खानी र पानी देश विकासको आधार

gopal_khanal copyआसन्न उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभामा एशोसियट तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् गोपाल खनाल । युवा व्यवसायी खनाल शैक्षिक र बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सबैसँग सहज रुपमा प्रस्तुत हुन्छन् व्यवसायी खनाल । खनालका अनुसार व्यवसायीका समस्या समाधान गर्न राज्य इमान्दार हुनु पर्छ । ब्यवसायीको समस्या समाधान गर्न राज्यले उचित भूमिका नखेलेको गुनासो पनि खनालको छ । उनको भनाईलाई आधार मान्ने हो भने राज्यको नीति प्रष्ट र व्यवहारिक नभएकाले निजी क्षेत्रको विकास हुन नसकेको हो । विकासका सम्भावनाहरु त्यसै खेर गइरहेकोमा पनि खनाल चिन्तित छन् । यसै साता हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा विजयी हुनेमा ढुक्क भएका खनालसँग ब्यवसायिक प्रसंग र आसन्न निर्वाचनका बारेमा सौर्य दैनिकले गरेको कुराकानी खनालकै शब्दमा :
यति बेला देशका सम्पूर्ण उद्योगी व्यवसायी निर्वाचनमा होमिएका छन् । म तिनै उद्योगी व्यवसायीको प्रतिनिधि बन्नका लागि निर्वाचन लड्दै छु । अहिलेसम्म उद्योग वाणिज्य महासंघमा देखिएको कमी–कमजोरीलाई सुधारेर ब्यवसायिक हितमा केहि गर्न सकिन्छ कि भन्ने सोचको साथ अगाडि बडेको हुँ । विगत लामो समय काम गरेका अग्रजहरुसँग मिलेर काम गर्ने उद्देश्य छ । आफूसँग भएको क्षमता र सिपलाई संस्था र व्यवसायीको हितमा लगाउने प्रतिवद्धताको साथ निर्वाचनमा उठेको हुँ । कुनै पनि ठाउँमा एकल नेतृत्वप्रति म विश्वास गर्दिनँ । सामूहिक नेतृत्व हुनु पर्छ भन्ने मेरो मान्यता हो । सामूहिकतामा धेरैको सोच विचार र लगानी हुन्छ यसले संस्था बलियो हुन्छ ।
महासंघको निर्वाचन नजिकिदै गर्दा कैयौं साथीहरूमा निवार्चन जिते यो गर्छु उ गर्छु भन्ने होड चलेको छ । निर्वाचनमा गरिने प्रतिवद्धता गर्न सकिने मात्र हुनु पर्छ । म यदि महासंघको नेतृत्वमा गए भने– पहिलेको साथीहरुले गरेको राम्रा र उपयुक्त कामलाई निरन्तरता दिने र समयअनुसार नयाँ काम गर्दै जान भूमिका खेल्ने छु । सबै कुरा भनेर मात्र हुँदैन । भइरहेका सबै काममा आमुल परिवर्तन गर्न सकिदैन । त्यो संभव पनि छैन । समयले ल्याएको आवश्यकता र परिवर्तनअनुसार व्यवसायमा सुधार गरेर जानु पर्छ । जसले व्यवसाय र राज्यलाई सहयोग पुर्‍याउने छ ।
केहि वर्ष पहिलासम्म उद्ययोग वाणिज्य महासंघमा केहि घराना व्यक्तिहरुको मात्र पहुँच हुन्थ्यो । अहिले आएर त्यो परम्परागत सोचाइ तोड्ने प्रयास हुँदैछ । अहिले पनि महासंघभित्र कैयौं वास्तविक ब्यवसायीहरु संगठित भएका छैनन् । व्यवसाय गर्ने सबैलाई संस्थामा संगठित गर्नु जरुरी छ । देशभरी रहेका वास्तविक व्यवसायीहरुलाई महासंघमा ल्याउनु पर्छ । यो सबैको साझा संस्था हो र व्यवसायिक हितमा यो सस्था लाग्छ भने कुराको अनुभूति सबैलाई गराउनु पर्छ । भाषणमा सबैको साझा सस्था भन्ने व्यवहारमा लागु नहुने परमपराको अन्त्य गर्नुपर्छ ।
