रिक्सा चलाएर उदाहरण बन्दै रामपति

riksaधनगढी, २६ चैत । कैलाली जिल्लाको चौमला गाविस वडा नं. ७ राजीपुरकी रामपति चौधरी धनगढी बजारमा रिक्सा चलाएर सबैको नजरमा उदाहरणको रुपमा चिनिन थालेकी छिन् ।
सानै उमेरदेखि मजदुरी गरी घर परिवार चलाउँदै आएकी रामपति १४ वर्षकै उमेरमा विवाह गरेको बताउँछिन् । उनले विवाह भएदेखि नै विभिन्न पेशा गरी परिवार चलाएको बताइन् ।
रामपति भन्छिन्, ‘बाल बच्चा हुर्काउन पढाउन काम त गर्नै पर्छ, त्यसैले मेरो लागि कुनै काम ठूलो वा सानो हुँदैन, आई परेको र गर्न सक्ने जस्तो सुकै काम पनि गर्न तयार छु,’ उनले थपिन्, ‘म ६ वर्ष अगाडिदेखि नै रिक्सा चलाउँछु तर विभिन्न कारण बस निरन्तरता दिन सकिराखेको छैन् ।’
उनी भन्छिन्, ‘रिक्सा चलाउन महिलाको लागि आफैमा चुनौतीपुर्ण छ । तर पनि म चलाउँदै आएको छु । कहिले काँही पुरुषहरु बसेर मलाई जिस्काउने गर्दछन् । महिला भएर पनि रिक्सा चलाउने, कोही ए रिक्सा गौरी फन्टा जाउँ भन्दै जिस्काउँछन् त कोही रिक्सामा बसेर पनि भाडा दिन मान्दैनन् ।’ यस्ता विभिन्न समस्याहरु आइपरेको कारण रिक्सा चलाउनमा निरन्तरता दिन कठिनाई भइरहेको उनी बताउँछिन् ।’
उनले रिक्सा चलाउँदा बजारमा हिड्ने ट्यापे (लागु पदार्थ सेवन गरेका) केटाहरु अश्लिल शब्दहरु प्रयोग गरि जिस्काउने गरेको उनी बताउँछिन् । जसको कारण ६ वर्षको अन्तरमा ४ जना केटासंँग कुटाकुट भएको पनि उनले बताइन् । चार छोरा, छोरीलाई पढाउन हुर्काउन रिक्सा चलाएर मात्र नपुग्ने भएकोले अरु काम पनि गर्दै आएको उनी बताउँछिन् ।
उनले साँझ विहान एक पहाडीको घरमा भाडाँ माझे बाफत मासिक २ हजार लिने गरेको बताउँदै दिउँसो कहिले काही अरुको सामान पनि ओसार पोसार गर्ने गरेको बताइन् । भाडाँ धुन जाने बेला रिक्सा सवारी लिएर जाने र फर्किने बेला पनि सवारी लिएर नै फर्किने गरेको उनी बताउँछिन् । रामपति भन्छिन्, ‘राम्रो सवारी भए बसाल्छु, नभई बसाल्दिन । त्यो भन्दा राम्रो त सामान ओसार्न हुन्छ,’ उनले भनिन्, ‘महिला सवारी भए नियम अनुसार पैसा पाइन्छ, पुरुषलाई बसालेपछि अलि किच किच गर्छन् । त्यसैले बालुवा, सिमेन्टलगायत अन्य सामान ओसार्नमा फाइदा भएकोले दिन भरी प्राय सामान नै ओसार्ने काम गर्ने उनले बताइन् ।
धनगढी नगरपालिकामा २०६९ असार १ गते देखि २०७० चैत २५ गते सम्म १३ सय ५२ रिक्सा दर्ता भएको धनगढी नगरपालिकाको तथ्यांक भए पनि रिक्सा चलाउन सबै पुरुष नै रहेको छ । तर कैलाली जिल्लामा महिला रिक्सा चालक एक्लै भएको रामपतिले दाबी गर्छिन् । उनी हाल पुरानो ऐरपोट मुक्त कमैया शिविरमा रातो कार्ड लिए बस्दै आएकी छिन् ।

प्रतिक्रिया