‘इमान्दार भए एक वर्षमै संविधान’

धादिङ, १९ चैत । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै राजनीतिक दल इमान्दारिपूर्वक संविधान निर्माणको काममा लागेमा संविधान बनाउन एक वर्ष पनि नलाग्ने ठोकुवा गरेका छन् । बुधवार बिहान प्रेस चौतारी धादिङले आयोजना गरेको कार्यक्रममा नेता नेपालले पहिलो संविधानसभाले सम्पन्न गरेको ९० प्रतिशत कामको स्वामित्व वर्तमान संविधानसभाले लिएकाले समयभित्रै संविधान निर्माण हुने दावी गरे ।
उनले सबै जातजाति एउटै परिवारको रूपमा बसोबास गर्दै आएको देशमा एकल जातीय राज्यको माग र एक मधेस एक प्रदेशको मागलाई समेत दोस्रो संविधानसभाको निर्वाचनमार्फत जनताले अस्विकार गरिसकेको धारणा राखे । नेता नेपालले अब सङघीय प्रदेश र शासकीय स्वरूप निर्धारणमा दलहरूबीच सहमति हुने र एक बर्ष भित्रै संविधान बन्ने आशाा ब्यक्त गरे ।
स्थानीय तहमा भएका विकास निर्माणको कामलाई पारदर्शी बनाउन र संविधान जारी पश्चात बन्ने स्थानीय निकायको संरचनालाई बलियो बनाउन पनि स्थानीय निकायको निर्वाचनको मिति तोक्नु आवश्यक रहेको बताउँदै वरिष्ठ नेता नेपालले यसका लागि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको वर्तमान सरकारले निर्णय गर्न सक्नुपर्ने जीकिर गरे ।

प्रतिक्रिया