खोटाङ, १० बैशाख । विद्युतको क्षमता कम भएपछि खोटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल आउने बिरामीको एक्स–रे गर्न रात कुर्नुपर्ने अवस्था छ ।
एउटै ट्रान्सफरमरबाट धेरै क्षेत्रमा विद्युत बिस्तार गरिएकाले यस्तो समस्या आएको हो । जिल्लाका एक मात्र अस्पतालमा पनि एक्स–रे गर्न रात कुर्नुपर्ने अवस्था आएपछि बिरामीहरुलाई सास्ती भएको छ । विद्युत भोल्टेज कम भएका कारण अस्पतालमा आउने बिरामीहरुको एक्स–रे गर्नुपरेमा रात कुर्नुपर्ने अवस्था आएकाले उपचारमा समस्या भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झा बताउँछन । झाले भने, ‘अस्पतालमा ल्याइएको विद्युतले दिउँसोको समयमा कम्प्युटर समेत खुल्दैन, यसबारे सम्बन्धित निकायमा पटक–पटक माग गरियो कुनै सुनुवाई भएन ।’
डाक्टर झाका अनुसार अस्पतालमा २५ देखि ५० केभीको ट्रान्सफरमर राख्न सकेमा मात्र सजिलो हुन्छ । अस्पताल श्रोतका अनुसार विद्युत भोल्ट्रेजकै कारण दुई वर्षदेखि यस्तो समस्या झेल्नु परेको हो ।
जिल्ला अस्पताल खोटाङमा दैनिक १५ देखि २० जनाको हाराहारीमा एक्स–रे गर्न विरामी आउने गरेका छन् । कतिपय चर्को शुल्क तिरेर निजी क्लिनिकहरुमा एक्स–रे गर्न बाध्य छन् ।
बिरामीका अफन्तहरु भन्छन्, ‘एक्स–रे गर्नकै लागि हेलिकोप्टर समेत चार्टर गर्नुपर्ने बाध्यता छ, यसमा कसैको ध्यान जान सकेन ।’ एमाले जिल्ला सचिवालय सदस्य कुमार आचार्यले भने, ‘केही दिन अघि कार्यकर्ता लडेर घाइते बनेपछि तीन चोटीसम्म एक्स–रे गर्न अस्पताल लगियो, अन्तत: भोल्ट्रेजकै कारण एक्स–रे भएन ।’ जिल्ला अस्पतालमा कुनै सीप नलागेपछि काठमाडौं लगेर एक्स–रे गर्नु परेको उनले बताए ।
अस्पतालमा बिस्तार गरिएको विद्युत ट्रान्सफरमरबाट दोर्पा, निर्मलीडाँडा, बाँझेच्यानडाँडालगायत गाविस तथा अस्पताल वरपरका गाउँमा समेत बिस्तार गरिएको छ । धेरै क्षेत्रमा विद्युत बिस्तार गरिएकाले गाउँमा समेत बत्ती नबल्ने त्यहाँको उपभोक्ताको भनाइ छ ।
यसबारे कार्यालयमा ट्रान्सफरमर नभएकै कारण दिन नसकिएको विद्युत प्राधिकरण शाखा कार्यालय खोटाङका प्रमुख ध्रुबकुमार बिसीले बताए । बिसिका भने, ‘अस्पतालबाट माग आएकै हो, दुई वर्षदेखि कार्यालयमा ट्रान्सफरमर आएको छैन, आउना साथ दिने तयारी गरेका छौं ।’
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले विद्युतको व्यवस्था गर्ने जिम्मा आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । ‘सिडिओले विद्युत दिने हैन, तर पनि सम्बन्धित निकायमा पहल भइरहेको छ ।’ प्रजिअले थपे ।
२०४४ सालमा स्थापना भएको अस्पतालमा हाल १५ शैया मात्र छ । दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ ।
प्रतिक्रिया