१. आरंभ:
ईशापूर्व छैठौं–पाँचौ सताब्दीमा वैदिक धर्मदर्शनको जुनबर्चस्व थियो त्यस मदवादको खण्डन गर्दै महाविर स्वामी एवं गौतमबुद्धद्वारा जैन र बौद्ध धर्म दर्शनको अभ्युदयका साथै विचारहरु प्रतिपादन भएका थिए । यसको मूल उद्देश्य धार्मिक सुधार थियो । तथापी समयक्रमसँगै यसको प्रभाव साहित्य क्षेत्रमा समेत पर्न गयो । ब्राह्मण धर्मदर्शनको हारहारीमा जैन–बौद्धाचार्यको साहित्यिक होडबाजीका कारण यस भू–क्षेत्रमा विकसित बाङ्गमयको विकासमा सहायकसिद्ध हुन पुग्यो । उक्त समयदेखि नै जैन र बौद्ध दुवै धर्मको विशिष्ट स्थान रहँदै आएको छ ।
धार्मिक दृष्टीकोणले यो महान् परिवर्तनको यूग रह्यो । महाविर स्वामी र बुद्धकाल भन्दा पहिले पूरै धार्मिक व्यवस्था पुरोहितहरुको हातमा थियो । तत्पश्चात् यी धार्मिक व्यवस्था र धर्म प्रचार प्रसारको क्रम क्षेत्रीय वंशीय महापूरुषहरुको हातमा आइपुग्यो । विशेषगरी यो देखिन्छ कि वामन र परशुरामको अतिरिक्त जति पनि अवतारहरु सबै क्षेत्रीय कुलबाट नै भएको पाइन्छ । वैदिक युगदेखि जुन धार्मिक नेतृत्व ब्राहमणहरुबाट भैआएको थियो यस युगमा क्षेत्रीयहरुको हातमा धार्मिक नेतृत्व परिवर्तन भएको पाइन्छ । वैदिक कर्मकाण्डका अनुयायी पुरोहित र उपनिषद दर्शनका अनुयायीहरु र जैन–बौद्धका बिच पारस्परिक प्रतिस्पर्धाको कारण साहित्यको अतिरिक्त सामाजिक जीवनमा समेत अनौठो उन्नति हुन गयो । विश्वका विभिन्न देशका इतिहासमा ईशापूर्व छैटौं सताब्तीमा संयोगवश विचित्र प्रतिस्पर्धाको स्थिति देखापर्यो । यस भू–क्षेत्रमा यो युग आध्यात्मीक असनतोष र बौद्धिक क्रान्तिको रुपमा विख्यात भयो । चीनमा लाओत्से (ई.पू. ५ औं. शताब्दी) तथा कन्फ्यूसियस (ई.पू. ५ औं शताब्दी) यूनानमा परमेनाइडीस (ई.पू. ४३२ यूनान) एवं कमोडोकल्स, इरानमा जरथुस्र र भारतमा महाविर एवं बुद्धले यस धार्मिक विस्तार एवं उन्नतिको प्रतिनिधित्व प्राय एकै समयमा गरेका थिए । (गैरोला–२००३:२७७)
२. जैन धर्मका प्रमुख सम्प्रदाय
जसरी गौतमबुद्धको निर्वाण पश्चात् बौद्ध धर्मको क्षेत्रमा अनेकौ साम्प्रदायिक मतभेद आरम्भ हुन गए त्यसैगरी महाविर स्वामी पश्चात् जैन धर्मको क्षेत्रमा पनि सैद्धान्तिक मतभेदका कारण दुई संम्प्रदायमा विभाजित हुन पुग्यो । जैन धर्मको यो संम्प्रदाय विभेदको पनि रोचक इतिहास रही आएको छ ।
महाविर स्वामीका नौ प्रकारका शिष्यहरु थिए । जसलाई ‘स्थविशवली’ मा गणकारुपमा उललेख छ । यिनका निरीक्षकहरुलाई ‘गणधार’ भनिन्थ्यो । यसप्रकारका ११ गणधर थिए जसमा १. इंदुभूति २. अग्निभूति ३. वायूभूति ४. व्यक्त ५. सुधर्मा ६. मण्डिक ७. मौर्यपूत्र ८. अकंपति ९. अचलभ्राता १०. मेतार्य र ११. प्रकाश गोशाल र जमालि पनि महाविरका प्रमुख शिष्य थिए । महाविर स्वामीको यो शिष्य परम्परा ३१७ ईशापूर्वसम्म अटुटरुपमा बनिरह्यो । त्यसे शिष्य परम्परामा उनीहरुद्वारा “संधको कार्य सुचारुरुपमा सञ्चालन गरी उल्लेख्य लोकप्रियता आर्जन गरेको देखिन्छ । जसमा आर्यभद्रबाहुको नाम विशेषरुपमा उल्लेखनीय छ । ३१७ ईशापूर्वमा उक्तकार्य कार्य उनले आफ्नो हातमा लिएका थिए । ३१० ईशापूर्वको ७ वर्षपश्चात् सङ्घको कार्यभार आफ्ना शिष्य स्थूलभद्रलाई जिम्मा दिए । आचार्य भद्रबाहु भ्रमणका निम्ति दक्षिणतर्फ लागेका थिए । उनको अनुपस्थितिमा स्थूलभद्रले पाटलिपूत्रमा साधुहरुलाई बृहद् सभाको आयोजन गरे उक्त सभामा जैन धर्मका अंगका संग्रह गर्ने योजना पारित गरे ।
