अधिकारी दम्पत्तीको अवस्था नाजुक

काठमाडौं २३ माघ । शसस्त्र युद्धका समयमा निर्दाेष छोरालाई अपहरण गरी हत्या गर्ने माओवादी कार्यकर्तालाई कानुनी सजायको माग गर्दै अनसन बसेका गोर्खाका अधिकारी दम्पत्तीको अवस्था नाजुक बनेको छ । पछिल्लोपटक लगातार १ सय ५ दिनदेखि अनशन बसेका गोर्खाका नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ अवस्था अत्यन्त नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । १ सय ५ दिनदेखि अन्न नखाएका अधिकारी दम्पत्तीलाई ज्वरो देखा परेको छ । नन्दप्रसादलाई १ सय ३ डिग्री ज्वरो आएको वीर अस्पतालका निर्देशक बुलन्द थापाले बताए ।
०६४ सालमा माओवादीद्वारा अपहरण गरी हत्या गरिएका कान्छो छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनसनमा बसिरहेका छन् । उनीहरूको माग राज्यले समय सुनुवाइ गर्न नसक्दा उनीहरू मृत्युको मुखमा पुग्न थालेका छन् । लोकतान्त्रिक राज्य व्यवस्थामा न्याय माग्दै १ सय ५ दिन भोक हड्ताल गर्दा पनि प्रधानन्यायाधीश प्रमुख भएको राज्यले सुनुवाइ गरेको छैन । राज्यले बारम्बार धोका दिएका कारण  अधिकारी दम्पत्तीको स्वास्थ्य अत्यन्तै जटिल भएको अधिकारीका भाइ ठाकुर अधिकारीले बताए । नन्दप्रसादलाई ज्वरोले पूर्णरूपमा सताएको छ भने हातखुट्टा चल्न छोडेको छ ।
लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरूले बचाइरहेका छन् ।

प्रतिक्रिया