थप दुई प्राध्यापक निलम्बनमा

काठमाडौं २६ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको छानविनका क्रममा पूर्वान्चल विश्व विद्यालयका थप दुई प्राध्यापकलाई बुधबार निलम्बन गरेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै अख्तियारले बुधबार पूर्वाञ्चल विश्वविद्ययालय, कला तथा मानविकी संकायका डिन डा. शम्भुप्रसाद कोइराला र सोही विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका सहडिन राजेश झालाई निलम्बर गरेको हो ।
आयोगबाट हाल अनुसन्धान भइरहेकाले उनीहरूमाथिसमेत अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बरका लागि विश्वविद्यालयलाई पत्र पठाइएको अख्तियारले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उहाँमाथि समेत अनुसन्धान गर्नु बान्छनीय देखिएको र निजहरू हाल पदमा बहाल रहिरहँदा आफ्नाविरुद्धका प्रमाण लोप वा नास गर्न सक्ने सम्भावना रहेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम निजहरूलाई निलम्बन गरी यस आयोगमा उपस्थित गराइदिन पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, मोरङलाई लेखी पठाइएको छ ।’
यसअघि पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीविरुद्ध परेको करोडौं भ्रष्टाचारको उजुरीउपर कारबाही गर्दै आयोगले उपकुलपति डा. महेश्वरमान श्रेष्ठसहित चार पदाधिकारीलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो । अख्तियारले रजिष्ट्रार डा. निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत र लेखा प्रमुख लक्ष्मण गेलाल संलग्न रहेको भन्दै निलम्बन गर्न यस अघि नै सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया