तिलगंगा अस्पताललाई १० करोड अनुदान

काठमाडौं, १२ फागुन । तिलगंगा आँखा अस्पताल विस्तारका लागि स्टान्डर्ड चार्टर्ड बैंकले झन्डै १० करोड रुपियाँ (१० लाख अमेरिकी डलर) अनुदान दिएको छ । राजधानीमा सोमबार आयोजित विशेष कार्यक्रममा बैंकका एसिया क्षेत्रीय उपाध्यक्ष सर थोमस ह्यारिसले अस्पतालका निर्देशक डा. सन्दुक रुइतलाई सहयोगसम्बन्धी आशयपत्र हस्तान्तरण गरे ।
बैंकले प्रदान गरेको सो सहयोग जिल्ला सामुदायिक आँखा अस्पतालको स्तरवृद्धि परियोजनाका लागि खर्च गरिने बताइएको छ  । जसअन्र्तगत भक्तपुरको जिल्ला सामुदायिका आँखा अस्पताललाई स्तरवृद्धि गरिने र नुवाकोट जिल्ला आँखा अस्पताललाई स्तरवृद्धि गरी शल्याक्रिया गर्न सकिने स्तरको बनाइने छ । यसबाट ग्रामीण क्षेत्रका बासिन्दालाई सहज उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
विश्वस्तरको सेवा दिइरहेको तिलगंगाका परियोजनालाई सहयोग गर्न पाउँदा आफ्नो संस्थाले गौरव महसुस गरेको बैंकका उपाध्यक्ष ह्यारिसले बताए । तिलगंगालाई गरिएको सहयोग ‘सिइङ इज बिलिभिङ’ अर्थात् हेर्नु नै महसुस गर्नु हो भन्ने स्टान्डर्ड चाटर्डको सामाजिक अभियानको एउटा हिस्सा भएको उनले जानकारी दिए । यसअघि स्टान्डर्ड चाटर्ड बैंकले सो परियोजनाअन्तर्गत बिराटनगर आँखा अस्पताललाई पनि १० लाख अमेरिकी डलर सहयोग गरिसकेको छ ।

प्रतिक्रिया