सरकार सुस्त भएकै हो : प्रधानमन्त्री

sushil-koiralaकाठमाडौं, २५ चैत । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको वर्तमान सकारले अपेक्षा अनुसार गति लिन नसकेको स्वीकार गरेका छन् । मंगलबार बालुवाटारमा दैनिक पत्रिकाका सम्पादक र संवाददाताहरुसँग कुराकानी गर्दै कोइरालाले सबै दललाई मिलाएर जानु पर्ने अवस्था भएकाले सरकारको गति सुस्त भएको बताए । सत्तारुढ दलकै नेता तथा कार्यकर्तालेसमेत वर्तमान सरकारको काम कारवाहीलाई लिएर नकारात्मक टिप्पणी गरिरहेको बेल प्रधानमन्त्री कोइरालाको पछिल्लो भनाई बाहिर आएको छ ।
प्रधानमन्त्री कोइरलाले केही काम कारवाही गर्ने सवालमा गल्ती भएको पनि स्वीकार गरे । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धी सरसल्लाहबिना गरिएकाले समस्या आएको स्वीकार गरे । कोइरालालले जनतालाई दिनुपर्ने राज्यको रकम आयल निगमलाई अनुदान दिनुपर्ने अवस्था आएकाले मूल्य बढाउन सरकार बाध्य भएको दाबी गरे । सो भेटघाट कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आफ्नो सरकारले संविधान निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । सरकारले संबिधान निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै कोइरालाले एक वर्षभित्र जसरी पनि संबिधान जारी गर्ने दृढता व्यक्त गरे । ‘संविधान लेखनको लागि ८० प्रतिशत काम अघिल्लो सभाले गरिसकेको छ,’ प्रधानमन्त्री कोइरालले भने, ‘अब विवादित बिषयमा सहमति गर्न मात्रै बाँकी हो ।’ दलहरुबीच शासकीय स्वरुप र संघीयतामा कुरा नमिलेको भन्दै कोइरालाले ती विषयमा सहमति खोजेर अघि बढ्ने बताए । सहमति हुन नसके प्रक्रियाअनुसार अघि बढ्ने पनि कोइरालाले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले संघीयतामा जाँदामा ५–७ वटा प्रदेश बनाउनु उपयुक्त हुने विचार राखे । ‘हामीले एउटा संसद् भवन बनाउन नसक्दा दैनिक एक लाख भाडा तिर्नुपरेको छ,’ कोइरालले भने, ‘धेरै वटा प्रदेश बनाउदा देशले कसरी धान्छ ?’ स्थानीय निकायको निर्वाचन गराउन आफ्नो सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लाग िराजनीतिक दलहरुको आपसी सहमति आवश्यक रहेको तर्क गरे ।
उनले आफ्नो एकमात्र ध्येय सुशासन रहेको भन्दै आफू सबै प्रकारको माफियातन्त्रको विरुद्धमा रहेको दाबी गरे । प्रधानमन्त्री कोइरालले बन माफिया, भूमाफिया र मेडिकल माफियातन्त्रलाई चिरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । मन्त्रीपरिषद् विस्तारपछि अब विभिन्न देशमा राजदूत, संवैधानिक अंगमा पदाधिकारी नियुक्ति र संविधानसभामा २६ जनाको मनोनयनको काम पनि अन्तिम चरणमा पुगेको कोइरालाले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले मंगलबार बिहान १० बजेपछि दैनिक पत्रिकाका सम्पादकहरूलाई ‘प्रधानमन्त्रीले सम्पादकहरूसँग कुरा गर्न चाहनुभएको छ’ भन्दै दिउसो २:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरेका थिए । सम्पादकहरूसँग निकै खुलेर प्रस्तुत भएका प्रधानमन्त्री कोइराला संविधान निर्माण र मुलुकको समस्या समाधानमा दृढ रहेकोमा विश्वस्त देखिन्थे ।

प्रतिक्रिया