काठमाडौं, बैशाख ५ । नेकपा एमालेको नवौं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूबीचको ध्रुबीकरण तीब्र भएको छ । यसैक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य गोकर्ण विष्टसहित पत्रकारका माझ उपस्थित भए । पार्टीको नवौं महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका नेता नेपालले पाण्डे र विष्टलाई साथमै लिएर पत्रकारहरू माझ उपस्थित भएका थिए । छलफलमै क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा नेता नेपालले आफ्नो टिममा पाण्डे र विष्टसँगै युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाललगायत उर्जाशील र सक्षम नेताहरू रहेको बताए । नेता नेपालले आफ्नो टिमका बारेमा उपयक्त समयमा जानकारी गराउनेसमेत बताए ।
नेता नेपालले नवौं महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तान्तरण गर्ने भए नेतृत्वमा रहेको सबै सेट नै परिवर्तन गर्नुपर्ने बताए । पार्टी नेतृत्वमा नयाँ पुस्ता आउनुपर्ने भन्दै उनले त्यो नयाँ पुस्ताको नेतृत्व आफूले गर्ने बताए । अध्यक्षका अर्का आकांक्षी केपीलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नमा नेता नेपालले कसैलाई प्रधानमन्त्री, कसैलाई राष्ट्रपति बनाउन सकिने बताए ।
आफूलाई सल्लाहकार कमिटीको अध्यक्ष बनाउने भन्दै केही दिनअघि आएको टिप्पणीलाई जोड्दै नेता नेपालले भने, ‘बढी बोल्नेलाई बकबक कमिटीको अध्यक्ष बनाउन सकिन्छ । जेष्ठ नागरिक कमिटीको अध्यक्ष पनि बनाउन सकिन्छ ।’
पार्टीमा नेतृत्व हस्तान्तरणको प्रसंग उठेकोप्रति संकेत गर्दै नेता नेपालले यसपटक यसलाई, अर्कोपटक अर्कैलाई नभनेर तोक्ने प्राइभेट लिमिटेड कम्पनी नभएको बताए । भागबण्डाले पार्टी नचल्ने भन्दै उनले योग्य सक्षम, गतिशील र भिजनरी नेतृत्व अगाडि सार्नुपर्ने बताए । ‘एमाले बलियो भए देश बलियो हुन्छ, त्यसका लागि एमालेले सक्षम र योग्य नेतृत्व छान्नुपर्छ ।’ नेता नेपालको भनाइ थियो ।
नेता नेपालले अध्यारा कोठाहरूमा बसेर भावी नेतृत्व लिन षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाए । भागबण्डाका आधारमा नभई कार्यकर्ताले विचार, राजनीतिक प्रष्टता र क्षमताका आधारमा नेतृत्व छान्ने नेपालको भनाइ थियो । (सौस)
प्रतिक्रिया