काठमाडौ, १० बैशाख । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नागरिकता प्राप्त गर्न योग्य नागरिकलाई नागरिकता लिन र दिन कुनै प्रकारका समस्या नभएको बताएका छन् । उनले भने, ‘नागरिकताका विषयमा अनावश्यक राजनीतिक गर्ने र अन्य खेती गर्नेहरूले मात्र नागरिकता लिन र दिन समस्या भएको भ्रम फिजाइरहेका छन्, यसमा सत्यता छैन ।’
महिला, कानुन र विकास मञ्चद्वारा प्रकाशित ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्ति’ नामक पुस्तकको बुधबार सार्वजनिक गर्दै गृहमन्त्री गौतमले जातीय र धार्मिक आधारमा नागरिकता लिन र दिनमा विभेद नभएको स्पष्ट पारे ।
गृहमन्त्री गौतमले नागरिकता वितरणमा सरकारले समय समयमा राष्ट्रिय अभियान सञ्चालन गरिरहेको चर्चा गर्दै नागरिकताको विषयलाई धेरै नउचाल्न र विवादमा नल्याउन आग्रह गरे । नेपाली नागरिकलाई जन्मिने बित्तिकै परिचयपत्र वितरण गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने तयारीमा सरकार रहेको उनले जानकारी दिए । नागरिकताका विषयमा देशका १२ जिल्लामा गरिएको घरपरिवार सर्वेक्षणलाई समाविष्ट गरी तयार पारिएको सो पुस्तकले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न असमानता रहेको जनाएको छ ।
करिब २० हजार व्यक्तिलाई नागरिकताका विषयमा सो सर्वेक्षणमा समावेश गरिएको थियो ।
प्रतिक्रिया