एमाले सरकारमा सहभागी हुने

bamdevकाठमाडौं, ११ फागुन । नेकपा एमालेले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्त्वमा रहेको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । सातबुँदे सहमति कार्यान्वयन भएको अवस्थामा मात्र सरकारमा जाने बताउँदै आएको एमालेले गृहमन्त्रालय आफ्नो दलले पाउने भएपछि सरकारमा जाने भएको हो ।
प्रधानमन्त्री कोइराला एमालेलाई गृहमन्त्रालय दिन सहमत भएपछि उक्त दल सरकारमा सहभागी हुन सहमत भएको हो ।
कोइराला प्रधानमन्त्री बन्नुअघि दुई दलबीच भएको सहमतिमा आफ्नो दललाई गृहमन्त्रालय दिने तय भएको दाबी एमालेले गर्दै आएको थियो । तर, कांग्रेसले भने त्यस्तो कुनै सहमति नभएको जीकिर गर्दै आएको थियो । जसका कारण मन्त्रिमण्डल विस्तारमा कठिनाइ उत्पन्न भएको थियो । जसका कारण प्रधानमन्त्री भएको १४ दिन बितिसक्दा पनि कोइरालाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन् । गृहमन्त्रालय दिन प्रधानमन्त्री कोइराला सहमत भएपछि एमालेले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । जसअनुसार एमाले पहिलो चरणमा उपाध्यक्ष वामदेव गौतमको नेतृत्त्वमा सरकारमा सहभागी हुने भएको हो ।
‘प्रधानमन्त्री कोइरालाको सकारात्मक जवाफपछि एमाले सरकारमा जान तयार भएको हो,’ एमाले सचिव शंकर पोखरेलले भने, ‘बैठकमा अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष गौतमले प्रधानमन्त्री कोइरालाले पठाएको सन्देशबारे जानकारी गराउनु भयो ।’ सबै कुरामा सहमति भएपछि मात्र एमालेका मन्त्रीले सपथ लिने पोखरेलले जानकारी दिए ।
आइतबारको एमाले केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागिता र कंक्रिट सहमति गर्न वार्ता टोलीलाई निर्देशनसमेत दिएको छ । वार्ता टोलीमा गौतम र सचिव विष्णु पौडेललगायत थिए ।
उपाध्यक्ष गौतमको नेतृत्त्वमा एमाले सरकारमा जाने भएपछि गौतमले गृह तथा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित छ । अन्य मन्त्रालयका विषयमा पार्टीको समान सहभागिताको आधारमा तय हुने एमालेले जनाएको छ । एमालेले अरु कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा अझै निर्णय भइसकेको छैन ।
मन्त्रालय बाँडफाँडमा अझै अन्योल
मन्त्रालय बाँडफाँडमा सहमति खोज्न आइतबार कांग्रेस–एमालेका नेताहरूबीच भएको छलफल विनानिष्कर्ष टुंगिएको छ । गृहमन्त्रालयमा सहमति जुटे पनि अन्य मन्त्रालय बाँडफाँडमा अझै दुई दलबीच कुरा मिल्न सकेको छैन । बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा दुई दलका नेताबीच लामो छलफल भएको थियो ।
‘वार्ता सकारात्मक भयो,’ एमाले उपाध्यक्ष गौतमले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘सोमबार बिहान ७ बजे बस्नेगरी उठयौँ ।’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र विनाविभागीय मन्त्री डा. रामशरण महतले पनि वाता सकारात्मक भएको प्रतिक्रिया दिए ।
बैठकमा एमालेले अन्य मन्त्रालयमा पनि ठोस सहमति गर्नुपर्ने अडान राखेको थियो । गृहमन्त्रालय एमालेलेलाई दिन सहमत भए पनि अन्य मन्त्रालयको भागबन्डा मिलाउन सोमबार बिहान फेरि वार्ता हुने भएको छ । प्रधानमन्त्री सुशील कोइराला र एमाले नेतृत्त्वले आफ्ना वार्ता टोलीसँग छलफल गरेपछि अर्को छलफलबाट भागबन्डालाई अन्तिम रूप दिने स्रोतले जनाएको छ । वार्तामा कांग्रेसको तर्फबाट चार र एमालेका तीन नेता सहभागी थिए । कांग्रेसबाट महामन्त्री सिटौला, मन्त्री डा. महत, डा. मिनेन्द्र रिजाल र दीपकुमार उपाध्याय सहभागी थिए । एमालेबाट उपाध्यक्ष गौतम, सचिव पौडेल र नेता अग्नी खरेल सहभागी थिए ।

प्रतिक्रिया