संविधान निर्माण कार्यतालिका पारित

काठमाडौं, चैत २१ । संविधानसभाले संविधान निर्माणको कार्यतालिका पारित गरेको छ । शुक्रबार बसेको संविधानसभाको दोश्रो बैठकले ८ माघमा संविधान जारी गर्ने गरी बनाइएको कार्यतालिका बहुमतले पारित गरेको हो ।
कार्यतालिकामाथि छलफल गर्दै केही सभासद्ले विवादित विषयमा सहमति नभए जनमत संग्रहमा लगेर भएपनि टुंगाउनुपर्ने सुझाव दिएका छन् । संविधानसभामा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमति हुन नसकेका बिबादित विषयलाई प्रकृयामा लगेर भए पनि ८ माघभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तोकिएको समयमा संविधान जारी गर्नका लागि अव सबैको ध्यान संविधान निर्माणमा मात्र केन्द्रीत हुनु पर्ने बताए ।
असोज मसान्तमा संविधानको मस्यौदालाई अन्तिम रुप दिएर नागरिकबीच लैजाने र ८ माघसम्म जारी गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार १५ बैशाख २०७१ भित्र समितिका सभापति चयन गर्ने, भदौ तेश्रो हप्तासम्म संविधानसभामा र संविधानसभा भन्दा बाहिर रहेका दलहरुसँग छलफल गरी सहमती गर्ने र सहमति हुन नसकेमा भदौ मसान्तसम्म प्रतिवेदन पेश गरिनेछ ।
त्यस्तै कात्तिक मसान्तसम्म मस्यौदामाथि आएका सुझाव संकलन गर्ने, ती सुझाव समेटेर मंसिर मसान्तसम्म प्रतिवेदन पेश गर्ने तथा पुससम्म संविधानको विधेयक पारित गरी ८ माघ भित्रै पारित गर्ने कार्यतालिका छ । काम छिटो गर्न संविधानसभाका पाँच वटा समिति र संविधानसभाको पूर्ण बैठकले समानान्तर काम गर्नेछन् । कार्यतालिका पारित भएपछि संविधान निर्माणको काम सहज हुने भएको छ ।

प्रतिक्रिया