केजरीवालको अर्को शब्द बाण

kajeriwal copyनयाँदिल्ली, १० बैशाख । भारतमा भ्रष्टाचार नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएका अरविन्द केजरीवालले बुधबार भारतको वर्तमान निर्वाचनको प्रचार अभियानमा प्रतिद्वन्द्वीहरूले दसौँ लाख अमेरिकी डलरका लागि आफूलाई ठूलो व्यापारिक समुदायलाई बेचेको आरोप लगाएका छन् ।
अग्रस्थानमा देखिएका नरेन्द्र मोदीविरुद्ध निर्वाचनमा भाग लिन वाराणसीमा पुगेका केजरीवालले हालको निर्वाचनमा प्रजातन्त्र दाउमा राखिएको बताए ।
आम आदमी पार्टीका नेता केजरीवालले उक्त धार्मिक नगरमा गङ्गा नदीको किनारामा आफ्ना समर्थकहरुलाई जनताले कस्तो प्रकारको प्रजातन्त्र चाहेको हो ?  निर्णय गर्नुपर्ने बताए । उनले जनताले आफ्नो छिमेकी, सडक र गाउँको प्रजातन्त्र चाहेको वा हेलिकप्टर प्रजातन्त्र चाहेको स्पष्ट पार्नुपर्ने बताए । मोदी आफ्नो उम्मेदवारी दर्ता गर्न बिहीबार  हेलिकप्टरबाट त्यहाँ पुग्ने कार्यक्रम छ । सत्ताधारी कांग्रेसका प्रमुख उम्मेदवार राहुल गान्धी पनि त्यस्तै खर्चालु रहेका छन् ।
मोदीको भारतीय जनता पार्टी र राहुलको कांग्रेसले छ साता लामो निर्वाचनमा प्रमुख रेडियो, टेलिभिजन, तथा प्रमुख पत्रपत्रिकामा प्रथम पृष्ठमा विज्ञापन दिन निकै ठूलो धनराशी खर्च गरेका छन् । भारतमा यी कुराको औपचारिक तथ्याङ्क नभए पनि केजरीवालका अनुसार यी दलले यस निर्वाचनमा विज्ञापनमा दुई अर्ब ५० करोड अमेरिकी डलर खर्च गरेको दाबी गरेका छन् ।
केजरीवालले टिभी तथा विज्ञापन बोर्डमा राजनीतिक विज्ञापन देखिने गरेको बताउँदै यसको स्रोत खोजी हुनु पर्ने बताए । निर्वाचनमा रकम सहयोग गर्नेले  निर्वाचनपछि त्योभन्दा बढी रकम माग गर्ने र त्यो रकम जनताको खल्तीबाट जाने बताए । उनले यस प्रकारको प्रजातन्त्रको अन्त्य गर्नुपर्ने र जनताको शासन स्थापना गर्नुपर्ने कुरामा जोड दिए ।
पूर्वकर निरीक्षक केजरीवालले डिसेम्बर महिनामा दिल्लीको मुख्यमन्त्री भएर भारतको राजनीतिलाई स्तब्ध पारिदिएका थिए । उनले भ्रष्टाचारबाट क्रुद्ध भएका जनताको मत पाएका थिए ।
उनले ४९ दिनमै राजिनामा दिएपछि लोकप्रियता घटेको अनुमान छ । केजरीवालले यस निर्वाचनमा विजय हासिल गर्ने सम्भावना कम रहेको अनुमान विश्लेषकले गरेका छन् । भारतमा यस निर्वाचनलाई उच्च तहको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

प्रतिक्रिया