दैनिक पत्रिका सञ्चालनमा जोड

डोटी, १६ चैत । डोटी जिल्लाका सरोकारवालाहरुले जिल्लामा दैनिक पत्रिका सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
डोटीवाट नियमित प्रकाशन हुने “बिम्ब नेपाली साप्ताहिक” ले १० वर्ष पुरा गरेको अवसरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लामा एउटा पनि दैनिक पत्रिका नहुँदा जिल्ला सञ्चारको क्षेत्रमा पछि परेको बताए । ‘मैले बिभिन्न कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारीमा सात जिल्लामा रहेर काम गरे’ प्रजिअ काफ्लले भने ‘अन्य सबै जिल्लाहरुमा दैनिक पत्रिकाहरु सञ्चालन भएका थिए तर यहाँ एउटा पनि पत्रिका दैनिक छैन ।’
‘बिज्ञापन पाएको वेला मात्र केही पत्रिकाहरु प्रकाशन हुने गरेका छन’ अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ काफ्लेले भने ‘पत्रिकाको नियमित रुपमा प्रकाशन हुनुपर्छ । बिम्ब साप्ताहिकले १० वर्षसम्म आफ्नो प्रकाशनलाई निरन्तरता दिएकोमा काफ्लेले धन्यवाद दिए ।
कार्यक्रममा महिला विकास अधिकृत दुर्गा भण्डारी (वराल) ले दैनिक पत्रिका प्रकाशन गर्नुपर्ने कुरामा जोड दिँदै बिम्ब साप्ताहिकले सामजिक रुपान्तरणका लागि अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिईन् । नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मीन वमले छिमेकी जिल्लाहरुबाट दैनिक पत्रिकाहरु प्रकाशन भईरहेको जानकारी गराउँदै डोटीमा पनि दैनिक पत्रिकाको आवश्यकता रहेको बताए । ‘दैनिक पत्रिका सञ्चालनका लागि बिम्ब साप्ताहिकले नै अगुवाई गर्नुपर्छ’ उनले भने, त्यसका लागि नेपाल पत्रकार महासंघ सहयोग गर्न तयार रहेको छ ।’ कार्यक्रमका सहभागि अधिकाश वक्ताहरुले बिम्ब साप्ताहिकलाई दैनिक पत्रिका बनाउनु पर्नेमा जोड दिएका थिए ।
२०६० साल फागुन २९ गते नमुना अंक प्रकाशन गरी पत्रकारिता थालनी गरेको बिम्ब साप्ताहिकले १० वर्ष पुरा गरेको अवसरमा दुई जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा पत्रिकाका संस्थापक प्रधान सम्पादक रामबहादुर ऐर र पत्रिका प्रकाशनमा नियमित सहयोग गर्ने श्रेष्ठ अफसेट प्रेशका सञ्चालक दिपेन्द्रनारायण श्रेष्ठ रहेका छन् । उक्त अवसरमा बिम्ब साप्ताहिकले प्रवेशिका परीक्षामा जिल्लाबाट उत्कृष्ठ नतिजा ल्याउने एक छात्र र एक छात्रा गरी दुई जनालाई सम्मान गर्ने घोषणा समेत गरेको छ ।
यस्तै बिम्ब मिडिया सोसाईटी स्थापना गर्ने, बालगृह निर्माणका लागि पहल गर्ने र हाल प्रकाशन भईरहेको पत्रिकालाई आठ पृष्ठवाट १० पृष्ठ बनाउने समेत घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीमा १८ साप्ताहिक पत्रिका दर्ता भएका भएपनि नियमित हुन सकेका छैन । जिल्लाबाट दैनिक पत्रिका भने सञ्चालन हुन सकेको छैन । बिम्ब साप्ताहिक डोटी प्रेश काउन्सिल नेपालद्वारा गरिने वर्गिकरणमा क्षेत्रीय स्तरको “ख” वर्गमा प्रकाशन भएको पत्रिका हो । डोटीवाट अन्य कुनै पनि पत्रिका वर्गिकरण भएका छैनन् ।

प्रतिक्रिया