धेरै दिनपश्चात भद्रवाहु दक्षिण दिशाबाट फर्केपश्चात् पाटलिपुत्रको विज्ञ सभाद्वारा पारित प्रस्तावहरु स्वीकृतिका लागि उनी समक्ष राखियो तर भन्रबाहुले उक्त प्रस्ताव मान्न इन्कार गरे । भद्रबाहुको अनुपस्थितिमा एउटा नयाँ काम भएको थियो । स्थूलभद्रको आज्ञाद्वारा जैन साधुहरुले वस्त्र लगाउन समेत आरम्भ गरेका थिए । भद्रवाहुलाई यसप्रति कुनै रुचि थिएन । त्यसैले उक्त विवाद उत्कषर््ामा पुगेको थियो अन्तत: भद्रबाहु आफ्ना शिष्यहरुका साथ अन्यगै भई आफ्नो पुरानो परम्परालाई कायमै राखो यसप्रकार जैन साधुहरुको दुईदल १. स्वेताम्बर र २. दिगम्बर हुन गयो । (गैरोला–२००३:२७३)
जैनहरुको यी दुई सम्प्रदायका प्रारम्भ ३०० ईशापूर्वमा सुरुभएको थियो । भद्रवाहुको निधनपछि २९७ ईशापूर्व र स्थूलभद्रको २५२ ईशापूर्वमा भएको थियो ।
यसप्रकार ३०० ईशापूर्वमा जैन धर्म अनुयायी मुनि–समाजमा रहनसहन र सैद्धान्तिक मतभेदका कारण श्वेताम्वर र दिगम्वरगरी दुई संप्रदायमा विभाजित देखिन्छ । तत्पश्चात् पनि एकैदलमा परिणत हुनुको सट्टा उनीहरुबीचको दूरी बढ्न गई आजसम्म पनि पूर्ववत्: मतभेद कायमै छ । जैन धर्म बहुव्यापी र बहुजीव रक्षाको धर्म मानिन्छ । जसको परम्परा अविछिन्न रुपमा आजसम्म चलिरहेको छ । जैन धर्मको यस भू–क्षेत्रको धार्मिक इतिहासको रुपमा प्रमुख स्थानमा रहेको छ । यस साहित्यलाई प्रोत्साहन प्रेरणा प्रदान गर्न जैन धर्मावलम्बी आचार्यहरुको प्रमुख योगदान रही आएको देखिन्छ । बौद्धधर्म जस्तै जैनधर्म पनि आँधी तुफानको रुपमा बहिरह्यो । जो स्थिति पछिसम्म कायम नरही समाजमा समन्वय, सामाञ्जस्य, भाइचाराको भावना ठूलो योगदान रहेको देखिन्छ । आज जैनधर्मलाई यस भू–क्षेत्रमा ठूलो आदररुपले हेर्ने गरिन्छ । यस धर्मका विरोधीहरु शिथिल भैसकेको अवस्था रहेकाले यस धर्मको लोकप्रियतामा ठूलो बल मिलेको देखिन्छ ।
बौद्ध धर्मजस्तै जैन धर्मको उदयपनि एउटै उद्देश्यका साथ भएको थियो तर कही समयपछि यस धर्मका धेरै शाखाहरु सृजना भई यसको विकासमा बाधा उतपन्न हुन गयो । यो पनि भन्ने गरिएको छ कि अनेक शाखा र सम्प्रदायमा विभाजित भएतापनि सर्वाङ्गीण विकास हुदै यी शाखा–समप्रदायको कारण दुवै धर्मका गतिमा मन्दता देखा पर्यो । जैन धर्ममा धेरै शाखा उपशाखाहरु छन् जसका नामहरु वर्णन गरी साध्य छैन ।
मूत सङ्घ, काष्ठा सङघ, तेरापंथ, यापनीय सङ्घ, गौड सङ्घ, मयुर सङ्घ, नंदि सङ्घ, निग्र्रथ सङ्घ, कूचंकसङ्घ, वीरसेणाचार्य सङ्घ, पुन्नाट सङ्घ, किन्नर सङ्घ, बलात्कार सङ्घ, सेनान्वय सङ्घ, तागपच्छ, सरस्वति गच्छ, बागड गच्छ, लाटबागड गच्छ आदि जैन धर्मका यस्ता शाखाहरु थिए (गैरोला–२०३:२८७) । जसका कारण जैन धर्मको दिशामा अनेंक विचार शाखाहरु उदय भई अधिकांश कच्चा आधारभूमिमाथि खडा भएका कारण थोरै समयमा नै धाराशायाी हुन पुग्यो ।
