तीन दलको बैठक निशकर्षहीन

काठमाडौं, २९ वैशाख । विभिन्न विषयमा सहमति जुटाउन सोमबार बिहान बसेको प्रमुख तीन दलको बैठकले कुनै निकास दिन सकेन । कांग्रेस, एमाले र एमाओवादीबीच सोमबार बसेको बैठकमा सहमतिको प्रयास भए पनि कुरा मिल्न सकेन ।
२६ सभासद्को मनोनयन, न्यायाधीश नियुक्ति र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनलगायत विषयमा तीन दलबीच छलफल भएको थियो । लामो समयपछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमाओवादी बीचको बैठक बसे पनि कुनै पनि विषयमा सहमति हुन नसकको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा २६ सभासद्को तीन दलबीच गरिने भागबण्डामा कुरा नमिलेको बताइएको छ । दलीय भागबण्डामा कुरा नमिलेपछि साझा रुपमा सभासद् मनोनित गर्ने विषयमा छलफल भए पनि त्यसमा पनि दलहरुको कुरा मिल्न सकेन ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, महामन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं अर्थमन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य एवं कानुनमन्त्री नरहरि आचार्य सहभागी थिए । एमालेतर्फबाट वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागी थिए ।
कांग्रेसले न्यायाधीश नियुक्तिमा सहयोग गर्न दुई दललाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । न्याय परिषद्ले विवादित छवीका व्यक्ति र कनिष्ठलाईसमेत न्यायाधीश नियुक्तिमा सिफारिस गरेको आरोप छ । बैठकमा संविधानसभामा गठन गर्न बाँकी रहेका २६ सभासद् नियुक्त गर्ने, विगतमा प्रमुख तीन दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने र संवैधानिक निकाय एवं राजदूत नियुक्त गर्ने विषयमासमेत प्रारम्भिक छलफल भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार सोमबारको बैठकमा प्रारम्भिक छलफल मात्र भएकाले मंगलबार बस्ने बैठकमा कार्यसूचीअनुसार छलफल गरी निर्णयमा पुगिने छ । तीन दलको बैठक मंगलबार पुन: बस्ने बताइएको छ ।

प्रतिक्रिया