नेपाली सेनाले मनायो सेना दिवस

Gauravकाठमाडौं, १५ फागुन । नेपाली सेनाले सेना दिवस मनाएको छ । देशको प्रमुख सुरक्षा अंगको रूपमा रहेको सेनाले बिहीबार देशभर भव्यताका साथ सेना दिवस मनाएको छ । सेना दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा बिहीबार सेनाले विशेष समारोहको आयोजनासमेत गरेको थियो ।
समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डाक्टर रामबरण यादव, प्रधानमन्त्री सुशील कोइरालाका साथै सभामुख सुवास नेम्वाङ र अन्य उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । सेनाले हरेक वर्ष महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । महाशिवरात्रीको केही दिन अघि पाँच विकास क्षेत्रका पृतनापती, निर्देशनालय र विभागका उच्च अधिकारीहरूलाई बोलाएर पृतनापति सम्मेलन गर्ने सेनाको प्रचलन छ ।
नेपाली सेनाले सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध कार्यक्रम आयोजना गरेको छ । सैनिक जनसम्र्पक निर्देशनालयले जंगी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्ममा सेना दिवस मनाएको जनाएको छ । ९५ हजार फौज रहेको नेपाली सेनाको सांगठनिक सुरुवात १८१९ मा भएको हो ।
पेशागत दक्षता र क्षमताका हिसाबले नेपाली सेना विश्वकै उत्कृष्ट सेनामा पर्ने गर्छ । नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १९५८ देखि नै सहभागी हुँदै आएको छ । हालसम्म करिव १ लाख नेपाली सेनाका सकल दर्जाले विश्वका विभिन्न मुलुकमा गएर शान्ति मिसनमा काम गरिसकेका छन् ।
सेनाको भूमिका उल्लेख्य : राष्ट्रपति
राष्ट्रपति डा. रामवरण यादवले इतिहासको हरेक मोडमा नेपाली सेनाको भूमिका उल्लेखनीय रहेको बताएका छन् । राष्ट्रपति यादवले सेनाको राष्ट्र र जनताप्रतिको निष्पक्ष संकल्प र समर्पण अद्वितीय रहेको पनि बताएका छन् । सेना दिवस २०७० को अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति यादवले नेपाली सेनाको भूमिकाको प्रसंसा गरे ।
नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति यादवले राष्ट्र विकास र राज्यलाई संगठित, सवल र दह्रिलो बनाउन इतिहास पर्यन्त सेनाले निर्वाह गरेको भूमिका विशिष्ट र
उदाहरणीय रहेको बताए । ‘नेपाली सेनाले देश र जनताको खातिर आफ्नो आदर्श वाक्य अनुरूप गरेको समर्पण र बलिदानको उच्च सम्मान गर्न चाहन्छु,’ सन्देशमा भनिएको छ ‘कालजयी रहेको नेपाली सेनाको गौरवमय परम्परा, मूल्य मान्यता र त्यागलाई कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित हुनसमेत म आग्रह गर्छु ।’
सोही अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले दिएको शुभकामना सन्देशमा राष्ट्रिय सुरक्षाको विश्वासिलो, भरपर्दो, विवादरहित, व्यावसायिक र सक्षम अंगको रूपमा नेपाली सेनाले आफूलाई खरो उतारेको उल्लेख गरे । उनले सन्देशमा एकताको भावनालाई अभिवृद्धि गर्न सो संस्था इतिहासको कुनै पनि कालखण्डमा कहिल्यै नचुकेको उल्लेख गरे । प्रधानसेनापति गौरवशम्शेर जबराले नेपाली सेनाले देश र जनताको सेवामा अहोरात्र खटिएर पुर्‍याएको योगदानको स्मरण गराउँदै संगठनलाई समयानुकूल आधुनिकीकरण र संस्थागत सुदृढीकरण गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया