३३ दलको याचना जारी

काठमाडौं, २४ चैत । नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले आफूहरुलाई सहभागी नगराई नयाँ संविधान जारी गरे ठूलो दुर्घटना हुने चेतावनी दिएको छ । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा सो मोर्चाले आफ्नो माग सम्बोधन नभए छुट्टै संविधान ल्याउने चेतावनी दिएको हो । मोर्चाले जनसंविधान जारी गर्ने चेतावनी दिँदै आफूहरुलाई उचित सम्मान दिन आग्रह गरे । २४ औं जनआन्दोलन दिवसका अवसरमा ३३ दलीय मोर्चाले राजधानीमा आयोजना गरेको कार्यक्रममा मोर्चाका नेताहरुले आफूहरुलाई बाहिर राखेर घोषणा गर्ने संविधान मान्य नहुने धारणा राखे ।
कार्यक्रममा बोल्दै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अहिलेका राजनीतिक दलले जनताको संविधान बनाउनै नसक्ने ठोकुवा गरे । ‘उनीहरुले संविधान बनाई हाले पनि पश्चगामी संविधान मात्रै बनाउँछन्,’ कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष गजुरेलले भने, ‘उनीहरू पश्चगामी संविधान ल्याउँछन् हामी जनसंविधान बनाउछौं, देशमा दुईवटा संविधान हुन्छ जुन राम्रो हुन्छ जनताले त्यहीं नै छान्नेछन् ।’
देशमा त्यस्तो अवस्था आउन नदिन सर्वदलीय छलफल आवश्यक भएको पनि नेता गजुरेलको तर्क थियो । संयुक्त सरकार गठन गरी सर्वपक्षीय छलफलबाट संविधान जारी गरिए देशले निकास पाउने उनले जीकिर गरे । नेता गजुरलले आफू संविधानको विरोधी नभएको स्पष्ट पार्दै वर्तमान संविधानसभा पश्चगामी र प्रतिगामीको कब्जामा गएकोले आफूहरु सहभागी हुन नसक्ने तर्क गरे ।

प्रतिक्रिया