सबै व्यवसायीको हितमा संस्थाले सबैका समस्या र गुनासोको सम्बोधन गर्नु पर्छ । यहाँसम्म आउँदा महासंघले लामो समय पार गरिसकेको छ । धेरै अग्रजहरुले आफ्ना महत्वपूर्ण समय यसमा लगाउनु भएको छ । अब नयाँसोच, बिचार र जाँगर भएका युवाहरुलाई पनि काम गर्ने मौका दिनु पर्छ । महासंघले समय क्रममा केहि गर्ने प्रयास गरेको छ । अझै गर्नु पर्ने धेरै छ । आउने नेतृत्वले त्यसबारेमा सोच्ने छ भन्ने मलाई लागेको छ ।
महासंघको नेतृत्वमा पुग्ने जो कोहिले पनि आफ्नो लागि मात्र होइन देशका सम्पूर्ण उद्योग व्यवसायीको हितमा काम गर्नु पर्छ । जो आए पनि आउने ब्यक्ति सबै उद्ययोगीको नेता ठहरीने छ । पदका लागि भन्दा पनि काममा लागि जिताउने हुन सदस्यहरुले । अहिले देखिएका पदाधिकारी देखि सदस्यसम्मका उमेदवार हरेकको आ–आफ्नै अनुभव र क्षमता छ । त्यो क्षतालाई महासंघको घेराभित्र रहेर काम गर्नु पर्छ । म शिक्षा र बैंकिङ क्षेत्रमा काम गरेको अनुभव लिएर आएको व्यक्ति हुँ । नेपालको वर्तमान शिक्षा क्षेत्रको कुरा गर्ने हो भने अव्यवहारिक र अनुत्पादक छ । राज्यले शिक्षामा वर्षेनि साठ्ठि–सत्तरी अर्व खर्च गर्छ । तर, राज्यको त्यति ठूलो लगानी रहेको शिक्षाले विद्यार्थीलाई साक्षर बनाउनेबाहेक केहि गरेको छैन । प्रतिस्पर्धात्मक र समयअनुकुल प्राविधिक शिक्षा राज्यले दिन सकेको छैन । सरकारको अर्बौं लगानीको छेउमा बसेर अनेकौं दु:खले खुलेका निजी शैक्षिक संस्थाले राम्रो र समय अनुकुल उत्पादक शिक्षा दिँदै छ । यदि राज्यले निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थालाई बढावा दिने हो भने धेरै गर्न सकिन्छ । राज्यले शिक्षामा लगानी गरिरहेको रकम देशको अन्य विकासमा लगानी गर्ने हो भने देश विकासमा ठूलो टेवा पुग्ने छ । त्यस्तै बैंकको कुरा गर्ने हो भने राज्यले चलाएको दुई चारवटा मात्र बैंक छन् । राज्यको बैंकबाट कति जनताले सुविधा पाएका छन् ? जनतालाई सुविधा दिन टोलै पिच्छे खुलेका सयौं निजि कमर्सियल बैंकहरु आज सफलतापूर्वक चलेका छन् । यसलाई समयसापेक्ष रुपमा लानु पर्छ । बैंकिङ क्षेत्रमा भएका एक दुई गल्ती वा कमजोरीको आधारमा सबैलाई दोस थोपर्नु हुँदैन । यस क्षेत्रमा भएका त्रृटिलाई सच्याउँदै राम्रो काम गर्नेलाइ अगाडि बढाउँदै गल्ती गर्नेलाई कार्यवाहि गर्नु पर्छ । राज्यले कामको मुल्यांकन गर्नु पर्छ । एक दुई गल्तीलाई हेरेर सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन । निजी क्षेत्रलाई टिकाउन र अगाडि बडाउने काममा राज्यको ठूलो भूमिका हुन्छ । तर, यहाँ त्यस्तो छैन निजी क्षेत्र आफ्नै बुँताले घिस्रिदै अगाडि बढेको अवस्था छ । राज्यले निजि क्षेत्रको प्रत्साहन गर्नु पर्ने हो ।
