आफ्नै निवासमा बाबुरामको आलोचना

काठमाडौं ३ चैत्र । एकीकृत नेकपा माओवादीको पूर्वपदाधिकारी बैठकमा वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीको विधि र पद्धति नै ख्याल नगरेको आरोप लगाउँदै उनको आलोचना भएको छ ।
डा. भट्टराई निवास सानेपामा बसेको बैठकमा उनले केही समयअघि दिएको अभिव्यक्तिका विषयमा पनि छलफल भएको थियो । उनले पार्टी पुनर्गठन नभए नयाँ शक्ति जन्मने अभिव्यक्ति सार्वजनिक गरेका थिए । सो बैठकमा बोल्ने नेताहरूले डा. भट्टराईले पार्टी पद्धति भन्दाबाहिर गएरको भन्दै चर्को आलोचनासमेत गरेका थिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना विचारहरू व्यवस्थित रूपले पार्टीमा राख्न नेता डा. भट्टराईलाई सुझाव दिएका थिए । उनले त्यसो गरेमा पार्टीको विचारमा एक रूपता हुने भन्दै अव्यवस्थित रूपमा राखिएको विचारले समस्या पैदा हुने तर्क समेतअगाडि सारेका थिए ।
अध्यक्ष दाहालले हरेक विषयमा पार्टीभित्रै छलफल चलाउन नेता डा. भट्टराईलाई आग्रहसमेत गरेका थिए । ‘तपाईंले उठाउनु भएको विषयमा पार्टीभित्र छलफल गर्दै अघि बढ्ने कुरा त छँदैछ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर तपाईं पनि पार्टी पद्धतिविपरीत जानु भएन ।’
बैठकमा डा. भट्टराईले अस्पष्ट रूपमा पार्टी पद्धतिलाई मिचेर विचार राखेको भन्दै आलोचना गरिएको थियो ।
‘विचार राख्ने पार्टी विधि पद्धति हुदाहुदै उहाँले आफ्ना कुरा राख्नुभया’ पार्टी प्रवक्ता दीनानाथ शर्माले सौयसग भने, ‘त्यसै विषयमा छलफल केन्द्रीत भयो ।’
उनले भने ‘भट्टराईले जुन कुरा राख्नु भयो आफ्ना नीजि विचारहरू राख्नु भएको छ’ शर्माले भने, ‘नीजि विचार तथा आफ्ना कुरा राख्न नपाइने नै भन्ने छोइन, तर पार्टी विधि तथा पद्धतिका विषयमा भने अलिक बढी बैठकमा कुरा उठेको छ ।’
बैठकमा नेता भट्टराईले भने आफूले अहिले नै नेतृत्व परिवर्तनको कुरा नउठाएको दावी गरेका थिए ।
गत साता नेता भट्टराईले एमाओवादी पुर्नठन नभए नया शक्ति जन्मने अभिव्यक्ति दिएका थिए । नेता भट्टराईले अध्यक्ष दाहाल रूपान्तरण नभएको र पार्टी पुनर्गठनको लागि टालटुले बाटो अपनाएको आरोप समेत लगाएका थिए ।
एकीकरण सम्भव छैन : गजुरेल
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले तत्काल दुई माओवादी पार्टीबीच एकीकरण सम्भव नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गजुरेलले विज्ञप्ति जारी गरी कार्यगत एकता मात्रै गरेको भन्दै यसैलाई एकता सुरु भयो भनेर प्रचारबाजी गर्नु उनले एकीकृत माओवादीसँग कार्यगत एकतालाई नेकपा–माओवादीले विशेष महत्व भने दिएको बताए ।
गजुरेलले राजा फालिँदैमा र गणतन्त्र आउँदैमा जनवादी क्रान्ति पूर्ण भयो भन्ने एकीकृत माओवादीको विश्लेषण गलत भएको धारणा राखे । कार्यक्रममा एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले पनि दुवै पार्टी तत्काल एक हुन नसक्ने बताए । पार्टी फुटको स्पष्ट कारण र एकताको आधारबारे स्पष्ट नभई पार्टी एकीकरण हुनै नसक्ने रायमाझीको भनाइ थियो ।
मुलुकलाई निकास दिनका लागि संक्रमणकाल अन्त्य गर्न, राष्ट्रलाई विकास गर्न, पार्टीहरूबीच ध्रुवीकरण हुन आवश्यक रहेको भन्दै नेता रायमाझीले वैचारिक कार्यदिशा, राजनीतिक संगठानात्मक संरचनाबारे व्यापक छलफल गर्दै नयाँ शक्ति बनाउन आवश्यक रहेको बताए । दुवै नेताले स्थानीय निकायको चुनाव तत्काल गर्न नहुने बताएका छन् । उनीहरूले स्थानीय निकायको चुनाव गरे राज्य पुर्नसंरचनाको मुद्दा ओझेलमा पर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया