माधव नेपाललाई कसले कारवाही गर्ने ? : गौतम

bamdevकाठमाडौं १५, फागुन । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एमाले वरिष्ठ नेता माधव नेपाललाई कारवाही गर्नुपर्ने भए पनि पार्टीले कारवाही नगर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री गौतमले विगतमा पार्टी निर्णयविरुद्ध बोल्दा आफू पटक–पटक कारवाहीमा परेको प्रसंग कोट्याउँदै अहिले वरिष्ठ नेता नेपालले पार्टी नीतिविरुद्ध लाग्दा उनलाई कारवाही गर्ने कि नगर्ने भन्ने प्रश्न गरे ।
‘धेरै पटक पार्टीको निर्णय नमानेको भन्दै कारवाहीमा परेको छु,’ उनले भने, ‘स्थायी कमिटीको बैठकमा नआउने र निर्णय पनि मान्दिनँ भन्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई कसले कारवाही गर्ने ।’ १६ वर्ष पार्टीको र १७ वर्ष संसदीय दलको नेताको जिम्मेवारी पूरा गरेको, प्रधानमन्त्री भइसकेको व्यक्तिलाई कसले कारवाही गर्ने ? उनको प्रश्न थियो । उनले कार्यक्रममा बोल्दै व्यांग्यात्मकरूपमा नेता नेपाललाई कारवाही गर्ने सोच भने पार्टीको नरहेको धारणा राखे । ‘उहाँ अध्यक्षपछि दोस्रो आसनमा बस्नहुन्छ,’ उनले भने, ‘म चौथो आसनमा बस्ने सेरेमोनियल व्यक्तिले उहाँलाई कसरी कारवाही गर्न सक्छु ।’
गौतमले आफूलाई सरकारको नेतृत्व गर्दै पठाउने प्रस्ताव नेता नेपालले नै गरेको पनि दाबी गरे । खरो प्रतिउत्तर दिने र प्रष्ट वक्ताका रूपमा परिचित उपप्रधानमन्त्री गौतमले केपी ओली संसदीय दलको नेता बनेपछि नेता नेपालले आफूलाई हेर्ने दृष्टिकोणमा फरक आएको गुनासोसमेत गरे ।
सो कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री गौतमले कानुन हातमा लिएर जनतालाई दु:ख दिने कसैलाई पनि नछाड्ने प्रतिवद्धता व्यक्त गरे । गोरखा फुजेलका कुष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता उनले ब्यक्त गरे । उनले हत्याको आरोपमा सर्वोच्चद्वारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई पनि कानूनबमोजिम कारवाही गर्ने दाबी पनि गरे कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाही गर्न भने केही समय लाग्ने उनको तर्क थियो ।

प्रतिक्रिया