उद्योगी व्यवसायीहरुको पनि धेरै समस्या छन् । अनेक दु:ख र ऋणले केहि गरौं भनेर लाग्नेहरुलाई सबैले हौसला र प्रोत्सान दिनु पर्छ । यसो गर्न सकियो भने औद्योगिक क्षेत्रमा विकास हुन्छ । उद्योग राम्ररी चले व्यवसायी र राज्य दुबैलाई हित हुन्छ । मजदुर र व्यवसायी बिचमा आउने समस्या उद्योगमा ताला लगाउने कुरामा पुग्छ । सबैले बुझनु जरुरी छ– उद्योग रहेन भने मजदुर रहँदैन र उनका जीवीका चल्न कठिन हुन्छ भन्ने । ‘घरमा पालेको गाई–भैसीलाई ह्ष्ठपुष्ठ बनाएर दुध खानेभन्दा तिनको मासु खान थाल्यौं भने कसरी खान पाइन्छ दुध ?’ पहिला गाई भैसीलाई ह्ष्ठपुष्ठ बनाएर दुध खान लाग्नु पर्छ मजदुरहरुले । व्यवसायीको पनि समस्या हुन्छन् तिनलाई बिचार गर्नु पर्छ एक आपसमा भाइचाराको सम्बन्ध राखेर अगाडि बडे दुबैको हित हुन्छ । राज्यको सहि नीति नहनु र मजदुरहरुले विनाकारण आन्दोलनल गर्नाले व्यवसायी त्रसित अवस्थामा छन् । कुनै पनि राज्यको अर्थतन्त्र सवल बनाउन निजि क्षेत्रको व्यवसाय ठीक हुनु पर्छ । निजी क्षेत्रलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन राज्यले उचित रुपमा सोच्नु पर्छ । राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनु पर्छ । हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । राज्यले देशको बिकासमा आधुनिक, व्यवहारिक र व्यवस्थित हुने हो भने धेरै गर्न सकिन्छ ।
नेपालमा नीति उदार छ । तर, काम गर्ने शैली उदार छैन । जसको कारण देश र केहि गर्न चाहना भएका व्यवसायी पछाडि परेका छन् । नीति बनाउँदा राज्यको हितमा बन्छ काम भने नीतिअनुसार हँदैन । जसको कारण हामी पछाडि परेका छौं । राज्यले सकारात्मक सोचले चाहने हो भने गर्ने ठाउँ र सम्भवना धेरै छन् । उर्जाको क्षेत्रमा उचित रुपले योजना बनाएर काम गर्ने हो भने कैयौं सम्भावना छ । देश विकास गर्ने हो भने ‘खानी र पानीको’ सही उपयोग गर्नु पर्छ । खेर गइरहेको स्रोतको व्यवस्थापन र उपयोग गर्न राज्य नीतिगत रुपमा लाग्नु पर्छ । हाम्रो खोला नालाको पानी बगेर गइरहेको छ । पहाडका ढुंगा टुलुटुलु हेरे बसेको छ । हामी पानी र खानी भएकोमा गर्व गर्दै तिनलाई हेरेर रमाएका छौं । त्यसको सही उपयोग गर्न सके राष्ट्रको हित हुनेछ । आउने दिनमा यसको लागि उद्योग वाणिज्य महासंघले अगुवाको भूमिका खेल्नु पर्छ ।
राज्यको वर्तमान कर नीतिको कारण व्यवसायीहरु विश्वस्त हुन सकेको छैनन् । सबै व्यवसायीको मनमा प्रश्न छ– हामी राज्यलाई कर तिर्छौं । तर, हामीले तिरेको करले बुढेसकालमा राज्यले मलाई हेर्ला कि नहेर्ला ? यसमा राज्यले विश्वास दिलाउन सकेको छैन । सामाजिक सुरक्षा कोष भनेर बनाएको छ । तर, त्यो व्यवहारिक भएको छैन । कुनै पनि व्यवसायीलाई आफूले तिरेको करले असक्त हुँदा आफ्नै लागि काम लाग्छ भन्ने कुराको विश्वास दिलाउन सक्नु पर्छ । यदि त्यसो गर्न सकियो भने कर छली नियन्त्रण गर्न सकिन्छ । यसले राज्यप्रति आम नागरिक ब्यवसायीको विश्वास बढनुको साथै राज्य बलियो हुन्छ । आज तिरेको कर भोली मेरै लागि हो भन्ने आभास दिनु पर्‍यो राज्यले । अहिले तिरेका कर राज्यले राखेको मलाई दु:खमा काम लाग्ने पेन्सन हो भन्ने भावनाको विकास गर्नु राज्यको दायीत्व हो । कर लिने तर नागरिकलाई केहि नगर्ने हो भने कर छलि जस्ता कुरा सधै रहिरहन्छ । राज्यले यसको बारेमा व्यवहारीक र बलियो संयन्त्र बनाउनु पर्छ ।