३. जैन साहित्य:
जैन साहित्यको क्षेत्र निकै ब्यापक छ । त्यसैले धर्मको संप्रदाय–भेद पनि अनेकौ छन् । जैन साहित्यको अध्ययन संप्रदाय–परम्पराको अपेक्षा ऐतिहासिक क्रमबाट गर्नु धेरै सरलता महशुस हुन्छ । संप्रदायको आग्रह र सैद्धान्तिक प्रतिस्पर्धाको जुन दृष्टिकोण बौद्ध धर्ममा देख्न सकिन्छ त्यो जैन धर्ममा देख्न सकिन्न । जैन साहित्यका निर्माता, विद्वान र आचार्यहरुको दृष्टिकोण कुनै सैद्धान्तिक धारालाई आत्मसात गर्नुको सट्टा सामान्यतया साहित्यको सर्वाङ्गिण विकासका निम्तिनै थियो । कुनै एक विषय वा एक मत प्रतिपादनको दृष्टिले जैन साहित्यको क्षेत्रमा कमै विद्वान् देखिन्छन् । धेरै जैन साहित्यका इतिहासकारहरुले एकै साथ अनेका विषयमा कलम चलाएको पाइन्छ । विभिन्न विद्वानका कृति अध्ययन पश्चात यो प्रस्ट हुन जान्छ कि, एउटै विषय, दृष्टिकोण र सिद्धान्तसँग सहमति नजनाई अलग–अलग विषय र विचारसँग सम्बन्ध राखेको पाइन्छ ।
४. श्वेताम्बर संप्रदायको अंग–ग्रन्थ
पाटलिपुत्रमा स्थूलभद्रद्वारा आयोजित विद्धत् परिषदद्वारा सङ्ग्रहित एंव सम्पादित अंग ग्रन्थको प्रमाणिकता आचार्य भद्रबाहु एवं अन्य आचार्यहरुद्वारा असहमति प्रकट गरिएको थियो । त्यसैले ४५४ ईशामा भावनगर, गुजरातको नजिक वलभि नामक स्थानमा देवधर्माको अध्यक्षतामा जैनमुनि–समाजले अर्काे एउटा परिषदको आयोजना गरी उक्त सभामा ३०० ईशापूर्वको परिषदद्वारा स्वीकृत प्रस्तावहरुलाई पुनर्विचार गरेका थिए । धेरै छलफल, बहसपश्चात पनि दुई संप्रदायबीच एकता कायम हुन सकेन । उक्त सभामा श्वेताम्बर सम्प्रदायका आचार्यहरुले १२ आगमिक अंग–ग्रन्थहरुको सङ्ग्रह गरेका थिए । उक्त सङ्ग्रहरु (१) आचारांग सूत्र (२) सयगडंग (३) थाणंग (४) समवायांग (५) भगवती सूत्र (६) ज्ञाताधर्मकथा (७) उवासगदसाब (८) व्याकरणनि (११) विवागसुयं (१२) दिट्ठिवाय (गैरोला–२००३:२८३)
५. जैन र बुद्ध दर्शनमा समानता :
जैन र बुद्ध दुवै धर्मको यस भू–क्षेत्रको धार्मिक इतिहासमा ठूला प्रगतिशिल धर्मका रुपमा रही आएको देखिन्छ । समाजको धार्मिक चेतनाको निर्माणमा यी धर्महरुका ठूलो स्थान र योगदान छ । बौद्ध धर्म आफ्नो जन्मभूमि नेपाल र प्रचार एवं कर्मभूमि दक्षिण पूर्व एशिया लगायत विश्वका विभिन्न देशहरुमा व्याप्त छ भने जैन धर्मको परम्परा आजसम्म पनि यस भू–क्षेत्रमा जीवितै छ । जैन र बुद्ध दुवै धर्मको उदयको उद्देश्य प्राय एउटै थियो त्यसैले यी धर्ममा मौलिक एकता रहेको पाइन्छ । जैन र बुद्ध धर्मबीच आजपनि एकता चिह्न कायम रहेको पाइन्छ । ‘जिन’ र ‘वीर’ महाविर स्वामी एवं उनका पूर्ववर्ति महात्माहरुद्वारा आदर–सूचक सम्बोधन थियो । पालि साहित्यमा बुद्धको विशेषणको रुपमा प्रयोग गरिन्थ्यो । बुद्धलाईपनि “पाप कर्मलाई जित्नेवाला” भन्ने गरिएकाले ‘जिन’ भनिएको थियो । (गैरोला–२००३:२७५)
यसकारण महाप्रजापनि गोमति द्वारा भगवान् बुद्धलाई ‘वीर’ भनि बन्दना गरिन्थ्र्यौ । बौद्ध भिक्षुहरु आफ्नो परिचय ‘श्रमण’ भनि दिने गर्दथे । त्यसैले उनलाई पनि मानिसहरु ‘श्रमण’ भनि पुकार्दथे । श्रमण प्रदान जैन धर्म र बौद्ध धर्मको बीच मौलिक एकता रहेको पाइन्छ । यसैकारणले गर्दा धेरै समयसम्म युरोपमा यी दुवै धर्मलाई एकै धर्मठानी केही विद्वानहरुले महावीर र बुद्धलाई एउटै व्यक्ति ठान्ने भ्रम सोंचे । पालि साहित्यमा जैन धर्मका अनुयायीहरुलाई निगण्ठ (निग्र्रथ) र महाविर स्वामीको निगष्ठ नाटपुत्त (निग्रंथ ज्ञातृपुत्र) भन्ने गरिन्थ्यो (गैरोला–२००३:२८१) । उनका मुख्य सिद्धान्तका उल्लेख पनि पालि साहित्यको यी मौलिकताका फलस्वरुप दुवै धर्मका अनुयायीहरुबीच वैर, वैमनस्य, प्रतिस्पर्धा र पारस्परिक आलोचनाका भावना उत्पन्न हुने गर्दथे । तापनि यी सबै व्यक्तिगत अस्तित्व एवं स्वतन्त्र विचारका प्रभावहरु थिए जो प्रत्येक यूग र प्रत्येक धर्ममा स्वाभाविकरुपमा देखा पर्ने गर्दछ ।
कर्मफलवाद, पुरोहितवादको प्रतिपादक ब्राहमण–ग्रन्थको विरोध उपनिषद ग्रन्थमा भएको कारणले त्यसको प्रभाव ईशापूर्वको छैटौं सताब्दीमा एक आलोचनात्मक भावनाको रुपमा प्रकट भएको थियो । जैन र बुद्धको एक प्रकारको यस युगमा बौद्धिक मोर्चाबन्दीको रुपमा थियो । वेद र उपनिषदका विचारधाराहरु समानरुपमा देखिदैनथे । यी धाराहरु कहिलेकोही विरोधीका रुपमा पनि देखा परे । यी धारामा विचार राख्ने विद्वानहरुद्वारा आफ्ना सिद्धान्तको विकास भएको थियो । यी सबै धर्मको समानता ब्राम्हण धर्मको साथ निरन्तर बनिरहेको देखिन्छ । यी सबै धर्ममा जनताका रुचिको प्रभाव रह्यो । जुन रुचि ब्राम्हण संस्कारबाट ओतप्रोत थियो । तथापि उपनिषद एकप्रकारले वेदरहीत कर्मको अनुकर्ता तर ब्राम्हण, ग्रन्थको भोगवादी विचारधाराको कट्टर विरोधी अर्थात, अर्काे शब्दमा वेदोक्त धर्मको आलोचना प्रधान ग्रन्थ भएको कारणले जैन–बौद्ध– दर्शनको धेरै नजिक छ । तर त्यो वेद–निंदक नभई उसको प्रवल समर्थक पनि हो । खासगरी जैन–बौद्धहरुले जुन आलोचना–पद्धति र नास्तिकवाद अपनाए ती आचार्य वृहस्पति र आचार्य चार्वाकका सिद्धान्तहरु थिए । जैन र वुद्ध धर्मका अधिष्ठात महाविर स्वामी एंव बुद्धदेवले जुन नास्तिकवादलाई अपनाए ती वृहस्पति तथा चार्वाक सिद्धान्तद्वारा प्रेरित संस्कारको एउटा रुप थियो । वृहस्पति तथा चार्वाकको यी दुई महापुरुषहरुले अपनाई भोगवादी पक्षबाट टाढा रहे । (हरिभद्र–२००२:११)
६. जैन धर्म र ब्राहमण धर्मबीच समानता :
जैन धर्म र ब्राहमण धर्मबीच विशेष खास अन्तर देखिंदैन । फरक यति मात्र छ कि जैन धर्मले वैदिक कर्मकाण्डका प्रचलित यज्ञविधि र हिंसा सम्बन्धी विधानलाई स्वीकार गर्दैन भने ब्राहमण धर्म वैदिक निर्देशनलाई नै अन्तिम प्रमाण ठान्दछ । समाजमा अहिंसाको समर्थनका निम्ति जैनहरु वदेलाई खुलारुपमा विरोध गर्दथे । सम्भवत: समाज पुरोहितबादको बढ्दो प्रभाव र उसको स्वेच्छाचारीतालाई मौन समर्थन दिने गर्दथ्यो तर वेदको निस्कृयतालाई स्वीकार गर्न कदापि तयार थिएन । जैनहरुद्वारा अहिंसालाई आधार बनाई पुरोहितवाद