भैरहवा, २१ माघ । चारैतिर पर्खालले घेरिएको भैरहवाको बन्द कारागार भित्र मंगलबार भने फरक माहौल थियो । सधैं बन्दिहरु आफन्त भेट्नलाई कारागारको मुलद्वार बाहेक अन्यन्त्र जान पाउदनथे । सीमित समयमा सीमित आफन्तलाई भेटेर पुन: कारागार भित्रै दैनिक जीवनशैलि विताइरहेका थिए । तर मंगलबार भैरहवा कारागारमा रहेका बन्दिहरु कारागारको चारपर्खाल भित्र भइरहेको एक भब्य कार्यक्रमका सहभागी भएर आनन्द लिइरहेका थिए ।
सधैं सिमित मान्छेसंग बसिरहदा वाक्क भएका उनीहरु मंगलबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासंघको जिल्ला कार्य समिति रुपन्देहीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउदा प्रफुल्ल देखिन्थे ।
राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर भैरहवा कारागार भित्र बन्दीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमले आफुहरु अत्यन्तै हर्षित बनेको विगत ४ वर्षदेखी कारागारमा बन्दि जिवन विताईरहका कपिलवस्तुका रामबहादुर चौधरीले बताए ।
प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतथामा भएको उक्त कार्यक्रमलाई अत्यन्तै शालिन र जिज्ञासु भावले एकटकले आखा कान मन मस्तिष्क एक बनाएर करिब १ घण्टा सम्म हलचल नगरी अवलोकन गरेका सयौं बन्दिहरुले आफ्नो अगाडी पुस्तकको चांग देख्दा झनै खुसी भएका थिए ।
बन्दिहरुलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पुस्तक अध्ययनले सकारात्मक सोचको बिकास गरि समाजमा बिशेष भुमिका निर्वाह गर्न मद्दत मिल्ने भएकोले अध्ययनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । कारागारमा बन्दी जिवनलाई सदुपयोग गर्दै अध्ययनमा निरन्तर रुपमा लागी रहन उनले बन्दीहरुलाई प्रेरित गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै महासंघका जिल्ला अध्यक्ष यमलाल लोहनीले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्नै क्रममा कारागारमा कैदी जिवन निर्वाह गरि रहेका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री बितरण गरिएको बताएका छन । कैदी जिवन बिताई रहेका बन्दीहरु जेल जिवन पश्चात पनि सकारात्मक सोचका साथ समाजमा भुमिका खेल्न सघाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए ।
सोही कार्यक्रममा बोल्दै बन्दि माधव घिमिरेले यस्ता पुस्तक अध्ययनले आफुहरुको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै आयोजकलाई धन्यावाद दिए। बन्दि घिमिरेले कारागारमा प्रथम पटक पुस्तक सहयोग भएको बताउदै प्राप्त पुस्तकले समसामायीक परिस्तिथी र मानव जिवनको विषमा बुझ्न सहयोग पुऱ्याउनेमा विश्वास व्यक्त गरेका थिए । उनले व्यवसायीहरुलाई पुस्तकको उपयोगिता सम्बन्धमा ३, ४ महिनापछि जेलमै आएर निरीक्षण गर्न आग्रह समेत गरेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासंघको जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, केन्द्रिय सचिव दिवाकर घिमिरे, सल्लाहकार समिति सदस्य बालकृष्ण बस्याल सहायक जिल्ला शिक्षा अधिकारी दिवाकर भण्डारी, शिक्षा पत्रकारका लुम्बिनी सचिव कृष्ण मल्ल, बन्दिहरुको तर्फबकाट माधव घिमिरे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम महासंघका जिल्ला सचिव त्रिलोचन ज्ञवालीको सञ्चालन र प्रथम उपाध्यक्ष रवि शर्माको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब १ लाख रुपैया बराबरको ५ सय पुस्तक तथा खेलकुद सामाग्री जेलर सुर्य बहादुर यादव मार्फत हस्तान्तरण गरिएको सचिव ज्ञवालीले जानकारी दिए ।
भैरहवा कारागारमा रहेका बन्दिकोलागी पुस्ताकालयको व्यवस्था भएता पनि अत्यन्तै पुराना ०४६। ०४७ सालका समयका पुस्तकहरु मात्र पुस्ताकालयमा रहेका थिए । व्यवसायीको सहयोगमा बन्दिहरुकोलागी प्रदान गरिएको पुस्तकले उनीहरुको जेल जीवन उत्पदनमुलक र सकारात्मक सोचको गृह बन्नेमा आफु आसावादी रहेको बन्दिहरुका शिक्षक संगम न्यौपानेले जनाए । भैरहवा कारागारमा ४ भन्दा बन्दिहरु छन् ।
प्रतिक्रिया