महासंघको नेतृत्व सर्वसम्वत चयन हुन सकेको भए धेरै राम्रो हुने थियो । बाहिरको मान्छेले महासंघमा एकता रहेछ भनेर बुझ्थे । तर, सर्वसम्मत हुन सकेन । सर्वसम्मत नहुँदा प्रतिस्पर्दा हरेक क्षेत्रमा हुन्छ । मात्र प्रतिस्पर्दा स्वस्थ छ कि छैन भन्ने हो । अहिले महासंघ भित्र भएको प्रतिस्पर्धा स्वस्थ छ । यो प्रजातान्त्रिक अभ्यास हो । निर्वाचनपछि भोलीका दिनमा यसले कस्तो रुपधारण गर्छ भन्ने कुरामा सचेत हुनु पर्छ । निर्वाचनमा भएको टकराव व्यक्तिगत होइन संस्थागत हो । यस्तो प्रतिस्पर्धाले संस्थालाई बलियो बनाउँछ । जे जति प्रतिस्पर्धा भएको छ त्यो स्वस्थ र व्यवसायिक रुपमा भएको छ । उम्मेदवारले शिष्ठ रुपमा आ–आफ्नो धारणा राखेर अगाडि बडेका छन् । निर्वाचनको मैदानमा यस्ता कुरा सामान्य हो । यसले भोलीको दिनमा जसले जिते वा हारे पनि हार्दिकतापूर्वक सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्छ ।
महासंघको निर्वाचन राजनैतिक पार्टीमा जस्तै भयो भनेर प्रचार गरीनु हुँदैन । हामी व्यवसायिक नेतृत्वको निर्वाचन लड्दै छौं । सत्ताको लागि होइन । जहाँसम्म राजनीतिको कुरा छ, संसारको कुनै पनि क्षेत्र राजनीतिबाट अछुतो छैन । एउटा न एउटा बिचारबाट सबै प्रभावित भएका छन् । राजनीतिको प्रभाव सबै ठाउँमा धेरथोर परेको हुन्छ । विश्वको ठूला नाम चलेका व्यवसायिक कम्पनि ‘सामसुङ र एप्पलमा’ पनि छिरेको छ राजनीति । भारतका चर्चित व्यापारीहरु पनि त्यहाँको राजनीतिक पार्टीसँग जोडिएका छन् । हाम्रो देशका व्यवसायी वा तिनका सदस्यमा राजनीतिक बिचार हुनु हुँदैन भन्न मिल्दैन । राजनीतिले ब्यापारको हरेक क्षेत्रमा प्रभाव पारेको हुन्छ । देशमा हुने राजनीतिक परिवर्तनले पनि व्यापारमा प्रभाव पारेको हुन्छ । हामीले सचेत हुनु पर्छ हरेक कुरामा राजनीतिकरण हुनु हुँदैन भनेर । निर्वाचन लड्ने सबै पार्टी र नेता हुँदैन । प्रतिस्पर्धा गर्ने अधिकार पार्टीका मान्छेजस्तै हामीलाइ पनि छ ।
निर्वाचन भन्ने बित्तिकै मान्छेलाई लाग्दो रहेछ कति पैसा खर्च गर्ला भन्ने । अझ हामी व्यवसायी पैसाकै भरमा प्रतिस्पर्धा गर्दाहुन भन्ने भ्रम छ । मैले केन्द्रीय सदस्यको निर्वाचन अनुभव र साथीहरुको माया विश्वासमा लड्दै छु । म पैसाले निर्वाचन लड्न लागेको होइन । मलाई लाग्छ सबैले यसैगरी लड्दै छन् । साथीभाइ बसेर चिया खानु भेटघाट गर्नुलाई निर्वाचन र पैसा खर्चसँग जोडनु हुँदैन । साथीभाइसँग चिया खाजा पहिला पनि खाइन्थ्यो । निर्वाचनमा जित्ने भनेको आफ्नो काम र साथी भाइसँगको ब्यवहारले हो । हामी कसरी निर्वाचन लडदै छौं सबैको अगाडि छर्लंग छ । म निर्वाचन जित्ने कुरामा ढुक्क छु । म साथीहरुको भरमा उनीहरुको साथले निर्वाचन लडेको हुँ र शुभचिन्तकले चाहेपछि पक्कै जित्ने छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया