एकता र सहमति बनाउन दबाब आवश्यक : खनाल

काठमाडौं, २४ फागुन । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनका लागि दबाब सिर्जना गर्न समग्र पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
एमाले राप्ती अञ्चल सम्पर्क कमिटीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि अध्यक्षका हैसियतले सबैभन्दा ठूलो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिलाई विश्वासमा लिएर जनचाहना अनुरूपको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान लेख्नुपर्ने ठूलो दायित्व एमालेको काँधमा रहेकाले संविधान लेखनको काममा ध्यान केन्द्रित गर्न उनले आफ्ना पार्टीका सभासद्लाई निर्देशन पनि दिए ।
‘मुलुकमा देखिएको दण्डहीनता, भ्रष्टाचार अराजकता र बेथितिको अवस्थालाई अन्त्य गरेर लामो समयदेखि हुन नसकेको स्थानीय निर्वाचन गराउने चुनौतिपूर्ण दायित्व एमालेका तर्फबाट सरकारमा गएको टोलीलाई रहेको छ,’ अध्यक्ष खनालले भने, ‘सरकारले चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचनको घोषणा गरोस्, निर्वाचन गरेर स्थानीय निकायमा लोकतन्त्रको आधार तयार गरियोस् ।’
सम्पर्क कमिटीले राप्ती अञ्चलबाट प्रत्यक्षतर्फका तीन र समानुपातिकका ६ जना गरी नौ सभासद्लाई सम्मान गर्‍यो ।
म माइनस हुन्न : नेपाल
काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई कसैले माइनस गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी धनुषाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले आफूलाई माइनस गर्न खोज्नेहरू असफल हुने दाबी गरे ।
केपी शर्मा ओली संसदीय दलको नेता निर्वाचित भएसँगै आफूलाई माइनस गर्न खोजेको गुनासो नेपालले गर्दै आएका छन् । पार्टीको नवौं महाधिवेशनसमेत नजिकिँदै गर्दा नेता नेपालले मन्त्री छनोट लगायत विभिन्न प्रक्रियामा आफूलाई माइनस गर्न खोजेको गुनासो गर्दै आएका छन्् । ‘मानिसले आफैं आफ्नो व्यक्तित्व निर्माण गर्छ,’ उनले कार्यक्रममा भने, ‘कसैले माधव नेपाललाई चाहेर पनि माइनस गर्न सक्दैन ।’
उनले टनकपुरबारे केही समय अघि प्रधानमन्त्री सुशील कोइरालाको दिएको अभिव्यक्तिलाई पनि आपत्तिजनक भएको टिप्पणी गरे । गिरिजाबाबु र भारतबीच भएको सहमतिलाई प्रधानमन्त्री कोइरालाले सही भन्नु राष्ट्रघाती सोंच भएको टिप्पणीसमेत नेता नेपालले गरे ।
आफ्नो अभिव्यक्तिको अधिकांश समय स्थानीय निर्वाचनको पक्षमा खर्चिएका नेपालले नवौं महाधिवेशनबारे भने खासै बोलेलनन् । नेपालले जेठ मसान्तसम्ममा स्थानीय निर्वाचन गराइनुपर्ने बताए । वरिष्ठ नेता नेपाल महाधिवेशन सार्नुपर्ने पक्षमा छन् । नेकपा एमालेले भने जेठको अन्तिम साता महाधिवेशन गर्ने तयारी सुरु गरिसकेको छ ।

प्रतिक्रिया