प्रवृत्तिप्रति समाजमा देखिने वितृष्णालाई समर्थन गर्दै आफूहरुप्रति समाजलाई एकत्रित गर्दै लग्ने परम्परा रहेको थियो । (गैरोला–२००३:२७५) महाविर स्वामीले आफ्ना पूर्ववर्ती आचार्यहरुका सिद्धान्त र मान्यताहरुलाई सरल ढङ्गले राखेकाकारण उनीप्रति समाज आकर्षित हुँदै गैरहेको देखिन्छ । वेदमा वर्णित अहिंसा र तपलाई जैनहरुले अपनाएका थिए भने साधना र वैराग्यको भावना उनीहरुले वेदबाटै ग्रहण गरेका थिए । जैन धर्म अतिशय अहिंसावादी धर्मको रुपमा रहेको छ । बौद्ध धर्मानुयायीहरु भन्दा माथिल्लो रुपमा कष्ट–सहिष्णूतालाई जैन धर्मावलम्बीहरुले प्रमुख सिद्धान्त मान्दथे । जेन धमैको त्रिरत्न सम्यक, दर्शन संम्यक् ज्ञान र संम्यक् चरित– हिन्दू धर्मको भक्तियोग, ज्ञानयोग र कर्मयोगको रुपान्तरमै हो । समानताको दृष्टिकोणले बौद्ध धर्मको अपेक्षा जैन धर्म हिन्दू धर्मसँग धेरै निकट छ । जैन धर्म मुख्यत: ब्राम्हण धर्मका विशेषगरी बैष्णव धर्मको बढी नजिक छ । जैन र ब्राम्हण दर्शन आत्माको सत्तालाई स्वीकार गरी ब्रम्ह–साक्षात्कारको लागि आत्माको विकासमा जोड दिन्छन् । आत्मा र मोक्षको स्वरुप सम्बन्धलाई मध्यनजर राख्ने हो भने जैन–बौछ–दर्शन ब्राहमण दर्शन जस्तै आस्तिक ठहरिन्छन् । (गैरोला–२००३:२७६)
७. जैन धर्म दर्शनको विस्तार
हजारौं वर्षदेखि यस भू–क्षेत्रका दार्शनिक विचारधारा दुई रुपमा विभक्त भएको पाइन्छ । प्रथम परम्परामूलक ब्रामण्य वा ब्रम्हवादी जसको विकास बैदिक साहित्यमा वृहत्रुपमा प्रकट भएको थियो । दोश्रो पूरुषार्थमूलक प्रगतिशिल श्रामण्य या जसको विकास अबैदिक श्रमणप्रधान जसमा आचरणलाई प्रमुखता दिइएको थियो । यी दुवै चिनता धाराहरु एक–अर्काका पारस्परिक विरुद्धगामी थिए जसमा सामाञ्जस्य भावनाको आधार आपसमा आदन–प्रदान हुने गर्दथ्यो भने सम्पूर्ण समाजलाई बौद्धिक एकतामा बाँध्न सहायक सिद्ध हुने गर्दथ्यो । ब्रम्हवादी विचार परम्पराको उद्गमस्थल दक्षिण पूर्व एशियाको पञ्जाब एवं पश्चिमी उत्तरप्रदेश र श्रमण–विचार–परम्पराको जन्म आसाम बंगाल, बिहार, मध्यप्रदेश, राजस्थान र पूर्वी उत्तरप्रदेशमा भएको थियो । श्रामण्य विचार परम्पराको जन्मदाता जैन नै थिए । श्रमण संस्कृतिको प्रवर्तक जैन धर्म म्रागैतिहासिक धर्म रहेको छ । मोहन–जो–दारोद्वारा उपलब्ध ध्यानी नग्न योगीहरुका मुर्तिद्वारा जैन धर्मको प्राचीनता सिद्ध हुन्छ । बैदिकयूगमा ब्रात्य र श्रमण–ज्ञानी परम्पराको प्रतिनिधित्व जैन धर्मले नै गरेको थियो । जैन धर्मका प्रवर्तक महात्माहरुलाई तीर्थकर भन्ने गरिन्छ । यस्ता तीर्थकर महात्ममाहरुको सङ्ख्या २४ रहेको पाइन्छ । जसमा सर्वप्रथम ऋषभदेव थिए भने अन्तिम तीर्थड्ढर अन्तिम महाविर थिए । (गैरोला–२००३:२७७)
८. जैन धर्मदर्शनको तात्विक पक्ष
