काठमाडौं : एमालेलाई गृहमन्त्रालय दिने सहमति गरे पनि कांग्रेसभित्र मन्त्रिमण्डलमा सहभागी हुनेहरूको टुंगो अझै लाग्न सकेको छैन । वरिष्ठ नेता शेरबहादुर देउवा समूहका एक नेताले एमालेलाई गृहमन्त्रालय दिन एकाएक प्रधानमन्त्री कोइराला कसरी सहमत भए भनेर आफू चकित परेको बताए ।
उनका अनुसार शनिबार अपराह्नसम्म पनि आफ्नो अडानमा अडिग रहेका प्रधानमन्त्री कोइराला एकाएक साँझबाट किन लचिलो भए भन्ने चासो पार्टीभित्र र बाहिर छाएको छ । प्रधानमन्त्रीले एमालेलाई गृह दिने सहमति गरे पनि आफ्नै दलभित्रको विवाद मिलाउन थप कठिनाइ हुने ती नेताको निष्कर्ष छ । महामन्त्री प्रकाशमान सिंह राम्रो मन्त्रालय र उपप्रधानमन्त्री नपाएसम्म मन्त्री नबन्ने अडानमा छन् । त्यस्तै मन्त्री बन्नेहरूको संख्या धेरै भएकाले कांग्रेसमा थप विवाद हुने देखिन्छ । वरिष्ठ नेता देउवा समूहले अझैसम्म पनि आफ्नोतर्फबाट मन्त्री हुनेहरूको नामावली दिएको छैन ।
एकातिर आफ्नो पक्षका महामन्त्री सिंह र विनाविभागीय मन्त्री डा. रामशरण महतबीच वरिष्ठतम् उपप्रधानमन्त्रीको हानाथाप अर्कातिर पार्टी नेता देउवा पक्षको सरकारमा भागबन्डाको मागले पनि कोइरालालाई थप अप्ठयारोमा पारेको बताइन्छ । देउवा पक्षले आफूलाई मन्त्रिमण्डलमा सम्मानजनक हिस्सा नदिए सरकारमा आफ्नो पक्ष सहभागी नहुने सन्देश दिँदै शनिबार साँझ कोइरालाले डाकेको पदाधिकारीको बैठकमा समेत अनुपस्थित रहे ।
प्रतिक्रिया