काठमाडौं, १४ चैत । नेपाल वायुसेवा निगमले अगामी ४ वर्षभित्रमा ७ वटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने महत्वकांक्षी योजना बनाएको छ । निगमले ५ वटा न्यारो र २ वटा वाइड बडी विमानद्वारा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो ।
निगमले सन् २०१७ सम्ममा १५ वटा विमानद्वारा आन्तरिक हवाई सेवा सञ्चालन गर्ने योजना बनाएको छ । शुक्रबार राजधानीमा वायुसेवा निगमका तत्कालिक कार्य योजनाहरु सार्वजनिक गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले जहाजविहीन निगमलाई जहाजै जहाज बनाउने बताएका हन् ।
युरोपियन कम्पनी एयरवसका दुईवटा न्यारो बडी जहाज ल्याउने तयारीमा रहेको निगमले सन् २०१७ सम्ममा थप २ वटा न्यारो र २ वटा वाइड बडी जहाज थप्ने योजना बनाएको छ । सन् १०१४ को अप्रिलसम्ममा निगमको १० वर्षीय व्यवसायिक योजना बनाउने जानकारी दिँदै मन्त्री अचार्यले उक्त योजनाअन्तर्गत २ वटा वाइड बढी जहाज खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउने बताए । ‘ठूलो संरचना भएको वायुसेवा निगम भए पनि उडाउनका लागि जहाज पर्याप्त छैन’, मन्त्री आचार्यले भने ।
नयाँ जहाज थपेपछि निगमले हाल सञ्चालनमा रहेका दोहा, क्वालालम्पुर, हङकङ, बैंकक, जापान, मुम्बई, कोलम्वो, रङगुन, दक्षिण कोरिया, लण्डन, फ्रयाङकर्फट, ल्हासा, दबई, बैंगलोर, सांघाई, सारजाहां, दमाम लगायत क्षेत्रहरुमा उडान थप गर्ने बताएको छ ।
प्रतिक्रिया