जैन दर्शनमा के अभिमत छ कि संसारका समग्र वस्तुहरु स्थिर र विनासमा आधारित छन् । यी सबै आवासीय वस्तुमा नित्य र अनित्यको सत्ता विद्यमान मानिन्छ । जैन दर्शनमा परमाणु संघातद्वारा संसारका सबै पदार्थको उत्पत्ति भएको मानिएको छ । जसलाई पुद्गल यसै परमाणु–कुञ्जलाई ‘स्कंघ’ पनि भन्ने गरिएको छ । परमाणुलाई अनाधि, अनंत, नित्य र अमूर्त मानिएको छ । पृथ्वी, जल, तेज, वायु, अग्नी यिनै परमाणुका रुपान्तर वर्णित गरिएको छ । त्यसैले जैन दर्शन परमाणवादी र जीववादी दर्शन मानिन्छ । संवर (संयम) को अभ्यासपश्चात् जब जीव कर्म–परमाणुबाट मुक्ति प्राप्त गर्दछ त्यसलाई ‘निर्जरा’ को अवस्था भन्ने गरिन्छ । यो संयम–साध्य निर्जराको अवस्था प्राप्ति पश्चात् जीवले मुक्त पाउँछ तत्पश्चात् सो अवस्थामा अनन्तदर्शन, अनन्तज्ञान र अनन्तशक्तिको हकदार बन्दछ । जैन शास्त्रअनुसार बोधि अर्थात, ज्ञानका ५ श्रेणी उल्लेख छन् जस्तै मतिज्ञात, श्रतिज्ञान, अवधिज्ञान, मन:पर्यायज्ञान र केवलज्ञान । मन, इन्द्रिय, स्मृति, प्रत्यभिज्ञा र तर्कद्वारा मतिज्ञान, शब्द र संकेतद्वारा श्रतिज्ञान त्रिकालजन्य वस्तुहरु र प्रत्यधिकरण अवधिज्ञान, अर्काको मनभित्रको ज्ञान, मन:–पर्यायज्ञान र मुक्तजीवको ज्ञानलाई केवल ज्ञान भनि उल्लेख गरिएको छ । न्याय, बैशेषिक, सांख्य र मिमांसा जसरी नै जैन दर्शन पनि जीववादी दर्शन मानिन्छ । बौद्ध दर्शन जस्तै अनिश्वरवादी एवं अहिंसावादी तर उपनिषद ग्रन्थ जस्तै पूनर्जन्म–विश्वासी पनि हो । जैन धर्ममा ईश्वरलाई जगत्को कर्ता मानिन्छ । ईश्वरको सर्वव्यापकता स्वतन्त्र र नित्य सत्तापनि मान्य छैन । उनीहरुको दुष्टिकोणमा सृष्टिको निर्माण प्राकृतिक तत्वहरुको निश्चित नियमअनुसार भएको मानिन्छ । (गैरोला–२००३:२७९)
अन्य आस्तिक दर्शन जस्तै जैन धर्मको अन्तिम उद्देश्य मोक्ष प्राप्ति नै हो । त्याग र सन्यासविना मोक्ष प्राप्ति मानिदैन भनिएको छ । त्यसैले : ‘तत्वार्थसूत्र’ मा संम्यक् ज्ञान, संम्यक् दर्शन र संम्यक् चरित्रनै मोष–साधनको तीनरत्न वा उद्देश्य बताइएको छ । ‘जिन’ अर्थात् इन्द्रिय जीवीलाई नै जैन भनिएको छ । दान, अहिंसा, अस्तेय, ब्रम्ह्रचर्य र त्याग जैन धर्मका व्यवहारिक उद्देश्यहरु हुन् । (गैरोला–२००३:२८१)
९. प्रकीर्ण ग्रन्थ
माथि उल्लेखित श्वेताम्बर संम्प्रदायको अंग–उपा–ग्रन्थहरुको अतिरिक्त केही प्रकीर्ण ग्रन्थ पनि उपलब्ध छन् । जैन साहित्य क्षेत्रमा यसको ठूलो महत्व छ । सङ्ख्याको हिसाबले निम्नानुसार छन् ।
(१) चतु:शरण (२) आतुरप्रत्याख्यान (३) भक्तिपरिज्ञा (४) संस्तार (५) ताण्डुल–वैतालिक
(६) चंद्रवेध्यक (७) देवेंद्रष्टव (८) गणित विद्या (९) महाप्रत्याख्यान (१०) वीरस्तव
यसबाहेक ‘छेद सूत्र’, ‘मूल सूत्र’ र ‘चूलिका सूत्र’ आदि पनि जैन साहित्यका क्षेत्रमा श्वेताम्बरीहरुद्वारा ठूलो आदारभावले हेरिन्छ । यी ग्रन्थ सामाग्री जैन साहित्यका प्राचीनतम निधिका रुपमा रहेका छन् ।
१०. जैन संप्रदायका शाखाहरु:
जैन संप्रदायका मुख्य दुई वटा शाखाहरु जसमा १. स्वेताम्बर २. दिगम्बर शाखाहरुको चर्चा माथि भैसकेको छ । त्यसभन्दा पछि विकसित भएका शाखाहरु मध्य निम्नअनुसार छन् ।
१०.१ ‘यापनीय स्रप्रदाय र उनका साहित्य’
जैन धर्मको दिगम्बर, श्वेताम्बर दुई संप्रदायलाई अधिकांश मानिसहरु चिन्दछन् तर यसबाहेक जैन धर्मका अनेक उपशाखाहरु पनि देखिएका छन् । यापनीय जैन धर्मको तेस्रो संप्रदाय हो । उल्लेखित दुई सम्प्रदाय जस्तै यापनीय संप्रदायको प्राचीनतम इतिहास र अस्तित्व छ । यसको परम्परा लगभग १६ औं सताब्दीतक कायम थियो । यो सम्प्रदायलाई ‘आपुलीय’ वा ‘गोप्य’ सङ्घ पनि भन्ने गरिन्छ । कदम्ब, राष्ट्रकूट र अन्य राजवंशहरुद्वारा उक्त तेस्रो धर्म सङ्घका साधुहरुलाई प्रशस्त दानहरु दिई मान–सम्मान गर्ने गरिन्थ्यो । यापनीय र दिगम्बर सङ्घका बिच केही मौलिक कुराहरु मिल्दा जुल्दा छन् । उदाहरण स्वरुप यापनीय सङ्घको पनि निर्वस्त्र प्रतिमाहरु देखिन्छन र अधिकांश साहित्य दिगम्बरहरुको साहित्यसँग मिल्दछ । यसको अतिरिक्त यापनीय सङ्घका मुनिहरु पनि निर्वस्त्र नै रहने गर्दछन् । यापनीय संप्रदायका साहित्यको दिगम्बर र श्वेताम्वर संप्रदायका विद्वानहरुले आदरभावले हेरेको पाइन्छ । यानीय सम्प्रदाय विलुप्त हुँदै जाँदा उनीहरुका सारा साहित्य श्वेताम्वरी सम्प्रदायको हातमा पुगी संरक्षित रहेको थियो । यापनीय सङ्घका प्रमुख आचार्यहरु उमास्वाति, शिवाचार्य, शााकटायन, स्वयंभु, त्रिभुवन स्वयंभु र वादिराज प्रमुख रहेका छन् । (गैरोला–२००३:२८५)
१०.२ पंचस्तपान्वय र उनका साहित्य
जैनधर्मको क्षेत्रमा अर्काे उप संप्रदाय पंचस्तूपान्वय वा सेनान्वयको नामबाट पनि परिचित थियो । यस सङ्घको उद्देश्य जीर्ण स्तुपहरुको उद्दार मर्मत–सम्भार यस सङ्घको उद्देश्य रहेको थियो भने अनुयायीका रुपमा मुनि–समाजको अतिरिक्त धनि–गृहस्थहरु पनि रहेका थिए जसले स्तुपहरुको मर्मत सम्भारका लागि पर्याप्त धन खर्च, गर्ने गर्दथे । जैन साहित्यका प्रसिद्ध आचार्य वीरसेन, जिनसेन र गुणभद्र पंचस्तुपान्वय संप्रदायका प्रमुख विद्वानहरु थिए । यिनै आचार्यहरुद्वारा उक्त स्वतन्त्र सङ्घको जन्म दिई आफ्ना कालमा विशेष मान महत्व बढाउने काम गरे । तथापि यस सङ्घका अनुयायी लोक सेन, अमित गति, बसुनन्दि र श्रीभूषण आदि विद्वानहरु थिए । पंचस्तुपहरुको महत्व मथुराराज्यमा अकवरको समयसम्म मन्द गतिमा रहिआएको थियो ।
१०.३ श्रावक धर्म र आचार्य–परम्परा:–
गृहस्थ–ब्रतीलाई श्रावक, उपासक, देशसंयमी, आगारी आदि नामहरुबाट पुकारिन्छ । यस दृष्टिबाट यी सबै नामहरुले यथार्थ अर्थ जनाएता पनि यी नामको अर्थमा केही मौलिक भेद पाइन्छ । श्रावक वा उपासकहरुका आचार धर्मको प्रतिपादन गर्ने सूत्र, शाष्त्र वा ग्रन्थको ‘श्रावकाचार’, ‘उपासकाचार’ वा ‘उपासनाध्ययन’ भनिन्छ । जैन धर्मको द्वादशांङ्गमा सातौं अङ्ग श्रावकाग भनिन्छ । जसमा एघार लाख सत्तरी हजार पदमा एघार प्रकारका श्रावकहरुका क्षण उनका व्रतधारणका विधि र आचारसम्बन्धी विधानहरुका बारेमा वर्णन गरिएको छ ।
जैन धर्ममा श्रावकाचारको आचार्य–परम्परा धेरै पुरातन रहेको छ । वीर परिनिर्वाणको ५६५ वर्षसम्म श्रावक धर्म मौखिक रुपमा अध्ययन अध्यापनको क्रम गुरु–शिष्य परम्परामा स्थापित भई आएको थियो ।
यसमा आचार्य परम्परा धेरै पछि लागू भएको थियो भने उक्त आचार्य परम्पराको क्रम निम्नानुसार रहेको छ ।
