संस्थागत गर्न बाँकी लोकतन्त्र

आज लोकतन्त्र दिवश । २०६२/०६३ को जनआन्दोलबाट प्राप्त उपलब्धिमध्यको सबैभन्दा उत्तम उपलब्धि । यसै उपलब्धिले नेपाली जनतालाई गणतन्त्रसमेत दिएको छ । राजतन्त्र समाप्त भएपछि राजनीतिक रुपमा नेपाली जनता सबै कुराले सम्पन्न भए । आर्थिक, सामाजिक, भौतिक र अन्य क्षेत्रमा खासै प्रगति नभए पनि लोकतन्त्र साथै गणतन्त्र प्राप्त गर्नु भनेको ठूलो उपलब्धि हो । यही लोकतन्त्रले संविधानसभाको निर्माण गर्ने सहयोग पुर्‍यायो भने सार्वभौम सत्ता जनतालाई सुम्पियो । यसकै सेरोफेरोमा रहेर धेरै प्रकारका निर्णयहरू भए । जसलाई नेपाली जनताको उपलब्धि भन्न सकिन्छ । नेपाली जनताले लोकतान्त्रिक अभ्यास सुरु गरेको सात वर्ष पूरा भयो । यसबीचमा संविधानसभाको निर्वाचन पनि दुई पटक सम्पन्न भइसकेको छ । दोस्रो निर्वाचनपछि संविधान बन्नेमा सबै क्षेत्र ढुक्क बनेको अवस्था छ । सम्बन्धित सबै क्षेत्र, पक्ष र सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने निश्चित रुपमा संविधान बन्छ । यसमा शंकाको कुनै गुन्जायस छैन । तर, राजनीतिक नेतृत्वमा इच्छाशक्ति र जाँगर भने हुनै पर्छ ।
विश्वमा स्थापित राजनीतिक पद्धतिहरूमध्य लोकतन्त्रलाई उत्कृष्ट मानिएको छ । यो पद्धतिबाहेक अर्को विकल्प खोज्ने परिस्थिति पनि अहिले बनेको छैन । कसैको अधिनस्त नरहेको र स्वतन्त्र भएर रहन सफल नेपाल भूमिमा २४० वर्ष शाह वंशीय राजाहरूले शासन गरे । त्यसबीचमा नेपाली जनताले जहानियाँ राणा शासन पनि भोगे । अहिले हामी स्वतन्त्र भएका छौं । तर, स्वतन्त्रता नै सबै कुरा होइन र राजनीतिक परिवर्तनले मात्र मुलुक सम्पन्न बनाउँदैन । यसका लागि औद्योगिक र आर्थिक क्रन्तिको खाँचो पर्छ । जुन कुरा अहिले नेपाली जनताले प्राप्त गर्न सकेका छैनन् । अब, सबै राजनीतिक दलका शीर्ष नेताले यो लोकतन्त्र दिवशमा जनतालाई संविधान दिने र आर्थिक क्रान्ति सम्पन्न गर्ने प्रण गर्नुपर्छ । यदि यी दुई वस्तु प्राप्त भएमा नेपाली जनताको भविष्य समुन्नत बन्ने छ । लोकतन्त्र एउटा माध्यम मात्र हो । यसभित्र रहेर समग्र राष्ट्रको विकास गर्न नसक्ने हो भने लोकतन्त्रको अर्थ रहँदैन । तसर्थ सबै पक्ष र क्षेत्रले लोकतन्त्रलाई समुन्नत र दिगो राख्न आ–आफनो ठाउँबाट योगदान पुर्‍याउनै पर्छ । यसले मात्र नेपाली जनताको मुहार हसिलो बनाउने छ ।
विभिन्न जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत, दिगो र विकसित बनाउन बाँकी छ । २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को जनविद्रोहले नेपाली जनतालाई राजनीतिक उपलब्धि भएको छ । तर, के विर्सन हुँदैन भने यदि उपलब्धि संस्थागत भएन भने २००७ र २०४६ सालको उपलब्धि गुनेजस्तै यो उपलब्धि पनि गुम्न सक्छ । यसको मतलब के हो भने प्राप्त गर्नु मात्र ठूलो कुरा होइन उपलब्धिलाई जोगाएर राख्नु अझ चुनौतिपूर्ण विषय हो । तसर्थ पहिलो शर्त प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र यसलाई कसैले हरण गर्न नसक्ने रुपमा स्थापित गर्नुपर्छ । हामीसँग प्रचुर सम्भावनाहरू छन् । यसमध्य सबै खालका अवरोध हटाएर गर्नुपर्ने कार्य छन् । तिनको वर्गीकरण गरेर अगाडि बढ्नु जरुरी छ । अहिलेको पहिलो काम संविधान र राष्ट्र विकास हो । यसतर्फ सबैले ध्यान दिनुपर्छ । हामी अलमलिने हो भने लक्ष्यमा पुग्न सकिँदैन । आज लोकतन्त्र दिवशका दिन सबैले प्रण गरौं र लोकतन्त्रलाई सफल बनाऔं ।

प्रतिक्रिया