परेका थिए । प्रहरीले १९ ट्यांकरका १६ व्यवसायीलाई कारबाहीका लागि खोजी गरिरहेको छ ।

प्रतिक्रिया