आचार्य कुन्दकुन्द, स्वामी कार्तिक्य, आचार्य उमास्वाति, आचार्य यतिवृषभ, स्वामी समन्तभद्र, आचार्य जिनसेना, आचार्य सोमदेव, आचार्य देवसेन, आचार्य अमितागति, आचार्य अमृतचन्द्र, आचार्य वस्सुनन्दी र पं आशधर ।
जैन साहित्यको सम्बन्धमा जुन सामाग्रीहरु उपलब्ध छन्, उक्त साहित्यको सर्वाङ्गीण अध्ययनको लागि पर्याप्त मानिदैनन । यस भू–क्षेत्रका धेरै ठाउँमा वृहद जैन साहित्य भण्डारको इतिहासलाई हेर्दा यो स्पष्ट हुन्छ कि आजसम्म जैन साहित्यको सम्बन्धमा विद्वानहरुले जे जति लेखे त्यो भन्दा अझ धेरै उल्लेखनीय सामाग्रीहरु उपलब्ध छन् जो ओझेलमा परिरहेका महसुस हुन्छ तथापि जैन साहित्यको क्षेत्रमा विद्वानहरुद्वारा जुन काम भैरहेको छ अन्य क्षेत्रीय साहित्यको तुलनामा निकै बढी छ । आज पनि यस भू–क्षेत्रमा जैनाचार्य वा जैन साहित्यका विद्वानहरुको कमी छैन जसले जैन साहित्य भण्डारको पुर्नउत्थान एंव रक्षा गरिरहेका छन् । आज जैन साहित्यमा यस्तो वृहद इतिहासको आवश्यकता छ जसमा कुनै वर्ग या विचारको विभाजनको आधारमा त्यसको क्रमबद्ध अध्ययन हुनसकोस् । स्फुर्तरुपमा जैन साहित्यको धेरै सामाग्री प्रकाशमा अइसकेको भएता पनि त्यसको क्रमबद्धताको अभाव देखिन्छ । जैन साहित्यको प्रतिनिधी इतिहास ग्रन्थ उपलब्ध नभएको कारण संस्कृत साहित्यको उन्नत दिशा छर्लङ्ग रुपमा देख्न अप्ठ्यारो भइरहेको महशुस हुन्छ ।
११. निष्कर्ष :
गीता यस्तो पहिलो ग्रन्थ मानिन्छ जसमा ज्ञानेच्छु आस्तिक विचारको समर्थन र नास्तिक विचारको विरोध जनाइएको छ । जैन र बुद्ध दुवै दर्शनलाई नास्तिकको श्रेणीमा राखेको पाइन्छ तथापि दुवै दर्शन आफूलाई नास्तिक मान्दैनन् । जैन बुद्ध दर्शनका अनुसार परलोक विरोधी, धर्मकर्म, कर्तव्यविमुखलाई नास्तिक मानिएको छ । जैन–बुद्ध दर्शनलाई नास्तिक श्रेणीमा राख्नुको एकमात्र कारण वेदलाई नमान्नु नै हो । जैन र बौद्ध दुवै दर्शन एक स्थिर चैतन्यको सत्तामा विश्वास राख्दै अहिंसालाई स्वीकार गर्दछन् । अहिंसालाई स्वीकार र वेदको प्रमाणिकतालाई अस्वीकार गर्दछन् । व्यवहारिक र नीतिको क्षेत्रमा जैन दर्शनमा सम्यकज्ञान, सम्यक्दर्शन, सम्यक चारित्र्यलाई मोक्षको साधन बताइएको छ । जैन–योगको समानता उपनिषद, योग दर्शन र बौद्ध योग सँग मिल्दो छ । जसमा शून्यगारमा ध्यान गर्ने उपदेश । हिंसा, असत्य, चोरीको विरोध । सत्य, अस्तेय, अहिंसा र ब्रम्हचर्यको भावना कर्मको विभाजन र मोक्षप्राप्तिका सबै कुराहरु बौद्ध दर्शनको सिद्धान्तसँग मेल खाने छन् । बौद्धका मैत्री, करुणा, मोदिता र उपेक्षा सम्बन्धी विचार जैन धर्ममा पनि समान मिल्दाजुल्दा छन् ।
सन्दर्भसामग्री
१. ए. बी किथ अनुवाद डा. मंङलदेव शास्त्री – १९६०
प्रकाशक– मोतीलाल बनारसी दास, वाराणासी
२. गैरोला वाचस्पति संस्कृत साहित्यका इतिहास – २००३
चैखम्बा विद्याभवन, वाराणसी
३. चट्टोपाध्याय देबी प्रसाद भारतीय दर्शन, सरल परिचय – १९६५
राजकमल प्रकाशन, दिल्ली
(लेखक सन शाइन आवासीय उच्च मा.वि/कलेज, सिद्धार्थ नगर–८, रुपन्देहीका संस्थापक प्राचार्य हुन् )
प्रतिक्रिया