मलेसियन एअरलाइन्सको विमान अझै भेटिएन

क्वालालाम्पुर : अन्तर्राष्ट्रिय प्रयासको बावजुद तीन दिन अगाडि गायव भएको मलेसियन एअरलाइन्सको विमानबारे अहिलेसम्म केही पनि पत्ता लागेको छैन । विमान एम एच ३७० तीन दिन पहिला मलेसियाको क्वालालाम्पुरबाट चीनको बेइजिङतर्फ जाने क्रममा सम्पर्कविहीन भएको थियो । सो विमानमा २ सय ३९ यात्रु सवार छन् जसमा १ सय ५० चीनियाँ छन् ।
यसैबीच विमान कम्पनीका अधिकारीहरूले यात्रीका परिवारजनलाई कुनै पनि स्थीतिको सामना गर्न तयार रहन आग्रहसमेत गरेको छ । चिनले मलेसियाली अधिकारीहरूलाई विमान खोजी कार्य थप तीब्र बनाउन आग्रह गरेको छ । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घटनाको विषयमा अनुसन्धान सुरु गर्न पनि आग्रह गरेको छ । हराइरहेको सो विमानको खोजी कार्यमा मलेसियासँगै, सिंगापुर, भियतनाम, चीन, अमेरिका र अष्ट्रेलियाली टोलीसमेत सक्रिय छन् ।
भियतनामको नौ सेनाले समुद्रमा विमानको कुनै टुक्रा फेला पारेको दाबी गरेको थियो । तर, त्यो टुक्रा विमानको नभएको बताइएको छ । तीन दिनसम्म विमानको विषयमा केही पत्तो नलागेपछि विभिन्न अनुमान पनि गर्न थालिएको छ । अधिकारीहरूले सो विमान आतंकवादीको निशानामा परेको हुन सक्ने पनि आशंका गरेका छन् ।
विमानमा चार यात्रु शंकास्पद भएको यसअघि नै अधिकारीहरूले स्वीकार गरिसकेका छन् । केहीले भने विमान अपहरण भएको हुन सक्ने पनि आशंका गरेका छन् । हराइरहेको सो विमानको खोजी गर्न तीस वटाभन्दा बढी विमान र ४० वटा पानी जहाज सक्रीय छन् ।

प्रतिक्रिया